Loading... आजः १२ श्रावण २०७८, मंगलवार

अलिकति बेइमानी भएको भए हामी कहाँ टिक्थ्यौं र?

फोटो खिच्न आग्रह गरेपछि मदनकृष्ण श्रेष्ठ बसिरहेको कुर्सीबाट विस्तारै उठेर एक खुट्किला जत्ति ओर्लिए। त्यसपछि सुस्तरी पाइला चाले।

‘हिँड्दा पहिले दायाँ कि, बाँया खुट्टा चाल्ने भन्ने सोचेर मात्र पाइला चाल्नुपर्छ’, मुस्कुराउँदै मदनकृष्णले भने।

पछिल्लो समय पार्किसन्सबाट पीडित भएपछि उनी पाइला चाल्नुअघि कुन खुट्टा पहिले चाल्ने सोचेपछि मात्र पाइला सार्ने गरेका छन्। अरूको जस्तो सटासट, फटाफट हिँड्न उनलाई सजिलो छैन।

दशकौदेखिका सहयात्री हरिवंश आचार्य मदनकृष्णलाई हिँड्नलाई सहयोग गर्दै थिए।

कलाकारिता त्यसमा पनि विशेष गरी हाँस्य क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंशको यात्रा मानिसका शरीरका दुबै खुट्टाजस्तै हुन्। दशकौंको यात्रा दुबै खुट्टाको सन्तुलनले गर्दा नै आजसम्म चलिरहेको छ, एकअर्काको भरोसा बनेर।

पछिल्लो समय पारिवारिक उतारचढावका कारण कला क्षेत्रमा सक्रियता केही सुस्ताए पनि जारी नै छ। यसलाई अझ गतिशील बनाउने काम उनीहरूले जारी राखेका छन्।

दुबैको फरक विशेषताका कारण आफूहरूको सहकार्य चलिरहेको मदनकृष्णको बुझाइ छ।

‘मेरो बानी अभिभावकको जस्तो छ, उसको लिडरसिप जस्तो’, मदनकृष्ण श्रेष्ठले भने।

उनीहरूको निर्माण रहेको सिनेमा ‘दाल भात तरकारी’ प्रदर्शनरत: छ। यसैको प्रचारको सेरोफेरोमा जुटेको भेटमा उनीहरूको मित्रतालाई केलाउने प्रयास गर्दा मदनकृष्ठ र हरिवंश आफ्नो जीवनका ‘फ्लासब्याक’ मा बडो उत्साही ढंगले फर्किए।

एउटा साइकलजस्तो दुब्लो बाहुन देखेंँ।

मदन: (जिस्कदैं) मलाई के था?

हरि: ३२-३३ सालतीर होला। ‘दबूः प्याख्’ भन्ने पहिले सडक नाटक हुन्थ्यो, विशेष गरी नेवारी कार्यक्रम हुन्थ्यो। त्यो बेलामा मदन दाइको कार्यक्रम थियो, ठ्याक्कै ठाँउ त कहाँ हो याद छैन। मान्छेहरूले मदनकृष्ण आउँछ भनेर कुरा गरिरहेका थिए। को रहेछ हेरौं न भनेर केही बेर कुरेँ, उहाँलाई देखिनँ।

त्यो दिन अबेला भएकाले म थप नकुरी हिँडे। पहिलो पटक देखेको चाँहि गाईजात्रा महोत्सवमा हो। सायद ३४ साल होला, उहाँले एउटा जागिरदार भन्ने गीत गाउनुभएको थियो।

मदन: भक्तपुरमा जाँदा एउटा दुब्लो बाहुन देखेँ। नाम सुनेको हरिबंश त्यही दुब्लो बाहुन थियो। पछि नाचघरमा एउटा कार्यक्रम हेर्न जाँदा साइकल भन्दा दुब्लो मान्छे आइरहेको अवस्थामा उसलाई देखेको हो।

दाँत टल्ल परेको, आँखा टिल्ल परेको, केही बोलेकै छैन तै पनि हेर्दै हाँस उठ्दो देखिन्थ्यो। ऊ हाँस्दै आयो म पनि हाँसे। पछि को भन्दा हरिवंश भने। मलाई ए भयो। औपचारिक चिनजान भएको थिएन।

