Loading... आजः ३२ असार २०८१, मंगलवार

सुर्खेतले जित्यो रारा कप कबड्डीको उपाधि

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल किनारमा आयोजित कबड्डी प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ। उसले महिला र पुरुष दुबैतर्फको उपाधि जितेको हो।

शुक्रबार सम्पन्न फाइनल खेलमा सर्खेतले पुरुषतर्फ दैलेखलाई र महिलातर्फ सल्यानलाई पराजित गरेको हो। पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ मात्र  बनाउन सक्यो। त्यस्तै महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र ल्याउन सक्यो।

पुरुषतर्फ दोस्रो दैलेख हुँदा तेस्रो जाजरकोट भएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले बताए। प्रतियोगितामा कर्णाली प्रदेशका पुरुष टिमतर्फ हुम्लाबाहेक ९ जिल्लाको सहभागिता थियो महिलातर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य ७ जिल्लाको सहभागिता थियो।

बुधवारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो। पूर्वसांसद गोपाल बहादुर बमले रारा किनारमा आयोजित प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याको बताए। अगामी दिनमा पनि यस्तै खालका प्रतियोगिताहरू हुनुपर्ने उनको भनाइ छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य टक्कबहादुर शाहीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको रूपमा रहेको कर्णाली प्रदेशले आन्तरिक खेल गतिविधिलाई निरिन्तरता दिएको बताए।