Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

कर्णालीमा शिक्षकहरु आन्दोलित

सुर्खेत – कर्णालीमा शिक्षकहरु आन्दोलित भएका छन् । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै कर्णालीका दश वटै जिल्लामा शिक्षक महासंघको नेतृत्वमा सबै शिक्षकहरु आन्दोलित भएका हुन् ।
नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक परिषद, अखिल नेपाल शिक्षक संगठन लयागतका बिभिन्न दल नीकट शिक्षकका संघ संगठनहरुले सयुक्त रुपमा सुर्खेत लगायत कर्णालीका १० वटै जिल्लाहरुमा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना तथा आन्दोलन कार्यक्रम गरिरहेका छन् । शिक्षकहरुको आधिकारीक ट्रेड युनियन नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रम अनुसार कर्णालीका ७९ वटै स्थानीय तहका सबै विद्यालय बन्द गरी शिक्षकहरुले पालिकाको कार्यालय र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा बिहान ११ देखि दिउँसो २ बजेसम्म धर्ना दिएका छन् ।
सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकोले कर्णाली प्रदेशभरीका शिक्षकहरु आन्दोलित भएको नेपाल शिक्षक संघ कर्णाली प्रदेशका अध्यक्ष मानबहादुर रोकायाले बताए । उनले सरकारले प्रस्तावित शिक्षा ऐनमा भएका शिक्षक तथा कर्मचारीको हित बिपरितका व्यवस्थाहरु सुधार नगरे कडा आन्दोलन थालिने चेतावनी दिए ।
नेपाल शिक्षक महासंघ सुर्खेतका अध्यक्ष ढालबहादुर खत्रिले महासंघको केन्द्रीय समितिले राखेका मागहरु सम्बोधन गर्न सरकारदाई दबाब दिने सुर्खेतका सबै शिक्षकहरु बिद्यालय बन्द गरी मंगलबार जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतको ढोकामा धर्ना बसेको बताए । उनले लामो समयको पर्खाईमा आउन लागेको शिक्षा ऐनले शिक्षा क्षेत्रका समस्याहरु हल गर्ने गरी ल्याईनुपर्ने बताए । यस्तै नेपाल शिक्षक महासंघ कालिकोटका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले कालिकोटमा पनि सबै पालिकाहरुमा शिक्षकहरु आन्दोलित भएको बताए । उनले भने, संघीय शिक्षा ऐनका प्रावधानले शिक्षक समुदायको आत्मसम्मानमा चोट पुगेको छ । प्रस्तावित ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान नहटाएर कडारुपमा प्रस्तुत हुनेछौं ।
नेपाल शिक्षक संघ कर्णाली प्रदेश उपाध्यक्ष राधिका महत रोकायाले शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा आउने रहर नभएर बाध्यता भएको बताईन् । जिल्ला शिक्षा विकास तथा समन्वय ईका सुर्खेतमा धर्ना बसिरहेकी शिक्षक नेता रोकायाले सरकारले शिक्षकका सेवा सुविधा कटौती गर्ने गरी ऐन ल्याएकाले धर्नामा आउनु परेको बताईन् । उनले भनिन्, ऐन शिक्षकलाई निजामति कर्मचारी सरह सुविधा दिने होला भनेको त झन् अपमानित हुने गरी ल्याईयो । प्रस्तावित यो ऐनले शिक्षा प्रणाली नै ध्वस्त हुने गरी ल्याइएको छ । यो सच्याउनु पर्छ ।