हरि: उहाँ पनि साइकलजस्तै हुनुहुन्थ्यो। उहाँको ज्यानमा मेरो भन्दा बढी भए ४-५ किलो मासु बढी थियो होला। बाक्लो कपाल थियो, मदन दाइको लामो जुँगा कुचो जस्तो देखिन्थ्यो, झ्वास परेको। पहिलोपटक मदन दाइलाई देख्दा म १६ वर्षको थिएँ।

मदन: सात वर्ष जेठो भएकाले म २३-२४ वर्षको थिएँ उसो भए।

हरि: २२-२४ वर्ष नै हो , दाइको बिहे भइसकेको थियो, नत्र मलाई बोलाइहाल्नुहुन्थ्यो नि बिहेमा, जन्तीमा छुट्दिनथेँ होला दाइ।

मदन: ए हो त।

निकट चिनापर्ची

हरि: त्यसको अर्को वर्ष मैले पनि गाईजात्रामा भाग लिएँ। त्यो बेलामा साधारण चिनजान भयो। दाइको कार्यक्रम राम्रो लाग्थ्यो।

मदन: त्यो गाईजात्रामा सबैभन्दा बेसी हसाउने हरिवंश नै थियो। म उसको कार्यक्रम नछुटाइकन हेर्थेँ। त्यो बेलामा म कृषिमा जागिर खाइरहेको थिएँ। त्यही बेलामा बिबिसीले प्रोग्राम प्रोडक्सन सम्बन्धी तालिम दियो। त्यसपछि म, हिरण्य भोजपुरे, भीमबहादुर थापा आदि मिलेर एउटा ‘रसरंग’ भन्ने कार्यक्रम बनायौं। हरिवंश त्यसमा भाग लिन आएको थियो। त्यहाँ अलि नजिकको चिनाजानी भयो।

समय नमिलेपछि अनयासै बनेको जोडी

हरि: दुई जना मिलेर काम गर्ने भन्ने सोचाइ ठ्याम्मै थिएन। दाइ म भन्दा सिनियर, नेवारी समाजमा लोकप्रिय। म अलि कान्छो, भर्खर-भर्खर आएको। नसोचे पनि राष्ट्र बैंकले एक ठाउँमा ल्याइदियो।

तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेव राष्ट्र बैंकको प्रमूख अतिथि बनेर आउने हुनुभयो। गायक रूबी जोशी त्यही जागिरे हुनुहुन्थ्यो। हामी दुबै जनालाई छुट्टाछुट्टै कार्यक्रम गर्न बोलाउनुभयो। तर, ९० मिनेटभित्र सबै कार्यक्रम समापन गर्नुपर्ने भयो।

रूबि दाइले ‘तपाईंहरू दुबै जना मिलेर एउटै कार्यक्रम गर्नु भन्नुभयो। त्यसपछि दुबै जनाले ‘बैकेश्वर’ को स्क्रिप्ट लेखेर तयार गर्‍यौं। कार्यक्रम राम्रो भयो राजादेखि उपस्थित सबैले मन पराए।

त्यसअघि पनि दाइसँग लगातार २ वर्ष मेरो गाईजात्रा भेट भइसकेको थियो। त्यसपछि दुई जना मिलेर गरौं न त भन्ने भयो। दुबै जना मिलेर ‘यमलोक’ लेख्यौं। त्यसअघि  मैले गाईजात्रामा लगातार ३ वर्ष गोल्ड मेडल जितेको थिएँ।

त्यो बेलामा मेरो बुद्धि पुगेन त्यसलाई क्यासेटमा रेकर्ड गर्न सकिन्छ भन्ने दिमागमा आएन। ‘यमलोक’ को बेलामा मदन दाइले रेकर्ड गर्नुपर्छ भन्नुभयो। उहाँ गीत रेकर्ड गरिसक्नु भएको मान्छे। म सोझो बाहुनलाई यो व्यापारिक ट्रिक नै थाहा भएन।

उहाँ त नेवार,(हाँस्दै) त्यसैले उहाँलाई आइहालेको होला। अहिले ती स्क्रिप्ट सम्झिन खोज्छु, पूरा आउँदै आउँदैन। दाइले यसलाई क्यासेट बनाएर निकालौं भन्नुभयो। हामीले यादव मणि खरेल भन्ने साथीलाई क्यासेट निकाल्न र रेकर्ड गरिदिन भन्यौ, त्यो बेलामा त्यो यस्तो हिट भएको थियो कुरै नगरौं, त्यसैले पनि क्यासेट निकाल्ने कुरा भएको हो।

