Loading... आजः २६ आश्विन २०८१, शनिबार

आज यी प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध


काठमाडौं – देशभर मनसुनी वायु साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकोले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको अनुसार आज बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

त्यस्तै आज दिनभर देशभर नै धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भने मुसलधारे पानी पर्ने महाशाखाको बुलेटिनमा उल्लेख छ। आज दिउँसो देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीसमेत आउने महाशाखाले उल्लेख गरेको छ।
आज राती पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित पानी पर्छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने जनाइएको छ । त्यस्तै राती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने मुसलधारे पानी पर्ने र तराई भू-भागका केही स्थानहरूमा हावा हुरी आउने जनाइएको छ।

शनिबार र आइतबार पनि देशभर नै मनसुन सक्रिय रहने र देशका अधिकांश स्थानमा सामान्यदेखि मुसलधारेसम्म वर्षा हुने बुलेटिनमा उल्लेख छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा रहेका मानिसले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।