Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

उज्यालो बन्दै जाजरकोट

जाजरकोट – विद्युत् सेवा नपुगेका जाजरकोटका गाउँलाई आगामी दुई वर्षभित्रमा उज्यालो बनाइने भएको छ। जिल्लाभर विद्युतीकरण गर्न हालै तीन अर्ब रुपैयाँँको टेन्डर आह्वान गरिएको छ। जिल्लाको कुशे गाउँपालिकाको समाइला र वडावनलगायतका स्थानमा नयाँ सबस्टेसन निर्माण गर्न ठेक्का लगाइने भएको हो।

हालसम्म विद्युत् सेवा नपुगेका सबै गाउँमा विद्युत् सेवा विस्तार गर्न लागिएको हो। जाजरकोटका अधिकांश गाउँमा हाल विद्युत् सेवा पुगेको छैन। यहाँका बासिन्दा दियालो, टुकी, मैनबत्ती, लालटिन र सोलार बत्तीको भरमा गुजारा चलाउँदै आएका छन्।

जिल्लाका सबै नागरिकलाई अब उज्यालोको अनुभूति हुनेगरी विद्युत् विस्तारको प्रक्रिया अगाडि बढाइएको हो। भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेसन निर्माण भइसकेको छ। त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरणका लागि नलगाडको चोखामा सबस्टेसन बन्दै छ। बारेकोट र कुशे गाउँपालिकामा विद्युतीकरण गर्न समाइला सबस्टेसन निर्माण गर्न ठेक्का लगाएर कामको सुरु हुँदैछ। त्यस्तै पश्चिमको छेडागाड, शिवालय र जुनीचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेसनबाट काम हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट शाखाका प्रमुख अभिषेकराज कलवारले बताए। उनले चौखाको सबस्टेसन ६ महिनाभित्र पूरा हुने जानकारी दिए। रुकुमपश्चिम, जाजरकोट र सल्यानका लागि प्रसारण लाइन कुदु सबस्टेसनबाट जोडिएको छ। ३३ केभी प्रसारण लाइन यी तीन जिल्लामा पु¥याएको हो। चौखाको सबस्टेसन निर्माणपछि मात्र ताक्सुगाड जलविद्युत् आयोजनाको कामसँगै डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माणमा सघाउ पुग्नेछ।

१३२ केभी प्रसारण लाइन कोहलपुरबाट सीधै सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ। अहिले चालू अवस्थामा रहेको ३२ केभीलाई १३२ केभी प्रसारण लाइनपछि विस्थापित गरिनेछ। १३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा विद्युत सेवा दिगो हुने अपेक्षा गरिएको छ। यता ४०० केभी प्रसारण लाइनका लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सबस्टेसनको कामसमेत यसै आर्थिक वर्षमा पूरा गरिने भएकोे छ। १३२ केभी प्रसारण लाइन र ४०० केभी प्रसारण लाइन मैनतडामै जडान हुने प्राधिकरणको भनाइ छ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको गृह जिल्ला जाजरकोटका सबै ठाउँमा विद्युतीकरण गर्नका लागि तीव्र रूपमा काम अघि बढिरहेको छ। जिल्लाभरि झन्डै ३० प्रतिशत विद्युतीकरण भएको कार्यालयको दाबी छ। दलका नेताले लिएका ठेक्काको काम समयै पूरा नहुँदा विद्युतीकरणमा समस्या भएको हो। जति पटक ताकेता गरे पनि काम नगरेपछि आफू हैरान भएको कार्यालय प्रमुख कलुवारले बताए। मन्त्री बस्नेतले दुई वर्षभित्र जाजरकोटका साथै कर्णालीका सवै जिल्लाम विद्युतीकरण गरिसक्ने दाबी गरेका छन्।