कृषिमा ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझेदारी’सम्बन्धी कार्यपत्र प्रस्तुत
काठमाडौं – कृषिमा ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझेदारी’सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको छ। सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरुप सरकारी, गैरसरकारी, निजी र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कृषि तथा पशुपछी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढी सरोकारवालाको उपस्थितिमा कार्यपत्र प्रस्तुतिसहित वक्ताहरूले कार्यपत्रमाथि धारणा राखेका हुन्।
मुक्तिनाथ कृषि कम्पनी लिको छैठौ वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले न्यून आय भएका किसान र सरकार बीच जोडि कृषकहरूको आयस्तर वृद्धि गर्नको लागि निजी क्षेत्र र सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए।
उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने र चकलाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने मुख्य प्राथमिकतामा राखेको बताउनुभयो
त्यस्तै, कार्यपत्र माथि आफ्ना दृष्टिकोण राख्ने क्रममा वक्ताहरूले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरू औद्योगिक आयोजनाको विकासमा, स्थानीय सरकारहरू उत्पादन र वितरणमा, निजी क्षेत्र प्रविधि प्रसार, उद्योगहरूको सञ्चालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्ताहरूलाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाका रूपमा र विकास साझेदारहरू क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्ने विषयमा जोड दिएका थिए।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जय बहादुर टण्डनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनुपर्नेमा जोड दिए।
ई-कर्णाली खबर
१७ भाद्र २०८१, सोमबार १४:४१