Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

बेचबिखनको जोखिममा कर्णालीका बालबालिका

बिस्नप्रसाद न्यौपाने


सुर्खेत – कर्णालीका बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा छन् । प्रदेशका सबैजसो जिल्लाबाट बालबालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको हो । कर्णालीमा कम्जोर आर्थिक अवस्थाको फाईदा उठाउदै अनेक प्रलोभनमा पारी काठमाडौं, पोखरालगायतका सहरहरूमा लैजाने गरिएको छ । गाँउमा बालबालिकालाई गाउँबाट सहरसम्म लिन गिरोहहरू नै संलग्न छन् । प्रदेश प्रहरी कार्यालयअनुसार ६ वर्षको अवधिमा कर्णालीका ३५ जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् । आर्थिक वर्ष २०७४÷०७५ देखि २०७९÷०८० सम्ममा सुर्खेतका मात्रै १४ जना बेचबिखन तथा ओसारपसारमा परेका हुन् ।
यो अवधिमा सल्यान, हुम्ला, कालिकोट, रुकुम पश्चिम, जुम्ला, दैलेखमा गरी २१ जनाको बेचबिखन भएको हो । यो तथ्याङ्क प्रहरीमा खोजतलासका लागि अनुरोध गरिएकाहरूको मात्र हो । हराएका अधिकांश बालबालिकाको उजुरी प्रहरीसम्म पनि आइपुग्दैन । केही वर्षयता बालबालिकालाई निःशुल्क पढ्ने–लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने समेत गरिएको छ । छोराछोरी त्यस्ता ठाउँमा पठाएर अभिभावकहरूले समेत रकम असुल गरेका घटना समेत सार्वजनिक हुने गरेका छन् । परिवारबाटै ओसारपसारको जोखिम भएपछि बालबालिका थप असुरक्षित बनेका हुन् । विभिन्न अध्ययनअनुसार हातहतियार र लागुपदार्थ ओसारपसारपछि विश्वमा अर्को समस्या मानव बेचबिखन पर्छ । यो समस्या नेपालमा पनि पछिल्ला दिनमा निकै जर्जर रूपमा देखा परेको छ । त्यसबाट कर्णाली पनि अछुत्तो छैन् ।
गरिबी, सूचनाको अभाव, लैंगिक हिंसा, महत्वाकांक्षा जस्ता कारणले मानिस बेचबिखनको जोखिममा छन् । अधिवक्ता दुर्गाप्रसाद साप्कोटाले भने, यसलाई न्यूनीकरण गर्न सरकारले प्रभावकारी रणनीति बनाउन सकेको छैन । कुनै पनि व्यक्तिलाई जबर्जस्ती तथा धोखाद्वारा शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्य मानव बेचबिखन तथा ओसारपसार हो । पहिले देहव्यापार गराउन नेपाली महिला मानव बेचबिखन तथा ओसारपसारको सिकार हुन्थे । अहिले अपराधीको मनसाय त्यत्तिमा मात्र सीमित छैन । चेली वा बालबालिका मात्र नभई अब जो–कोही बेचबिखन तथा ओसारपसारबाट प्रभावित हुन सक्छन् । यसको मतलव हो, मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति र यसका कारण पनि परिवर्तन भइरहेका छन् । यसले प्रभावितहरूको क्षेत्र पनि फराकिलो बनाएको छ ।
बालअधिकारकर्मी बाले विश्वकर्माले भने, आफन्तबाटै बेचिएर उद्धार गरी ल्याइएका मध्ये पनि अधिकांशले प्रहरीमा उजुरी दिन सक्दैनन् । धेरै मुद्धा त गाँउमै सामसुम हुन्छन् । कानुनी निकायमा पुग्दै पुग्दैनन् । कर्णालीमा प्राय बालबालिकाहरु बेचबिखनको जोखिम बढी छ । मुलुक संघीय संरचनामा गएको छ । हरेक स्थानीय सरकारले मानव बेचबिखनबारे विशेष अभियान सञ्चालन गर्न नीति तथा कार्यक्रममै समावेश गर्न सक्छन् । यसका लागि संघीय सरकारले सहजकर्ताको भूमिका खेल्ने हो भने मानव बेचबिखन निरूपणका लागि अर्को प्रभावकारी कदम हुन सक्छ । तर त्यसो भएको छैन् ।
बर्षेनी बालबालिका हराउने क्रम बढ्दो
