घरमै जन्मिन्छन् २८ प्रतिशत शिशु
सुर्खेत – कर्णालीमा अझै पनि २८ प्रतिशत शिशु घरमै जन्मिने गरेको पाइएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार प्रदेशभर २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका हुन् ।
सर्वेक्षणअनुसार ७२ प्रतिशत बालबालिकाको जन्म स्वास्थ्य संस्थामा हुने गरेको छ । नेपालमा ७९ प्रतिशत शिशुहरू स्वास्थ्य संस्थामा जन्मिने गरेका छन् । नेपालभर अझै पनि २१ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । कर्णालीमा भौगोलिक विकटता, चेतनाको अभावका कारण घरमै सुत्केरी हुनेको संख्या धेरै छ । पछिल्लो एक दशकमा स्वास्थ्य संस्थामा शिशु जन्माउने महिलाको संख्या बढे पनि अपरेशनको माध्यमबाट शिशु जन्माउने क्रम पनि बढेको छ । नेपालमा पाँच मध्ये चार शिशुको जन्म दक्ष स्वास्थ्यकर्मीबाट हुने गरेको छ । दक्ष स्वास्थ्यकर्मीबाट हुने जन्म घरपरिवारको सम्पन्नतासँगै बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।
कुपोषणको दर बढ्दो
कर्णालीका बालबालिका कुपोषणको सिकार बनेका छन् । पछिल्ला केही वर्षयताको सरकारी तथ्यांक हेर्दा कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार ठूलो संख्यामा बालबालिका कुपोषण पीडित रहेको पाइएको हो ।
सर्वेक्षणअनुसार प्रदेशमा पाँच वर्षमूनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ । नेपालभर २५ प्रतिशत बालबालिकामा उक्त समस्या देखिएकोमा कर्णाली अन्य प्रदेशकै तुलनामा समेत अग्रपंक्तिमा देखिएको हो । त्यस्तै नेपालभर आठ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ भने कर्णालीमा चार प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ । उक्त तथ्यांकअनुसार १५ देखि ४९ वर्षका १५ प्रतिशत महिलाहरूमा ख्याउटेपनाको समस्या देखिएको छ । प्रजनन् उमेरका महिलाहरूमा शरिरको उचाई अनुसारको तौल कम भएको पाइएको हो ।
बालबालिकामा नेपालभर १९ प्रतिशतमा कम तौलको समस्या देखिएको छ जबकी कर्णाली प्रदेशमा २७ प्रतिशत बालबालिकामा कम तौलको समस्या देखिएको हो । प्रदेशमा ४० प्रतिशत ६ महिनादेखि ५९ महिनाका बालबालिका रक्तअल्पताबाट पीडित भएको तथ्यांकले देखाएको छ । यसैगरी १५ देखि ४९ वर्षका २१ दशमलव दुई प्रतिशत महिलाहरू रक्तअल्पताबाट पीडित भएका छन् ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१९ का अनुसार कर्णाली प्रदेशमा नवजात शिशुमृत्युदर ११ प्रतिशत रहेको थियो । सो तथ्यांकअनुसार शिशु मृत्युदर २७ प्रतिशत र पाँच वर्ष मूनिका बालमृत्युदर ३० प्रतिशत रहेको थियो । पछिल्लो समय यो तथ्यांक बढेको छ ।
मातृ तथा बाल स्वास्थ्यमा सुधार
सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाहरूको प्रति एक हजार जीवित जन्ममा एक सय १८ को मृत्यु हुने गरेको थियो भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हालप्रति एक हजार जीवित जन्ममा ३३ को मृत्यु हुनेको स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले देखाएको छ । नेपालमा नवजात मृत्यु दर पछिल्लो दशकमा प्रति एक हजार जीवित जन्ममा २१ जनामा स्थिर रहेको जनाइएको छ ।
हाल नेपालका महिलाहरूले औसतमा करिब दुई सन्तान जन्माउँछन् । विगत साढे दुई दशकमा नेपालमा प्रजनन् दर आधाले घटेको छ । सन् १९९६ मा प्रति महिलाले चार दशमलव ६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर दुई दशमलव एकमा झरेको प्रतिवेदनले दाएको छ ।
सर्वेक्षण अनुसार सर्वेक्षणअघिको दुई वर्षभित्रको समय अवधिमा जीवित जन्मेकाहरू मध्ये ७९ प्रतिशत बच्चाहरू स्वास्थ्य संस्थामा जन्मेका छन् । ७० प्रतिशत महिलाहरूले सुत्केरी भएको दुई दिनभित्र सुत्केरी जाँच गराउने सर्वेक्षणले देखाएको छ ।
त्यसैगरी सर्वेक्षणले बालबालिकाहरूमा आधारभूत खोपको कभरेज बढेको देखाएको छ । सन् १९९६ देखि यता १२–२३ महिनाका बालबालिकाहरूमा आधारभूत खोपको कभरेज बढेको छ, सो समयमा ४३ प्रतिशतले ले आधारभूत खोप पाउने गरेका थिए । तर, सन् २०११ मा ८७ प्रतिशत रहेको आधारभूत खोपको प्रतिशत घटेर सन् २०१६ मा ७८ प्रतिशत हुन आएको र सन् २०२२ मा केहि बढेर ८० प्रतिशत हुन गएको छ । दीर्घकालिन कुपोषणको एउटा संकेत भनेको मानिने पुड्कोपन घटेको पाइएको छ । स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाअनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको छ ।
ई-कर्णाली खबर
२४ भाद्र २०८१, सोमबार ०८:०९