Loading... आजः ३२ असार २०८१, मंगलवार

समाजवादका आयामहरूमा बीपी

सादेशमणि पोखरेल

समाजवादलाई पछिल्लो समय दुई पक्षबाट विश्लेषण गर्न थालियो। इतर र उतर पक्षमध्येका दुई पक्ष हुन्– प्रजातान्त्रिक समाजवाद र नयाँ समाजावाद। जसको पछिल्लो समय अलि बढी व्याख्या र विश्लेषण चर्कंदो छ। नेपाली सन्दर्भमा विचाराकृत नयाँ समाजवाद के नितान्त फरक आयाम हो र ? नेपाली सन्दर्भमा बीपीले विचार र विश्लेषण गरेको प्रजातान्त्रिक समाजवाद र आधुनिक समयको यो अंकुरणले नेपाली राजनीतिमा प्रभाव पार्न सक्ला र ? यो सबै जिम्मा काल र आगामी तत्कालीन परिवेशलाई दिँदा फरक नपर्ला।

विचार र अनुकूलनको लेखाजोखा गर्दा लाग्छ, नयाँ समाजवादका दुई चार कुरा उत्तर आधुनिकतासँग मेल खान पुग्छ। दर्शन, सापेक्षिकता, उच्च सघनता, विचित्रता आदि। जसअनुसार सिद्घान्तको स्वतः विश्लेषण हुन्छ– उर्फ स्वःनिरीक्षित हुन्छ। यो दर्शन विशेषतः लेफ्ट विङमा आधारित छ, जसमा स्वतन्त्रताको चरम अभ्यास हुन्छ। स्वतन्त्रतामा आधारित सिद्घान्तकृत तŒव जस्तै अधिकार, सुधार, नवप्रवर्तन, समानता र गतिशीलताजस्ता प्रगतिशील आयामलाई टेवा दिइन्छ। जसको भारतमा प्रथम र उच्चतम प्रयोगमा जोड दिने राम मनोहर लोहियासमेत यसको संस्थागत गर्न यत्नशील थिए। नेपाली प्रजातान्त्रिक आन्दोलनका अभ्यासकर्तामध्येका एक बीपी नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवादका अध्येता हुन्भन्दा फरक नपर्ला।

बीपीको क्षमता केवल समाजवादमात्र थिएन किनकि उनको दक्खल मनोवैज्ञानिक साहित्यसमेत थियो। जसको ज्वलन्त उदाहरण बीपीका साहित्यले प्रतिविम्बित गर्छन्। हतियारसहितको आन्दोलनलाई कुशल अवतरण गर्ने क्रममा जेलमै रहेको बखत जेलबाटै अमेरिका प्रस्थान गरेका उनी अझ ऊर्जाशील भएको उदाहरण त्यहाँका पत्रकार जिम लेहरर र रवर्ट म्याक्लिनलाई बीपीले दिएको अन्तर्वार्ताबाट ज्ञात हुन्छ। यहाँ कोइरालाको अंग्रेजी वस्तुपरक कम आत्मापरक बढी लाग्छ। लाग्छ कोइरालाले यस अन्तर्वार्तामा लेहरर र म्याक्लिनलाई सकसै पारेका छन्। जसमा बीपीले आफू किन नेपाल जानैपर्छ भन्ने कुरा रोचक ढंगले दिएका छन्।

के भारतीय सन्दर्भमा लोहियाले सोचेकोे नयाँ समाजवाद, नेपाली सन्दर्भमा बीपीको प्रजातान्त्रिक समाजवाद र मदन भण्डारीकृत जबज वर्तमान सूचना–प्रविधिको यस कालखण्डमा के उत्तिकै फिट छ त ? आयामिक हिसाबमा नेपाली सन्दर्भमा प्रजातान्त्रिक समाजवाद एक विश्वव्यापी ‘आउटलुक’ हो। तर अधिक सत्तासीन नेपाली कांग्रेसले समेत प्रियनेताको यस सिद्धान्तलाई केवल कार्यक्रममा सीमित गरेको छ। अर्कातिर मदन भण्डारीको जबज राष्ट्रिय ‘आउटलुक’ हो र जसको काम, कर्तव्य र अधिकार नेपाली साम्यवादीलाई नै ज्ञात छैन। तर गतिशील सामाजको बेगलाई क्याच गर्न सक्ने मानव आधारित सामाजिक, राजनीतिक, आर्थिक पाटोलाई सम्बोधन गर्ने समाजवाद र वर्तमान सूचना–प्रविधिमैत्री समाजवाद आजको विशिष्टतम माग हो। जुन नितान्त आधुनिक र ‘एडेप्टेवल’ हुनु आवश्यक छ।