त्यो बेलामा क्रोम भन्ने उच्च गुणस्तरको क्यासेट हुन्थ्यो, उहाँले त्यो रेकर्ड गरिदिनुभयो। त्यो जम्मा जम्मी ३० मिनेटको मात्र थियो। क्यासेट १ घण्टाको चाहिन्थ्यो। एक साइड मात्र क्यासेट निकालेर फाइदा थिएन। फेरि एउटा कार्यक्रम बनायौं र क्यासेट रिलिज गर्‍यौं।

त्यति बेला त त्यो अहिलेको ३३ किलो सुन भइहाल्यो नि। हामीले त्यसबाट आएको पैसाले जग्गा किन्यौ, घर बनायौं। एउटा क्यासेटको ९ रूपियाँ रोयल्टी आउँथ्यो। एक लाख ५० हजार क्यासेट बिकेको थियो त्यो बेलामा। १३ लाख ५० हजार त रोयल्टी मात्र बुझ्यौं।

मदन: धोबीधारा जस्तो ठाउँमा चार आना जग्गा ३० हजारमा किनेको।

सँगै काम गर्नेपर्छ भनेर कुनै निर्णय नै गर्नुपरेन, सबै आफैं भयो

हरि: क्यासेट निस्किएपछि दुबै जनाको जोडी हो भन्ने संदेश गइहाल्यो। सबैले त्यही अनुसार आशा गर्न थाले। त्यसले गर्दा छुट्टाछुट्टै गर्ने भन्ने सोचाइ आउन पाएन।

मदन: अनि त्यही बेलामा दाल भात तरकारी पाकी हाल्यो नि!

कहिले झगडा परेन

हरि: साधारण मनमुटाव त कसको हुँदैन? तर त्यस्तो सम्झनायोग्य झगडा कहिले परेन। समयको कुरामा कहिले काँहि ठाक्कठुक्क पर्‍यो। तालमेल नमिलेर। घुर्की लाउने जस्तो मात्र।

मदन: आँखा तरातर पनि भएन।

हरि: मन तरातर पनि हुँदैन्थ्यो। दुबैलाई नाम, दाम र काम जुरिरहेकाले हामी त्यसैमा व्यस्त भयौं, मनमुटाव हुन पाएन।

कुरा बुझाउँदा कहिलेकाँहि नबुझ्याजस्तो गर्नुहुन्छ

हरि: असाध्यै मननपर्ने बानी त छैन मलाई। समयमा नआउने, कहिलेकाँहि कुरा बुझाउँदा नबुझ्याजस्तो गर्ने बानी छ उहाँको। मनपर्ने कुरा के हो भने मैले मदन दाइलाई कहिले पनि नकारात्मक हिसाबले सोचिनँ। जहिले पनि सकारात्मक सोचेँ, उहाँको पनि त्यही हो। मुख्य कुरा हामी दुबैमा एकअर्काप्रति इमानदारिता छ। यसैले हामी टिकेका हौं, अलिकति बेइमानी भएको भए हामी कहाँ टिक्थ्यौं र? हामीमा इगो छैन।

मदन: हरिवंश इमानदार मान्छे हो। कुनै कारोबारमा समस्या आउन थाल्यो भने लिनपर्नेमा लिनुपर्नेभन्दा कम लिएर वा दिनुपर्नेमा दिनुपर्नेभन्दा बढि दिएर त्यसलाई सक्छ। यो बानी मनपर्छ। स्पष्ट छ, अभिनय अत्यन्त राम्रो छ, त्यसमा जीवन्तता भेटिन्छ। जाँगरिलो छ। बाटोमा घाइते देख्यो भने अरूले पनि अस्पताल लैजाउँ भनेर सोचिरहँदा उसले गाडीमा हालेर लगिसक्छ।

भ्याली बाहिर र विदेश जाँदा हाम्रो नेचर फरक छ, म समूहमा बस्न रूचाउँछु, ऊ एयरपोर्टमा फटाफट अघि जान्छ। बाटो नै थाहा हुन्न मलाई, उसले दाइ यता यता भन्छ। उसले कुन बाटो सहि गलत पत्ता लगाएर आउने रहेछ र हामीलाई भन्ने रहेछ। मलाई चाँहि गएका जत्ति आँखा अगाडि देखिइरहनुपर्छ। मेरो बानी अभिभावकको जस्तो छ उसको लिडरसिप जस्तो। यो दुई बानीले नै समूह बलियो हुने हो।

