Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

विश्वविद्यालयमा पढ्दै-कमाउँदै कार्यक्रम लागू गर्दा शैक्षिक बेरोजगारी हट्छ : प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्नुपर्ने बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रचण्डले पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्दा बीचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी विदेशिने समस्या समाधान हुने बताएका हुन्।

‘कुन क्षेत्रमा कुन किसिमको कति जनशक्ति आवश्यक पर्दछ भन्ने कुरा अध्ययन गरी त्यसैअनुसार सम्बन्धित विषयमा कोटा निर्धारण गरी विश्वविद्यालयले विद्यार्थी भर्ना लिने र उत्पादित जनशक्तिले प्राप्त गरेको ज्ञान र सीपअनुसार देशभित्र काम पाउने वातावरण निर्माण गर्न सकिए शैक्षिक बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिन्छ।’ बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्नतिर ध्यान दिनुपर्ने देखिन्छ।’

उनले राज्यको सीमित  स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले उच्चशिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताए।

सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैमा महत्वपूर्ण र प्रशंसनीय रहेको उनको भनाइ छ।

विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उनको भनाइ छ।