राष्ट्रिय पौडी प्रतियोगिता आजबाट सुरू, ३५१ खेलाडी सहभागी हुने
काठमाडौं – प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिप आजबाट सुरु हुने भएको छ । नेपाल पौडी संघको आयोजनामा शनिबार र आइतबाट सातदोबाटोमा पौडी प्रतियोगिता हुन लागेको सचिव गंगालाल गोलेले जानकारी दिए।
ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्न लागेको उनको भनाई छ।
गोलेका अनुसार विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधाहरुमा खेलाइनेछ । पौडी प्रतियोगितामा ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी हुने उनको भनाइ छ।
खेलाडीहरुको सहजताको लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरेकाले खेलाडीको सहभागिता रहेको संघले जनाएको छ ।
प्रतियोगिताको सदस्य–सचिव टंकलाल घिसिङले प्रमुख उद्घाटन गर्नेछन् । प्रतियोगिताले नेपालमा पौडी खेलाडीहरुलाई सक्षम बनाउन भूमिका खेल्ने बताइएको छ। राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।
ई-कर्णाली खबर
२२ असार २०८१, शनिबार ०७:५९