हरि: बाटो पत्ता लगाउनुपर्‍यो नि।

 

काममा कहिल्यै निराशा भोगेनौं

हरि: काम गर्दा कहिले धेरै राम्रो हुने कहिले ठिक्कै हुने त भइनै हाल्छ। कुनै आफूलाई चित्त नबुझ्ने पनि हुन्छ, नहुने होइन। त्यसलाई हामीले निराश भन्न भएन, झन राम्रो गर्ने हो अर्को पटक।

पञ्चायतको बेलामा हामी थुनियौ, त्यो बेलामा पनि हामी निराश भएनौं, हामी उत्साहित भयौं। त्यसले हामीलाई फाइदा नै भयो। कहिलेकाँहि हामीले नभनेका, नगरेका कुरा गरेर पनि फुटाउन खोजे। मलाई कति जनाले बाहुन भएर नेवारसँग पनि कार्यक्रम गर्ने हो भनेर उचाले। नेवारी नाटक गर्दा बाहुन भएर हे नेवारी नाटक गर्ने भनेर उक्साउने ग्रुप थिए। मदनदाइलाई पनि त्यसै भन्नेहरू थुप्रै थिए।

मदन: हामीले विविध ठाउँ अनुसारको काम गर्‍यौं। रेडियोमा गर्‍यौं, त्यहाँ डिस्टर्व हुँदा स्टेजमा गर्‍यौं, त्यहाँ हुँदा टिभी, सिनेमा। देशमा हुँदा विदेशमा। हामी स्क्रिप्ट अभिनय, निर्देशन सबै आफैं गर्ने भएकाले त्यस्तो निराशाको समय हामीले भोगेनौं। सामाजिक काममा पनि व्यस्त राख्यौं, त्यसले गर्दा हामी कहिले रोकिनुपरेन। हामीले सबै  मिलाएर गर्‍यौं।

एकअर्काको ढाकछेप कहिल्यै गर्नु परेन

हरि: लुकाउनुपर्ने काम नै गर्नुपरेन। किनभने, हाम्रो नाम चर्चित हुन थालिसकेको थियो, त्यसले हामीले गलत काम गर्नुहुँदैन भन्ने भयो। त्यसपछि हामीले त्यस्तो काम गरेनौं। त्यो भन्दा अगाडl उरेन्ठेउलो उमेरमा त भइहाले नि।

मदन: आफ्नो नाउले आफैंलाई बाँध्यो।

एकपटकमा एउटा काममा मात्र ध्यान दिन्छौं

मदन: एक पटकमा एउटा काम गर्छौ, त्यो गरेपछि सन्तुलन मिलिहाल्यो। अहिले सिनेमाको काममा छौ। टेलिफिल्मको काम छैन। स्टेजको पनि गरेका छैनौं। यो सिनेमाको कामपछि हामीले एउटा टेलिफिल्म बनाउँदै छौं। त्यसपछि स्टेज शो लिएर विदेश जाने बारेमा सोचिरहेका छौ। एउटा सकेर अर्को काम गर्छौ।

दुबै एक अर्काको प्रिय कलाकार

मदन: हरिवंश राम्रो छ। उसको अभिनय राम्रो छ, गीत पनि मेरो भन्दा हाइस्केलमा गाउँछ।

हरि: मदन दाइको राम्रो। एउटा चाँहि दाइको गीत गाउने क्वालिटी एकदमै राम्रो छ। मेलेडियस भ्वाइस छ। अभिनयमा चाँहि कसको राम्रो तुलना नै गर्न सकिन्नँ। जस्तो ‘लालपूर्जा’ मा दाइले घनश्याम खेल्नु भएको छ, मैले धुर्वराम। दुबैमा को राम्रो भन्ने? दुबै पात्र अनुसार सशक्त।

त्यस्तै ‘१५ गते’मा बाबुछोराको जुन केमेस्ट्री छ, त्यो नमिलेको भए त्यो राम्रै हुँदैनथियो। अब स्टेजमा हामी कार्यक्रम गर्छौं। स्टेजमा सबैभन्दा खतरनाक कुरा केहि भने मोनोटोनस भो भने एक मिनेट पनि टिक्न गार्हो हुन्छ। म उहाँ भन्दा, उहाँ मभन्दा अलिकति कमजोर भए, एक मिनेट पनि टिक्न गार्हो हुन्छ तर हामी जोडतोडका साथ लाग्छौं। त्यो त्यस्तै हुन्छ। हाम्रो काम हामीले बराबरी राम्रो गरेकाले नै दर्शकहरूले हामीलाई राम्रो मान्नुभएको हो।