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ का गोपाल विक तीन वर्ष अगाडी साथीहरुसँग खलंगा बजार जान्छु भनी घरबाट हिडे । सामान्य किनमेलको लागि साथीहरुसँग बजार हिडेका गोपाल तर तीन वर्ष सम्म पनि घर फर्किएनन् । वीरेन्द्रनगर नगरपालिका–३ यरीचोकका १३ वर्षीय शंकर चौधरी गत बर्षको साउनमा हजुरआमासँग विद्यालय जान्छु भनेर घरबाट निस्किए । सधैंजस्तै विद्यालयमा पढेर घर फर्किने आशामा हजुरआमा जौकला रोकाया नातिको बाटो कुरेर बसीरहिन । तर नाति शंखर अबेरसम्म पनि घरमा फर्किभएनन् । आफन्त साथीभाई, विद्यालयमा खोजी गर्दा पनि शंकर नभेटिएपछी जौकलाले प्रशरी तथा स्थानीयको सहयोगमा खोजी गर्न थालिन । त्यतिबेला शंखर भारत छिरिसकेका रहेछन् । करिव ६ महिनापछी शंखरलाई भारतबाट उद्दार गरेपछी परिवारसँग पुर्नमिलन गरियो ।
यसरी कर्णाली प्रदेशमा हराउने बालबालिकाको संख्या ठुलो छ । प्रदेशका सबैजसो जिल्लामा बालबालिका हराउने क्रम बर्सेनी बढ्दो क्रममा देखिएको छ । प्रदेश प्रहरी कार्यालका अनुसार पछिल्लो साढे तीनवर्षको अवधिमा कर्णालीमा १ हजार ३ सय ५९ जना बालबालिका हराएका छन् । त्यसमध्ये एकहजार ३९ जना बालबालिका भेटिएका छन् भने एक सय ४७ जना फेला भेटिएका छैनन् । हराउनेमा बालक भन्दा बालिकाको संख्या बढी छ । यस अवधिमा ६ सय ६७ जना बालिका र पाँच सय ५८ बालक हराएको प्रहरीले जनाएको छ ।
आर्थिक प्रलोभन, अशिक्षा, गरिबी र कतिपय विवाह गरेर पनि परिवारबाट सम्पर्कविहीन हुने गरेको पाइएको छ । कतिपय बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने गिरोहसमेत सक्रिय छ । प्रहरीका अनुसार कतिपय बालबालिका हराएको अभिभावकले प्रहरीमा जानकारी गराए पनि भेटिएपछि खबर नगर्दा हराउने र भेटिनेको संख्या यकिन गर्न भने कठिनाइ छ । प्रहरीले उजुरीका आधारमा बालबालिकाको खोजतलास गर्दै आएको छ ।
कर्णालीमा आर्थिक वर्ष २०७६÷०७७ मा ३ सय २८ जना बालबालिका हराएका थिए । तीमध्ये १ सय ६२ बालक र १ सय ६६ जना बालिका हुन् । त्यसमध्ये १ सय ५१ बालक र १ सय ५१ जना बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । उक्त आर्थिक वर्षमा हराएका १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन् । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा २ सय २५ बालबालिका हराएका थिए । जसमा बालक ८५ जना हराएका थिए भने बालिका १ सय ४० हराएका थिए । जसमा ७५ बालक फेला परेका छन् । भने एक सय दश बालिका फेला परेका छन् । १० जना बालक र ३० जना बालिका अझै भेटिएका छैनन् ।
आर्थिक वर्ष २०७८÷०७९ मा ४ सय ८ जना बालबालिका हराएका थिए । १ सय ५३ बालक र २ सय ५५ जना बालिका हराएकोमा १ सय ३१ बालक र २ सय ३४ बालिका फेला परेका छन् । २१ जना बालिका र २५ जना बालक अझै भेटिएका छैनन् । आर्थिक वर्ष २०७९÷८० को हालसम्म २ सय ४२ जना बाबालिका हराएका छन् । त्यसमध्ये ८० जना बालक र १ सय ६२ जना बालिका रहेका छन् । जसमध्ये १० जना बालक भेटिएका छन् भने २० जना बालिका भेटिएका छन् । हराएका बालबालिकाको तथ्याङ्क हेर्ने हो भने कर्णालीका १० ओटा जिल्ला मध्ये सबैभन्दा धेरै सुर्खेतमा बालबालिका हराउने दर बढी रहेको छ । गरिब तथा विपन्न परिवार, बालबालिकालाई अभिभावकहरूले निगरानी नराख्ने परिवार र अशिक्षित परिवारका बालबालिका बढी हराउने गरेको पाइएको छ । हराउनेमा अधिकांश अतिविपन्न परिवारका बालबालिका रहेका छन् ।
किन हराउँछन् बालबालिका ?
