Loading... आजः ३० असार २०८१, आईतवार

खच्चरले थेग्छ हुम्लाको ढुवानी


हुम्ला – देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको जिल्ला हुम्ला हो। देशका ७६ जिल्लामा सडक सञ्जालको पुगिसकेको छ। तर हुम्ला जिल्ला हालसम्म सडक सञ्जालको पहुँच पुगेको छैन।
२०५७ सालबाट सुरु भएको कर्णाली करिडोर सडक २०८० सालसम्म आइपुग्दा पनि सडक सञ्जालसँग हुम्ला जोडिन सकेको छैन। देशका अन्य जिल्लामा गाडीबाट दैनिक उपभोग्य वस्तुको ढुवानी हुने गर्छ। तर, कर्णाली करिडोर खण्डमा दैनिक हजारौं खच्चरले मात्रै सामानको ढुवानी धानेका छन्। खच्चरले नै हुम्ली नागरिकलाई सहजता बनाएको छ। दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चरबाट नै ढुवानी हुँदै आएको छ।

तीन वर्ष पहिले जुम्लादेखि खच्चर ल्याएर हुम्ला पुगेका जुम्लाका २२ वर्षीय युवा सिंह रावलले खच्चरबाट दैनिक सामान ढुवानी गर्दै आएका छन्। रातदिन खच्चरकै पछि दौडने र हुम्लाका गाउँगाउँमा हिँडेर सामान पुर्‍याउनु उनको दैनिकी हो। मुगु हुम्ला जोड्ने लिंक रोड निर्माण नहुँदा मुगु जिल्लाको गमगडीदेखि हुम्ला जिल्लाको सदरमुकाम सिमकोटसम्म खच्चरबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएको सिंह रावलको अनुभव छ। पछिल्ला समय मुगु हुम्ला जोडने लिंक रोड निर्माणपछि सल्लीसल्लादेखि सिमकोट र हुम्लाका दुर्गम गाउँसम्म दैनिक उपभोग्य वस्तु विकास निर्माण सामान ढुवानी गर्ने गरेको सिह रावलले बताए। ‘कहिले खच्चर थाक्छन त कहिले म आफैँ थाक्छु, तै पनि मेरो यात्रा रोकिएको छैन। खच्चरबाट सामान ढुवानी गर्दा महिनामा औसत एक लाखसम्म कमाइ हुन्छु उनले भने, दुख पनि उस्तै हुन्छ खाना बस्न र सुत्नको कुनै ठेगान हुँदैन।’
कर्णालीको हुम्ला, जुम्ला र मुगुका बेरोजगार युवा पुस्ता खच्चर व्यवसायमा लागेका छन्। कर्णालीका अधिकांश बेरोजगार युवापुस्ता दैनिक खच्चरसँगै दिन बिताउँदै आएका छन्। मुगु–हुम्ला र बाजुरा–हुम्लाका सडकमा दैनिक सयौँको संख्यामा खच्चरले सामान ढुवानी गर्दै आएका छन्।

जुम्ला जिल्ला पातारासी गाउँपालिका–७ पटमाराका दिनेश बुढा उमेरले बल्ल १७ वर्ष पुगे। उनी दिनरात खच्चरकै पछि दौडेर समय बिताउँछन्। कुनै समय बाटो हिँड्नसमेत गाह्रो गर्छ ज्यानको नै जोखिम हुन्छु बुढाले भने, ‘कहिले खच्चर बिरामी हुन्छन् त कहिले आफैं बिरामी हुन्छु।’

गाउँमा रोजगारीको कुनै स्रोत नभएपछि दुई वर्षदेखि मुगुको गमगढीदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म दैनिक उपभोग्य वस्तुको खच्चरबाटै ढुवानी गर्दै आएको र हाल सल्लीसल्ला सर्केगार्ड हुँदै सदरमुकाम सिमकोट र दुर्गम गाउँमा सामान ढुवानी गर्ने गरेको उनले बताए।

घरमा परिवारको संख्या ठूलो भएको र गाउँमा कमाइ केही नहुने भएकाले खच्चरबाट सामान ढुवानी गर्ने कामदारको रूपमा हुम्ला पुगेको बुढाको भनाइ छ। उनले भने, ‘महिनामा खच्चर मालिकले १५ हजार रुपैयाँ दिन्छन्, त्यही पैसाले आफ्नो खर्च र परिवारको खर्च चलाउँदै आएको छु।’

जुम्ला पातारासी गाउँपालिका-७ कै वीरेन्द्र थापाले खच्चर व्यवसाय गरेको आठ वर्ष भयो। सुरुमा सडक सञ्जालसँग नजोडिएको कर्णालीका कालिकोट, जुम्ला, मुगुसम्म दैनिक खच्चरबाटै सामान ढुवानी गर्दै आएका उनले यस व्यवसायबाट राम्रै आम्दानी गरेका थिए। तर, अहिले तीन जिल्लामा मोटरबाटो पुगेपछि खच्चर व्यवसाय विस्थापित भएको उनले बताए।

कालिकोट, मुगु र जुम्लामा सडक पुगेपछि सामान गाडीबाट ढुवानी हुन थालेको छ। जसले गर्दा यो व्यवसाय संकटमा पर्ने खतरा छु उनले भने, ‘अहिले हुम्ला जिल्लातर्फ खच्चरबाट सामान ढुवानी गर्न थालेको छु। खच्चरबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ आम्दानी हुँदै आएको छ। हुम्ला पनि सडक सञ्जालमा जोडिएपछि खच्चर व्यवसाय संकटमा पर्नेछ।’

हाल कर्णाली करिडोर अन्तरगत कालिकोट जिल्लाको खुलालुदेखि हुम्लाको चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिका सीमानासम्म १२३ किलोमिटर ट्याक खुलेसँगै नेपालगञ्ज सुर्खेत सवारीसाधन आउजाउ गर्दै आएका छन्। सर्केगाड गाउँपालिकादेखि सिमकोटसम्मको ६५ किलोमिटर दुरी पर्ने ल्याप्चे, छोरे सुनाखाडा लालीबगर खण्डमा नेपाली सेनाले ट्याक खोलेपनि हाल औपचारिक रुपमा सडकलाई हस्तान्तरण नगरेपछि सवारी चलेका छैन।

सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिका बाट हुम्लाको सदरमुकाम सिमकोट खच्चरबाट दैनिक उपभोग्य वस्तु नुन, तेल, चामल, सिमेन्ट, डिजेल, पेट्रोलदेखि विकास निर्माणका आवश्यक सामान दैनिक रूपमा खच्चरबाट नै हुम्ला पुग्ने गरेको छ। यति मात्र नभई निजी घर निर्माणका लागि आवश्यक पर्ने जस्तापातासमेत खच्चरबाट नै ढुवानी हुने गरेको खच्चर व्यवसायी बताउँछन्।

सडकको पहुँच नपुगेको हुम्लामा करिब आठ सयको संख्यामा खच्चर रहेको अनुमान छ। अहिले खच्चरबाट सामान ढुवानी गर्ने व्यवसायीको संख्या पनि धेरै भएकाले सस्तो मूल्यमा सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ।