पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध
कालीकोट – पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालीकोटखण्डमा ५ ठाँउमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको हो ।
प्रहरीका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डको ५ वटा स्थानमा पहिरो गएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नंं २ हुल्म र सेरिघाट, वडा नं ६ मोल्फा, वडा नं. ४ छेका, शुभकालिका गाँउपालिकाको वडा नं. १ स्थित गगने खोलामा पहिरो खसेको छ । बर्षा नरोकिएकाले पहिरो पन्छाउन सकिने अवस्था छैन् । पहिरोले सडकको पुरै भाग भाँसिएको छ । पहिरो पन्छाएर गाडी गुड्ने अवस्था बनाउन निकै समस्या छ । बर्षा रोकिएपछि पहिरो पन्छाएर यातायात संचालन हुन सक्छ । तर अहिले बर्षा निरन्तर भईरहेकाले पहिरोको थप जोखिम भएका कारण पन्छाउने काम भने सम्भव छैन् । पहिरो आसपासका सडकहरुमा तलमाथिबाट आएका सवारी साधन र यात्रुहरु अलपत्र अवस्थामा छन् । कतिपय ठाँउमा त यात्रुहरुलाई सहज रुपमा खान र बस्नका लागि समस्या छ ।
सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी बिरबहादुर जिटीले कर्णाली राजमार्गको कालीकोट खण्डमा बिभिन्न ठाँउमा पहिरो खसेको र त्यो पहिरो पन्छाउन लोडर र एक्साभेटर पठाएको बताए । उनले भने, अबरुद्ध राजमार्ग खुलाउन लोडर र एक्साभेटर पहिरो खसेको स्थानमा पुगिसकेका छन् । अब बर्षा रोकियो भने पहिरो पँछाएर सडक खुल्छ । उनले चालु आर्थिक बर्षमा सडक सुधारको काम पनि भईरहेकाले पहिरोको जोखिम पनि बढिरहेको बताए ।
ई-कर्णाली खबर
२२ असार २०८१, शनिबार १८:१८