Loading... आजः ७ जेष्ठ २०८१, सोमबार

अलैँचीको मूल्यमा सुधार नहुँदा अलमलमा किसान

फिदिम । अलैँचीको मूल्यमा सुधार नभएपछि किसान अलमलमा परेको छ। घरमा थन्काएको अलैँची  बिक्री गर्ने कि अझै राख्ने भनेर किसान अलमलमा परेका हुन्। मूल्य खस्किएपछि कतिपय किसान अलैँची खेतीको विकल्पको बारेमा सोच्न थालेका छन्।

फिदिम नगरपालिका-८ रानिटारका कुलबहादुर तामाङले अघिल्लो वर्षको अलैँची अझै बिक्री गरेका छैनन्। तामाङले ५१ रोपनी जमिनमा अलैँची खेती गरेका छन्। गत वर्ष उत्पादन भएको २१ मन अलैँची अझै बिक्री नगरेको उनले सुनाए।

‘बगानमा नयाँ उत्पादन सुरु भयो,’ तामाङले भने ‘अघिल्लो सालको अलैँची नै बिक्री गरेको छैन। राम्रो मूल्य पाउला भन्ने आशाले अलैँची घरमै राखेँ। अहिलेसम्म मूल्यमा सुधार नभएकाले बिक्री गर्ने वा नगर्ने भनेर अलमलमा परेको छु।’

बिगतको जस्तै राम्रो मूल्य पाउला भन्ने आशले तीन वर्षदेखिको बिक्री नगरेका किसान अलैँची खेतीको बारेमा दोधारमा छन्। ‘अलैँची बिक्री गर्ने कि नगर्ने भन्ने त दोधार छदैँछ,’ फालेलुङका किसान चन्द्रप्रसाद अधिकारीले भने, ‘मूल्य राम्रो नहुने हो भने खेती नै गर्ने कि नगर्ने भन्ने अलमल पनि भएको छ।’

नयाँ उत्पादन सुरु हुँदासम्म किसानले अघिल्लो वर्ष उत्पादन भएको अलैँची घरमै थन्काएका हुन्। यो साल अलैँचीको उत्पादन बृद्धि हुने भएपनि खस्कदो मूल्यका कारण अलैँची खेतीलाई निरन्तरता दिने कि नदिने भनेर किसान अलमलमा परेका हुन्। ‘यो साल ५० प्रतिशतले उत्पादनमा वृद्धि हुन्छ,’ फालेलुङ गाउँपालिका ८ लिगिम्बाका आइतराज हाङसरुम्बाले भने, ‘मूल्यमा आएको गिरावटले उत्पादनमा बृद्धि भएपनि किसान उत्साहित छैनन्।’

केही वर्ष अघिसम्म किसानले प्रति मन (४० केजी) एक लाख २० हजारसम्म अलैँची बिक्री गरेका थिए। अहिले प्रतिमन २४ देखि २६ हजारसम्म अलैँचीको मूल्य छ। मूल्यमा सुधार हुने संकेत नदेखिएपछि किसान चिन्तित बनेका हुन्। मूल्यमा आएको गिरावटाका कारण अघिल्लो वर्ष उत्पादन भएको ४० प्रतिशत अलैँची किसान र व्यापारीको गोदाममै भएको अलैँची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले जानकारी दिए।

‘अलैँचीको नयाँ उत्पादन सुरु भएको छ,’ अधिकारीले भने ‘तर, अघिल्लो वर्षको करिब ४० प्रतिशत अलैँची गोदाममै थन्किएको छ।’ मूल्यमा आएको थिरावट र लकडाउनका कारण अलैँची बिक्रीमा समस्या आएको व्यापारीको ठहर छ।  अलैँचीको मूल्यमा सुधार हुने सम्भावना कम देखिएकाले किसान अलैँचीको विकल्पको बारेमा सोच्न थालेका छन्।

कालो सुनको उपमाले चिनिएको अलैँची नेपालको ४२ जिल्लामा उत्पादन हुन्छ। पहाडका किसानको आम्दानीको सबैभन्दा राम्रो स्रोत बनेको अलैँचीले मूल्य कम पाएपछि कतिपय किसान अलैँची खेतीको विकल्पको बारेमा सोच्न थालेका छन्।

कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा १८ हजार दुई सय ७३ हेक्टर जमिनमा अलैँची खेती गरिन्छ। आर्थिक बर्ष २०७५/०७६ मा नेपालमा सात हजार नौ सय ५४ मेट्रिकटन अलैँची उत्पादन भएको थियो। यो वर्ष अलैँचीको उत्पादन ४० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ। 

उत्पादनमा बृद्धि भएपछि मूल्यमा आएको गिरावटका कारण आम्दानी भने कम हुने देखिएको छ।  अलैँचीको न्यूनतम समर्थन मूल्य नतोकिएकाले किसान अलमलमा परेको अगुवा किसान बताउँछन्। नेपालको अलैँची भारत हुँदै तेस्रो मूलुकसम्म निर्यात हुने गरेको छ। अन्य देशमा पनि अलैँचीको उत्पादन सुरु हुन थालेकाले नेपालको अलैँचीले कम मूल्य पाएको बताइन्छ।