Loading... आजः ३२ असार २०८१, मंगलवार

राजधानीमा पोखिएको देउडा रङ

देउडा गीत जीवन दर्शन हो भन्ने तथ्य अब प्रमाणित भइसकेको छ। कुनै बेला लुकीलुकी रातमा गाउँबाट टाढा एकान्तमा युवकयुवतीले खेल्ने खेल देउडाले विस्तारै पटांगिनीमा प्रवेश पायो। गाउँको पटांगिनी हुँदै जिल्ला सदरमुकामहरू र त्यहाँबाट २०३४÷३५ सालमा राजधानीमा आयो। प्रतिबन्धित कालमा बिसु पर्वमा उपत्यकाको गोदावरी यसको प्रमुख आकर्षणको केन्द्र बन्यो। पंक्तिकारले देउडा खेलको सुरुआत राजधानीको गोदावरीबाट गरेको कुरा बिर्सन नसकिने खालको छ।

वैशाख १ गते सुदूरबाट राजधानीमा अध्ययन गर्न आएका त्यसबेलाका हामी विद्यार्थीबीच आत्मीयता अत्यन्तै गाढा थियो। त्यही गहिरो प्रेमलाई देउडा खेलमा उताथ्र्यौं। त्यसको अगुवाइ पंक्तिकारले गर्ने हुँदा सबैले देउडा गुरु भन्ने गर्दथे। खेलमा हामी पञ्चायती व्यवस्था विरोधी  गीत र आआफ्ना घर सम्झेर गीतको सवाल–जवाफ गर्ने गर्दथ्यौं। कार्यक्रमका प्रमुख अतिथि बनेर आउने तत्कालीन युवा नेता शेरबहादुर देउवा खुसी हुँदै मच्चीमच्ची देउडा खेल्नु हुन्थ्यो। यो क्रम २०४३ सालसम्म रह्यो। त्यसैले पनि गोदावरी देउडा गीत र देउडा खेलको सुदूरपश्चिम बाहिरको प्रथम देउडा खेलको पुण्यभूमि मान्न सकिन्छ।

यी त भए देउडा खेलका कुरा, अब रह्यो देउडा गीतमा एकल स्वर र विकासक्रमका कुरा। २०२० सालमा जुम्लाका महाशंकर देवकोटा र २०३३ सालमा बझाङका परिमल स्नेहीले रेडियो नेपालमा सुदूरका भाका गाएर इतिहास रचेको कुरा भुल्न सकिन्न। एक प्रसंगमा रेडियो नेपालको प्रांगणमा परिमल स्नेहीले गाएको ‘आयो जोगी सहरमा’ त देउडा होइन नि दाजु भन्ने पंक्तिकारको जिज्ञासामा उनले देउडा नभएर यसको जलपमात्र हो भन्नुभयो।

यसैगरी देवकोटाले २०२० सालको रेकर्ड गरिएको गीत ‘भैरवनाथको मन्दिरमा ध्वजा फिरिरी’ बोलको गीत पनि देउडाको सामान्य झल्को मात्र हो, पूरै स्वरूप होइन भन्नुभयो । जे होस्, यी दुवै महामना गायनका आत्मीय सर्जक हुन्। अब रह्यो झर्रो खालको देउडा गीत रेडियो नेपालको स्टुडियोभित्र कसले र कसरी पुर्‍यायो भन्ने विषय। जुन विषय भोलिका संस्कृतिप्रेमीका लागि पाठ्यपुस्तक बन्न पनि सक्छ।

पंक्तिकार सानो उमेरमा ग्वालो। जंगलमा गाईबस्तु चराउँदै गीत गाउनु मेरो बालापनको सौख थियो। हावासँगै बयली खेल्दै रुखमा चढी सल्लाका सुकेका हाँगा काट्दै गीतहरू गाउँदै रनबन रमाइलो पारेको यो उमेरमा भुलेको छैन। घरमा आमा गंगामतीले गाएका मांगल सुनेर गीतप्रति मोहित भएको थिएँ। तर, बुवा र दाजुहरू गीत गाएको सुनेर गाली गर्ने, कहिलेकाहीँ पिट्ने पनि गर्नुहुन्थ्यो मलाई। किनकि ब्राह्मण कुलमा संस्कृतका श्लोकहरू कण्ठ गर्ने चलन थियो। गीत गाउन भने स्वीकार्य थिएन। लुकीलुकी गाएका ती गीतहरू अहिले पनि कण्ठ छन्। कानमा औंला राखेर ठाडी भाका गाउने गर्दथें। यिनै गीतहरू पछि स्कुलमा अध्ययन गर्दा अतिरिक्त क्रियाकलापमा धेरै पटक सुनाएँ।

