Loading... आजः १६ बैशाख २०८२, मंगलवार

तीन दिनको मौसम पूर्वानुमान : कुन-कुन स्थानमा हुँदैछ भारी बर्षा ?


काठमाडौं – नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा भइरहेको छ।
मोरङ,सिराहाको दोधना,उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले, तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। विभागले सिन्धुपाल्चोकस्थित ढुङ्गे,तार्केघ्याङ वर्षामापन केन्द्र लगायत स्थानहरुमा मध्यम-भारी वर्षा भईरहेको,थप वर्षा हुने सम्भावना रहेकोले मेलम्ची नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ |
राती पनि कोशी ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती,लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ |

शुक्रबार दिउँसो देशभर पूर्णतया बदली रहने छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी,मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।