एडेप्टेबिलिटी हरेक समाज र समयको माग हो। यस हिसाबमा माग हो कि समयानुसार परिष्कृत र समायोजन होस्। नेपालको हिसाबमा समायोजन त होला तर परिष्कृत कठिन होला। विश्वमा टेस्टेड भइसकेको कार्यक्रम यहाँ आएर परिष्कृत हुनु हाम्रै लागि दुर्भाग्य हो। नयाँ समाजवाद बिल्कुल यही लाइनमा छ। जब भित्रिन्छ तब नवआयामिक देखिन्छ। जब यहाँ ‘भेरिफाइड टेस्ट’ हुन्छ, तब हामीलाई नै भालुको कन्पट हुन थाल्छ। अनुुकूलित वातावरण र समयसीमामा सिद्घान्तहरू अंकुरण र प्रस्फुटन हुन्छन्। बीपीको समाजवादले पनि आवश्यक समयमा अंकुरण खोज्यो तर आधारभूत राजनीतिक मापदण्ड र जनताको शैक्षिक निष्क्रियताले गर्दा उचाइ लिन सकेन। मदन भण्डारीको जबजले हालसम्म पनि निश्चित गन्तव्य तय गर्न सकेको देखिँदैन। कालान्तरमा सिद्घान्तकृत भएमा त्यो समय परिस्थिति अनुकलभन्दा फरक पर्दैन। किनकि कालखण्डअनुरूप सिद्घान्तहरू स्वतः परिभाषित अनि र स्वचालित हुन्छन्। हाल नयाँ समाजवाद सोही ‘क्याच अप’मा छ, नेपाली सन्दर्भमा।

सन् १९५० को दशकमा विश्वमा फरक किसिमको साम्यवादी विचारधाराको विकास भयो त्यो पनि तत्कालीन सोभियत संघको आडमा। कालान्तरमा जब त्यो सोभियत विकासक्रम भत्कियो, तब विश्व नै तरंगित भयो कि समाजवादी धारको विकल्प अब रहेन। फेरि सन् १९८० को दशकमा भित्रिएको विश्वव्यापी आर्थिक मन्दी यति घातक सिद्ध भयो कि सयांै वर्षदेखि युरोपमा सञ्चालित बैंकहरूसमेत धरापमा पर्न थाले। जसको आडमा आर्थिक समानताको एक कडी भनिएको साम्यवाद पनि आच्छु–आच्छु भयो। यसरी विश्वको एक समाजवादी सोचले निर्धारण गर्‍यो कि समाजवादमा आधारित पुँजीवाद पक्का पनि एक फलदायी समाधान हो। यसका एक अभियन्ता ह्युगो चाभेज पनि थिए।

अर्थ र व्यावसायिकताका हिसाबले कदापि हेरिनुहुन्न बीपीको प्रजातान्त्रिक समाजवादलाई। नेपाली सन्दर्भमा केही दृष्टिकोणवाट च्यापिन थालियो बीपीलाई। साहित्यिक, राजनीतिक, आर्थिक आदि तर प्रजातान्त्रिक समाजवादका नेपाली अध्येतालाई नै समाजवादी दृष्टिकोणवाट नै नजरअन्दाज गरिनु कदापि न्याय नभएको हो कि भन्नु स्वाभाविक हो। तर प्रदीप गिरिहरूले पछिल्लो समय न्याय नै गरे। यस आलेखको बिन्दु केवल बीपीको आयामलाई उजागर गर्नु समेत हो, त्यो पनि नयाँ समाजवादी आडमा।

समाजमा आधारित आन्तरिक एवं बाह्य विकासका बाबजुद आर्थिक, राजनीतिक, वैयक्तिक विकासको परिकल्पना केवल वृद्घिमा मात्र सीमित हुन पुग्छ। तर यहाँ रह्यो, कुरो वृद्घिलाई विकासमा परिवर्तन गर्ने त्यो पनि सीमित स्रोत र साधनमा। वास्तवमा बीपीले परिकल्पना गरेको आर्थिक समुन्नतिसहितको समाजवाद वृद्घिबाट विकासमा स्वःरूपान्तरित हुनु पनि हो। तसर्थ, बीपीकालीन साहित्यलाई आजकल यदाकदा समाजवादसँग पनि जोड्न खोजिएको पाइन्छ, जुन तत्कालीन युवा मागको पूर्वाभास हो।