Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

कांग्रेसले कर्णालीका जनप्रतिनिधिलाई प्रशिक्षण दिदै


सर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीबाट निर्बाचन जितेका स्थानिय तहका प्रमूख तथा उप प्रमूखहरुलाई प्रशिक्षण दिने भएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशले शनिबार पत्रकार सम्मेलन गर्दै कर्णालीमा पार्टीबाट स्थानिय तहको चुनाव जितेर सरकार संचालन गरिरहेका कर्णालीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने जानकारी गराएको हो ।
नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कांग्रेसबाट स्थानिय तहमा नेतृत्व समालिरहेका जनप्रतिनिधिहरुलाई जनताका हितमा काम गर्न उत्कृष्ट कार्यसम्पादन गर्न प्रशिक्षण दिन लागिएको बताए । कांग्रेसबाट कर्णाली प्रदेशमा नगरपालिका प्रमूख १२ जना, उपप्रमूख १० जना, गाँउपालिका अध्यक्ष २०, उपाध्यक्ष १७, जिल्ला समन्वय समितिका प्रमूख ५, उप प्रमूख १ गरी ६५ जना जनप्रतिनिधिहरुलाई एकमुष्ट प्रशिक्षण दिन लागेका उनले बताए । उनले भने, कांग्रेसले नेतृत्व गरेको ठाँउमा सुशासन हुनुपर्छ । निर्बाचनका बेला जनताका बीचमा गरेका प्रतिबद्धताहरु सबै कार्यन्वयन हुनुपर्छ । विगतमा सरकार संचालन हुँदा भएका समस्याहरु दोहोरिनु भएन् । कांग्रेसको बिचार, सिद्धान्त र नीतिमा रहेर प्रचलित ऐन, कानुन र बिधि अनुसार काम गर्नुपर्छ । कांग्रेसका जनप्रतिनिधि शासक नभई जनताका सेवक बन्नुपर्छ । यस्तै बिषयमा हामीले सम्बन्धित बिषय बिज्ञबाट प्रशिक्षणका साथै अहिलेसम्मका काम कारबाहीहरुको समिक्षा पनि गर्छौँ । साथै प्रदेश र संघिय सरकारबाट हुने कामहरुमा आईपर्ने समस्याहरुलाई पनि समाधान गर्न पहल लिने कुरा गर्छौँ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कर्णाली प्रदेश उपसभापति एवं प्रशिक्षण बिभाग प्रमूख कालीबहादुर सहकारीले जनताले गुनासो गर्नुपर्ने अवस्था आउन नदिनेगरी कार्यसम्पादन गर्न सहजताका लागि कर्णालीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण आयोजना गरिएको बताए । उनका अनुसार वीपी जयन्तीको अवसरमा भदौ २४ र २५ गते २ दिने प्रशिक्षण कार्यक्रम हुनेछ । कार्यक्रममा नेपाली कांग्रेसको इतिहास, स्थानिय सरकार प्रति जनताका आशा, संघियताको सफल कार्यन्वयन लगायतका बिषयमा बृहत छलफल पनि हुनेछ । उनले भने, कर्णालीको समग्र विकास र समृद्धिका लागि भईरहेका प्रयास र आबश्यक समन्वयका बिषयमा पनि छलफल हुनेछ । कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्ण रोकाया, कोषाध्यक्ष खगिसरा आचार्य, पार्टी प्रवक्ता दमनबहादुर शाही लगायतका नेताहरुको पनि उपस्थिति थियो ।