अधिकांश बालबालिकाहरू सानै उमेरमा प्रेममा परेर भाग्ने, सामान्य कुरामा पनि असन्तुष्ट हुने र घर छोड्ने, परिवारमा अभिभावकले राम्रो व्यवहार नगर्ने, बाबुआमाबीच कलह हुने, बालबालिकाको माग पूरा नगरिदिने, रिसाउने, कुट्नेजस्ता कारणले बालबालिकाले घर छाड्ने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए । उनले अध्ययन, रोजगारी र सुख–सुविधाको प्रलोभनमा परेर महिला तथा बालबालिका भारतका विभिन्न शहरमा पुग्ने गरेको उनको भनाइ छ । त्यसैगरी अशिक्षा, जनचेतनाको अभाव, मानव तस्करी, यौनजन्य दुव्यवहार, बेचबिखन, आर्थिक प्रलोभन, गरिबी, बेरोजगारी, असुरक्षाका कारण प्रत्येक वर्ष बालबालिका हराउने क्रम बढ्दो छ ।
सामाजिक सञ्जालको दलदल र साथीभाइको लहैलहैमा घरै छाडेर हिँड्ने प्रवृत्तिले गर्दा पनि पछिल्लो समय बालबालिकाहरू हराउने क्रम बढ्दै गइरहेको उनले बताए । यसलाई रोक्नका लागि बालबालिकाहरूलाई शिक्षित बनाउने तथा आफ्नो बालबालिकालाई उचित समय दिनसकेमा बालबालिकाहरू हराउने संख्यामा कमी आउने बालअधिकारकर्मीहरुको भनाई छ । गरिबी र पछौटेपनमा परेका बालबालिकाहरूप्रति राज्य तथा सरकारवाला निकायको ध्यान जान सके यो संख्या घट्न सक्ने उनीहरुको भनाइ छ । बालअधिकारकर्मी आत्माराम भट्टराईले भने, मानव तस्करी र बालबालिका हराउने समस्या समाधान गर्न हरेक परिवारमा सचेतना जोगाउने कामहरु गर्नु आवश्यक छ । त्यसका लागि स्थानिय सरकार बढी जिम्मेबार बन्नुपर्छ । सचेतनाका अभियानहरु पनि संचालन गर्नुपर्छ । अर्को कुरा बालबालिकाहरु हराउनबाट जोगाउन हरेक अभिभावकहरु जिम्मेबार बन्नुपर्छ । तस्कारको सिकार बन्नबाट जोगिने उपायहरु सिकाउनुपर्छ ।
कर्णालीमा तस्करी रोक्ने प्रयास
कर्णालीमा मानव तस्करी रोक्नका लागि प्रहरीले व्यापक रुपमा सजकता अपनाईरहेको छ । यो प्रदेश प्रवेश गर्ने नाका सुर्खेतको बबईमा सोधपुछ तथा अभिलेखीकरण गर्ने, बालबालिका खोजतलास समन्वय केन्द्र गठन गरी त्यस अनुसार काम भईरहेको, वीरेन्द्रनगर बसपार्क तथा भेरीगङ्गाको छिञ्चु बसपार्कमा विद्युतीय सन्देश बोर्ड राखिएको, जिल्लामा रहेका बालबालिकाको अनुगमन गर्ने, मावन बेचबिखन तथा ओसारपसार सम्बन्धी भएका घटनालाई अभिलेख राख्ने तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।
यति मात्र नभई कर्णालीका १० वटै जिल्लामा नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँउ बस्ति तथा बिद्यालयहरुमा मानव बेचबिखन तथा ओसार पसरा सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु निरन्तर भईरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख जयस्वर रिमालले भने, मानव बेचबिखन र ओसारपसारका बिषयमा कालिकोटका निरन्तर प्रहर िचौकीहरुले सचेतना जोगाउने कार्यक्रम गरिरहेका छन् । उनका अनुसार गाउँगाउँमा प्रहरी अभियान अवधिमा जिल्लाका विभिन्न ठाउँ सडक तथा ट्राफिक नियम पालना, वातावरण संरक्षण, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, धुम्रपान र मद्यपान, सामाजिक अपराध, साइबर अपराध, बालविवाह, छाउपडी प्रथा, बाढीपहिरो, आगलागी तथा अपराध रोकथाममा केन्द्रित रहेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै आएको छ ।