Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार

मेरो राजनीतिक प्रेरणाको स्रोत विपी नै हुनुहुन्छ – सभापति देउवा

काठमाडौं –  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक विपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् ।
पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘विपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उनले विपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरेका छन् । देउवाले भने, ‘उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छौँ।’
विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उनले नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि विपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए ।

महोत्सवले विपीले प्रतिपादन गरेको राजनीतिक विचार, उनका साहित्यिक कृति, उनले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविध पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गरे ।
सभापति देउवाले भने ‘विपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो। हामीले उहाँलाई भेट्दा तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थयो । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई आवश्यक ठान्नुभएको थियो’,।
महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।