​​​​​​​एकपटक सीडीओलाई देउडा गीत सुनाएर पाँच रुपैयाँको नोट पुरस्कार पाएँ। जिल्ला सदरमुकाम चैनपुरमा पनि धेरैपटक विविध सांस्कृतिक कार्यक्रममा गीत सुनाएर प्रथम स्थान प्राप्त गरें। २०३४ कात्तिक १४ गते रेडियो नेपालको फूलबारी नामक कार्यक्रममा ‘ओ बाज झुम्यौली बाज’ रेकर्ड गरेर देउडा गायनको श्रीगणेश गरें। संगीतकार रत्न बेहोसीले हार्मोनियम बजाएर सांगीतिक गुन लगाउनु भयो। त्यही भाकाको बोल गीति क्यासेटमा पनि २०४६ सालमा उतारें। गायनको ४६ वर्षपछि पनि सुदूरका हजारौं संस्कृतिकर्मीले गौरा पर्व र बिसु पर्वमा त्यही भाकामार्फत देउडा खेल्दै आइरहेका छन् राजधानीमा। मौलिकता कहिल्यै पनि हराउँदैन भन्ने कुराको प्रमाण पनि हो यो।

झन्डै तीन वर्षसम्म कोरोनाका कारण सांस्कृतिक पर्व मनाउन नपाएका सुदूरपश्चिम र कर्णालीवासी यसपटक गौरापर्वको मौका पारेर राजधानीको टुँडिखेलमा ओइरिए। दार्चुला घर भएका रामदत्त पन्त जो गीतका आँसुकवि हुन्, हरेक खेलमा टुँडिखेलमा उनको प्रस्तुति प्रशंसनीय रह्यो। यसैगरी, नारी आवाजकी धनी देउडा खेलाडी शान्ति धामी, लक्ष्मी रावतका गीतका वान्की अर्थपूर्ण रहें।
पैरेर लैजानु सुवा पाटन्का जमरा
फूलको बगैंचा छाडी काँ घुम्छै भमरा।

​​​​​​​बुझ्न सजिलो छ, अर्थ गहिरो छ गीतको। साहित्यको खँदिलो शब्द र भाव समेटिएको हुँदा देउडा गीत महाकवि देवकोटाको मुनामदनको दोस्रो रूप हो भन्न रुचाउँछु।  रातो घाँगर, चोली, टाउकोमा सेतो मुन्याठो, कम्मरमा सेतो रुमाल बेरेर देउडा खेल्न उपस्थित सयौं महिलाले जन्मभूमिको संस्कृति राजधानीमा कहिल्यै नबिर्सने गरी सुनाए, माटोमा देउडा गीतका अजम्बरी भाकाहरू रोपे। नाकसम्म छुने गरी रातो अबिर लगाएका ती दिदीबहिनीको कुनै स्वार्थ नभएर सेतीमहाकालीको संस्कृति देउडामार्फत राष्ट्रभरि फैलाउनु थियो। ज्वाला विष्ट (अछाम), मीना कार्की, भागिरथी विष्ट (बैतडी), अम्बिका भट्ट (डँडेलधुरा), सीता भट्ट (झलारी), करुणा शाही (कर्णाली), दीपा धामी, शान्ति पुजारा, धीरा खत्री (बझाङ) आदिको उपस्थिति देउडा गीतमा प्रशंसनीय रह्यो।

