Loading... आजः २७ मंसिर २०८१, बिहीबार

कांग्रेस नेता शाहीले थाले कर्णालीमा संगठन सुदृढ यात्रा


सुर्खेत – नेपाली कांग्रेसका युवा नेता भेपेन्द्रजंग शाहीले कर्णाली प्रदेशमा पार्टीको संगठन सुदृढ यात्रा सुरु गरेका छन् । नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा सुरु गरेका हुन् ।
शुक्रबार सल्यानको कपुरकोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गर्ने नेता शाहीले बताए । बिहिबार सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी कर्णालीमा आफुले पार्टीको संगठन सुदृढ यात्रा सुरु गर्न लागेको जानकारी दिए । उनले भने, कांग्रेसको गौरबशाली इतिहास कायम गर्नका लागि अनुभवी पुस्तालाई सम्मान गर्दै वर्तमान पुस्ताको उर्जालाई अभिबृद्धि गर्न यो यात्रा केन्द्रीत हुनेछ ।
यात्राका क्रममा नेपाली कांग्रेसको अग्रज पुस्तादेखी युवा पुस्तासम्म सबै तहका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट, अन्तरक्रिया गरी पार्टीमा नयाँ उर्जा र भरोशा थपिने उनले बताए । उनले भने, यो अभियान पार्टीलाई जनतासँग र जनतालाई पार्टीसँग जोड्ने पुलको रुपमा काम गर्नेछ । प्राय सबै तहका नेताहरु चुनाव र अधिवेशनका बेला मात्र गाँउ केन्द्रीत हुन्छन् । तर म कर्णाली प्रदेशमा सभापतिको प्रत्यासी हुनुको नाताले आफ्नो दायित्व बोध गरी संगठन सुदृढ अभियान थालेको हुँ । यो कुनै बिचार समुहमा केन्द्रीत होईन, सिंगो पार्टी र आम नागरिकहरुलाई राजनीति प्रतिको आशा देखाउनु पनि हो ।
उनले फरक प्रशंगमा नेपाली कांग्रेसको महासमिति बैठकमा तत्कालिन माओबादीसँगको गठबन्धन निरन्तरता दिने निर्णय हुनु गलत भएको बताए । उनले भने, मैले त्यति बेला नै महासमितिको बैठकमा जे निर्णय भयो । गलत भयो भनेर प्रतिक्रिया दिएको थिए । अहिले माओबादी बेन्द्रका अध्यक्ष प्रचण्डले धोका दिएपछि सबैले अनुभुति गरेका छन् । बिचार, सिद्धान्त र कार्यशैली नै नमिल्नेका बिच गठबन्धन हुने व्यवहारिक र संद्धान्तिक नै नभएको उनले बताए ।