Loading... आजः १९ बैशाख २०८१, बुधबार

रुकुम हत्याकाण्ड : वडाअध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला

रुकुमपश्चिम – रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो।

आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज (मंगलबार) सकिएपछि यस्तो फैसला आएको उक्त मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।
सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी परिवर्तित नाम ५४, ३६ (१) र (३) सहित तीनजनालाई पनि जन्मकैदको सजाय भएको छ।

उनीहरूलाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ।

यो मुद्दामा अदालतले अन्य आठजनालाई भने सफाइ दिएको छ। त्यसैगरी अरु दुईजना नाबालकलाई जातीय छुवाछुतमा दुई वर्ष कैदको सजाय तोकिएको छ।

यो मुद्दामा सफाइ पाउनेहरूमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्यापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द रहेका छन्।

कस-कसलाई थियो अभियोग?
सौरभ पुन
तुलाराम घर्ती
रेशम बहादुर मल्ल
रमित पुन मगर
दीपेन्द्र चन्द
तुल बहादुर मल्ल
सन्तोष मल्ल
डम्बरबहादुर मल्ल (वडाअध्यक्ष)
प्रेमबहादुर ठकुरी
विनोद मल्ल,
सर्वजित भन्ने सविन पुन
टोपबहादुर मल्ल
डिल्ली घर्ती
भीमबहादुर पुन
इन्द्रबहादुर मल्ल
तिलक चन्द
क्वापे भनिने लोकेन्द्र घर्ती
नेत्रबहादुर मल्ल
विराज पुन मगर
विष्णु मल्ल
मोहन पुन मगर
मानबहादुर मल्ल
भीमबहादुर बुढा
हर्कबहादुर मल्ल
इन्द्र बहादुर भन्ने इर्दबहादुर ठकुरी
धनाराज राना
डिल्ली मल्ल ठकुरी
नवीन कुमार घर्ती मगर
लिपेन्द्र कुमार मल्ल
तीनजना नाबालाकरू

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए।

त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए।

सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए। सबै शव संकलन गर्न २ साता लागेको थियो।

यसपछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

तीमध्ये किशोरी (नवराजकी प्रेमिका) की आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २३ जना पुर्पक्षका लागि कारागारमा थिए।

३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग थियो।