मदन: स्टेज प्रोग्राम गर्दा हामी कहिलेकाँहि स्क्रिप्टभन्दा पनि बाहिर जान्छौं। गर्दै गर्दा नसोचेको कुराहरू आउँछ र फ्याट भन्न मनलाग्छ। मैले स्टेजमा केही त्यस्ता नयाँ कुरा गरे भने हरिवंशले फ्याट् त्यसको जवाफ फर्काउँछ। त्यो उसको राम्रो बानी हो। त्यसमा दर्शक हाँसे भने भोलि त्यसैलाई प्रयोग गर्छौं। यो कम्बिनेशन छ हाम्रो।

हरि: यो पनि संगीतको सुर जस्तै हो, सुर बाहिर गयो कि बेसुरा हुन्छ।

मदन: एउटा गुरू पूर्णिमाको दिनमा म अमेरिका थिएँ। हरिवंशलाई ‘वि आर गुरू अफ इच अदर, ह्यापी गुरू पूर्णिमा’ भनेर टेक्स्ट पठाएँ। उसले मलाई ‘यस यू आर नेवार गुरू आइ एम बाहुन गुरू’ भनेर तुरून्तै जवाफ फर्कायो। मैले फेरि ‘यू आर स्पेशल वान’ भनेर पठाएँ,  उसले ‘यू आर स्पेशल टु’ भनेर पठायो। उसले यसरी केही लेख्यो कि फ्याट फ्याट जवाफ दिन सक्छ।

लेख्दा लेख्दै कुन चरित्र कसले गर्ने छुट्टिसक्छ

हरि: पहिलो यो विषयमा भनेर लेख्न थाल्छौं। लेख्न थालेपछि यो उसले, यो यसले भन्ने हुँदैन, छुट्टिदैं जान्छ। मैले पनि, दाइले पनि थाहा पाइसक्नु हुन्छ कसले के खेल्ने भनेर।

मदन: सुरू सुरूमा गर्दा आफ्नो रोलमा हाँसो धेरै भए हुन्थ्यो भन्ने हुन्थ्यो। हामी दुईको यो मनोविज्ञानले असर नगरोस् भनेर हामीले लेख्न थाल्दा कुन कसले गर्ने भनेर नभनी सुरू गर्न थाल्यौ।

हरि: यो रोल मदन दाइले , यो रोल मैले भनेर थाहा पाइसकेपछि यदि कसैको रोल केही कमजोर भयो भने हामी दुबै त्यसलाई बलियो बनाउन लाग्छौं।

मदन: एक जना कमजोर भयो भने त्यो सन्तुलित हुँदैन। सबै राम्रो हुनुपर्छ। जस्तो ‘१५ गते’ मा हामीले हामी मात्र राम्रो गर्नपर्छ बनेर कहिले सोचेनौं। राजाराम पौडेल, किरण केसीको रोल राम्रो निस्किएपछि त्यसलाई उत्कृष्ट बनायौं। त्यसबाट दुबै जना सुपरहिट भए। सबै रोल राम्रो हुनुपर्छ भन्नेमा हाम्रो ध्यान हुन्छ।

हरि: त्यसमा हाम्रो भन्दा राजाराम र किरणको तारिफ बेसी भएको थियो। हामीले त्यतिबेला हामी भन्दा किन राम्रो बनाउने सोचेको भए, त्यो त्यति राम्रो हुँदैहुँदैन थियो। त्यसमा राजारामको लखेटिँदा लखेटिदै पुल मुनि लुक्छन्। त्यसमा  किरण केसीले उसको हात कुल्चने दृश्य छ। त्यो दृश्य दिन गएका राजारामले त्यहाँ मुनी मानव मलमूत्र देखेर म जान्न भनेर सुरूमा अन्कनाए। पछि हामीले तिमीलाई राम्रो हुन्छ भनेपछि उनले नाक थुनेर गरे पछि त्यो राम्रो भयो। त्यसकारण हाम्रो ध्यान टिम कसरी राम्रो बनाउने भन्नेमा हुन्छ। त्यही अनुसार बढ्नुपर्छ।

सेतोपाटीबाट साभार ।


error: Content is protected !!