Loading... आजः ३ जेष्ठ २०८२, शनिबार

सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन : सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराएका थिए।

‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैँ मुख्य भूमिकामा छन् । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’उनले भने।
प्रधानमन्त्री ओलीले सफलताको संकेत चालु आर्थिक वर्षमा दिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन । हामीले सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ । यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।’