Loading... आजः ३० असार २०८१, आईतवार

कर्णालीको मौलिक लोक संस्कृतिको उत्खनन् गर्न ‘प्रथम कर्णाली सम्मेलन’ सुरु


सुर्खेत – कर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ । ‘मौलिक लोक, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन’ गर्ने उद्देश्यसहित वीरेन्द्रनगरमा उक्त सम्मेलन सुरु भएको हो ।
सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन हुने उक्त सम्मेलन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा गरिएको हो ।
सम्मेलको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति धुर्व गौतम र वीरेन्द्रनगर नगरपालिका प्रमूख मोहनमाया ढकालले गरे । पहिलो पटक हुन लागेको उक्त कार्यक्रममा कर्णालीको लोक, साहित्य र संस्कृतिको बारेमा वृहत रुपमा बहस गरिने छ । त्यसका लागि कर्णालीभित्रका कलाकार, संस्कृतविद् तथा लेखकहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा लोप हुन लागेका कर्णालीको संस्कृति र मौलिक नाच हुड्के, मागल, मारुनीदेखि विभिन्न मौलिक कला र संस्कृतिको जगेनार्थ उक्त कार्यक्रम गरिएको प्रतिष्ठानकी प्रदेश अध्यक्ष हरिमाया कार्कीले बताइन् ।
कार्यक्रममा विभिन्न कर्णालीको सभ्यता र संस्कृतिका विभिन्न विधामा रहेर बहस हुने छ । ‘प्राकृति नेपाली भाष र कर्णाली सभ्यता’ शीर्षकमा डा. जीवेन्द्र देव गिरी, डा. महेन्द्र कुमार मल्ल, पण्डित तिलक रिजाल, खडानन्द चौलागाईँले बहस गर्नेछन् भने हेमन्त भुषालको कौर नृत्य रहने छन् ।
वरिष्ठ कलालकार गंगा केसी, कुलमान नेपाली, भीमबहादुर कार्कीको कथा वाचन रहेको छ भने ‘कर्णालीको संस्कृति कति छ र कति छैन’ शीर्षकमा लेखक ओम रिजाल, मोतिराज बम र बसन्ती शाहीले बहस गर्नेछन् ।
मोहन परियारले हुड्के नाच प्रस्तुत गर्नेछन् भने ‘कर्णालीको संस्कृति नेपालमा र नेपालको संस्कृति विश्वमा’ शीर्षकमा जोगेन्द्र केसी, रिता थापा मगर, वरिष्ठ कलाकार प्रेमदेव गिरी र कृष्णराज धमलाले बहस गर्नेछन् ।
साथै अन्य विभिन्न सांस्कृतिक नाच तथा कर्णालीको सभ्यताको उत्खनन्का विषयमा छलफल तथा बहस हुने बताइएको छ ।