Loading... आजः ३० असार २०८१, आईतवार

कर्णालीमा क्यूआर कोड मार्फत प्रहरीमा उजुरी


सुर्खेत – कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका नागरिकहरुलाई क्युआर कोडमार्फत पनि प्रहरीमा उजुरी दिनसक्ने व्यवस्था मिलाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले मंगलबार पत्रकार सम्मेलन गरी घरमै बसीबसी मोबाईलबाटै प्रहरीमा उजुरी दिने क्यूआर कोड सार्वजनिक गरेको हो ।
प्रदेश प्रहरी प्रमुख डिआइजी भीम ढकालले प्रदेश प्रहरीले थालेको सुरक्षित कर्णाली बिशेष अभियान अन्तरगत नागरिकहरुलाई सहज र सुरक्षित रुपमा प्रहरी कार्यालयमा उजुरी दर्ता गर्नका लागि क्यूआर कोडको व्यवस्था गरेको बताए । उनले भने, यस अभियान अन्तरगत ७ वटा बिभिन्न अभियानहरु थालिएका छन् । प्रहरी प्रशासन प्रति नागरिकको विश्वास बढाउन, हरेक नागरिकको पहुँचमा प्रहरी सेवा पुगाउन, प्रहरीको सेवालाई सहज र सुलव बनाउन र नागरिकमैत्री प्रहरी कार्यालय बनाउनका लागि यो सेवा सुचारु गरिएको हो ।
प्रदेश प्रहरी प्रमूख ढकालले क्यू आर कोडमार्फत आएका उजुरीलाई ३ प्रकारमा बर्गिकरण गरिएको छ । जसमा अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानविन गरि उजुरीकर्तालाई जानकारी दिइने व्यवस्था मिलाईएको छ । प्रहरीले उजुरीकर्ताको गोपनियता कायम राखेर कानूनी कारवाही प्रक्रिया अघि बढाउने उनको भनाई छ । यसले कर्णालीका विकट बस्तीमा अन्यायमा परेका नागरिकहरुलाई समेत सहज प्रहरी मार्फत न्यायको अनुभुति हुने विस्वास गरिएको छ ।
डिआईजी ढकालले कर्णाली प्रदेशलाई सुरक्षित र व्यवस्थित प्रदेश बनाउनका लागि हरेक घरमा प्रहरीको स्टिकर अभियान पनि प्रभावकारी भएको बताए । उनले भने, कर्णालीका ३ लाख ७१ हजार १ सय २५ घरमा प्रहरीका सबै संरचना र सम्बन्धित व्यक्तिको फोन नम्बर सहितको स्टीकर टाँस गर्ने कार्य भईरहेको छ । जस अभियानले अहिलेसम्म २ लाख २७ हजार ४ सय २४ घरमा स्टीकर टाँस गर्ने कार्य सम्पन्न भएको छ । जसले गर्दा प्रहरी कार्यालयमा आउने दैनिक सुचना बृद्धि हुनुका साथै उजुरी दिने दर पनि बढिरहेको छ । यस्तै अर्को अन्तरक्रियात्मक गस्ती अभियान अन्र्तगत ७ हजार २ सय ६२ ओटा कार्यक्रमहरु सम्पन्न भएका छन् । सुरक्षित यातायात सेवा बनाउनका लागि यात्रुमैत्री अभियानबाट २ लाख भन्दा बढी नागरिकले सेवा लिएका छन् । कर्णालीमा १ हजार ५ सय ६५ जना नागरिकलाई निःशुल्क निवेदन लेखिएको छ । हरेक प्रहरी कार्यालयमा नागरिक सहजकर्ता प्रहरी परिचालन गरी उनीहरुको सक्रियतामा सेवाग्राहीमैत्री सेवा बिस्तार भएको छ ।