गाण् (सानो नदी) भरी डंसिल्या ढुंगा
सर्कभरी तारा
म बोकी सक्दैन सुवा पिरतीको भारा।

यी र यस्तै खालका सवालजवाफमा निस्केका देउडाका भाव सुन्न काली कर्णालीका सामान्य श्रोता दर्शकमात्र नभएर सो क्षेत्रबाट राष्ट्रिय परिचय बनाइसकेका व्यक्तित्वको पनि तीन दिनसम्म बाक्लो उपस्थिति देखियो। एकातिर डम्बरकुमारी रेग्मी, करुणा शाही, माया भट्टलगायतका महिला गौरापर्वको मुख्य प्रसाद बिरुणा (कला, गहत, गौं, गुँरास र चना या मस्याङ मिसाएर तामाको भाडामा राखी पानीमा भिजाएका पञ्च अन्न) सबैलाई बाँड्दै थिए। अर्कोतिर केही महिला शिरमा गौरा राखेर फागहरू गाउँदै थिए। बाँकी त समूहसमूह बनाएर देउडा खेलमा झुम्मिएका देखिन्थे।

२०४३ सालमा पंक्तिकारले रेडियो नेपालमा लोकगीत प्रतियोगितामा देउडा गाएर प्रथम पुरस्कार पाएको लय हो छमक्क छमक्क। कालजयी यो भाकाबाहेक देउडा गायक भोजराज भट्टले गाएको जौ पात लय पनि खेलमा सबैले मन पराएर गाए। ८० वर्षपहिले गौरादेवीलाई राजधानीमा भित्त्याउने श्रेय काठमाडौंका उप्रेती परिवारलाई जान्छ। स्व. डा. त्रैलोक्यनाथ उप्रेतीको घरमा बर्सेनि गौरापर्व मनाउने गरिन्थ्यो। २०५५ सालदेखि प्रशंसा संरक्षण समूह नामक संस्थाले गौरापर्व र २०५६ सालदेखि नै देउडा समाज नामक संस्थाले बिसु पर्व राजधानीमा मनाउँदै आए। संस्कृतिकर्मी ​​​​​​​अम्बादत्त भट्टको गौरापर्व खुल्ला मञ्चमा मनाउनमा ठूलो योगदान रहेको छ।

संस्कृतिकर्मी र समाजसेवी हरिमोहन भण्डारी (बैतडी) ले विगत २८ वर्षदेखि गौरापर्व मनाउन अग्रसर भएर आर्थिक सहायता दिँदै गौरापर्व मनाइरहेका छन्। हरिप्रसाद अवस्थी (दार्चुला)ले गौरापर्वको महत्त्व बुझाउनमा सञ्चारकर्मी माझ र नरनारीलाई देउडा खेलाउन गरेको कार्य कदपि भुल्न सकिँदैन। हाल उनी प्रशंसा समाजका अध्यक्ष पनि हुन्।

बाझ बुराउसका दौरा बली धमस्कार
साथीसंगी सबैलाई हाम्रो नमस्कार।
सिट्याका सिटुवा लौरी मलेवाका भाटी
सबै मिली देउडा खेल्छौं जस दियै माटी।

यिनै गीतबाट सुरु गरिएको देउडा खेल थकाई नमारी लगातार ५÷६ घण्टासम्म पैतला मिलाएर चौरमा घुम्नु गीतमा सवाल, जवाफ गर्नु प्रत्येक भाकाको संरक्षण गर्नु सामान्य विषय होइन। संस्कृतिलाई मनोरञ्जनका रूपमा मात्र     हेरिनु हुन्न, राष्ट्रको परिचय हो संस्कृति भन्छन् अछामका जयन्द्र स्वाँर, बझाङका प्रेम धामी र बाजुराका राजेन्द्र सिंह (बीपी)। पूर्वको मारुनी, तराईंको झिंझिया, अवधि, काँठतिरको घाँसेगीत, गण्डकीको रोधी संस्कृति, रापतीको टप्पा र सुदूरपश्चिम–कर्णालीको देउडा संस्कृति राष्ट्रका गहना हुन्।

सुदूरपश्चिम र कर्णालीको संस्कृति अन्य ठाउँको भन्दा भिन्न छ। देउडा केवल गीतमात्र नभएर जीवनपद्धति पनि हो। यी गीतमा जीवन र जगत् जोड्ने शक्ति छ। त्यसैले देउडा गीत संस्कृतिमात्र नभएर दर्शनशास्त्र पनि हो।