जतिसक्दो चाँडो कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ : शेखर कोइराला
नुवाकोट – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले देशको समस्या समाधानका लागि अहिलेको सरकारको विकल्प आवश्यक रहेको बताएबा छन्। उनले कांग्रेस आफैं सक्षम हुँदाहुँदै अरुलाई नेतृत गर्न दिनु नै भुल भएको बताए।
नेकपा माओवादी नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै उनले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए। यसको लागि नेतृत्व तयार रहनुपर्ने उनको भनाइ छ।
जनतामा निरासा छाएका कारण त्यसको विकल्पमा सरकार परिवर्तन हुनुपर्ने उनले बताए। कांग्रेसको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्न सक्ने उनको दाबी छ।
उनले कांग्रेसलाई अरुले प्रयोग गरिरहेको र यो कार्यकतालाई मन नपरेकोसमेत बताए। भ्रष्टाचार, अनियमितता, महँगी बढिरहेका बेला सरकार जनताको दैनिकीसँग बेखवर रहेको नेता कोइरालाले बताए।
कांग्रेसले वर्तमान सरकारलाई सहयोग गरिरहेका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षको कार्य प्रगतिविवरण पेस गर्नुपर्ने उनको माग छ। उनले कांग्रेसकै पदाधिकारी, नेता, जनप्रतिनिधि तथा कार्यकर्ताबीच सहकार्य र समन्वय नहुँदासमेत समस्या आइरहेको बताए।
उनले भने, ‘सरकारसँग जनता निराश छन्, जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ। जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन, जनताले दुःख मात्रै पाउँछन्।
ई-कर्णाली खबर
३ पुष २०८०, मंगलवार ०५:१२