Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

परीक्षण उडान फेरि स्थगित

सुर्खेत – कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडानको तालिका पर सरेको छ । बुधवार गर्ने भनिएको परीक्षण उडान स्थगित भएको छ । प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल परीक्षणको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । त्यसका लागि तयारीसमेत भएको थियो । यद्यपि, प्रधानमन्त्री प्रचण्डको व्यस्तता र पर्यटन मन्त्री सुदन किरातीका बुबाको निधन भएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ । पर्यटन मन्त्री किरातीले बुबाको निधन भएको र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताएका छन् । उनले भनेका छन्, ‘हवाई यातायातको सम्बन्धमा कर्णालीबासी जनसमुदायको दुःख र हैरानी बुझेको छु र सदाका लागि समाधान गर्न लागि परेको छु ।’

पर्यटन मन्त्री किरातीले सुनथराली विमानस्थलमा परीक्षण उडानको कार्यक्रम असोज १३ गते राखिएको बताए । उक्त दिन सुनथरालीसँगै डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान कार्य गरिने छ । यसअघि गत वैशाख १ गते परीक्षण उडान गर्ने तालिका रहेपनि अन्तिममा स्थगित गरिएको थियो ।

जिल्लाको नरहरीनाथ गाउँपालिका–१ मा रहेको उक्त विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माण कार्य सम्पन्न भएपनि नियमित सञ्चालनमा आउन सकेको छैन । पुनः परीक्षण गरेर नियमित गर्ने तयारी गरिएको छ ।

२०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । बिचमा द्वन्द्वका कारण पनि विमानस्थल निर्माण कार्य अवरुद्ध भयो भने द्वन्द्वपछि पनि बिचमै अलपत्र छोड्दा लामो समयसम्म विमानस्थल सञ्चालन हुन नसकेको हो । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ ।