Loading... आजः ६ कार्तिक २०८१, मंगलवार

युद्ध संग्रहालय निर्माण अन्तिम चरणमा


कालीकोट – कालीकोटमा निर्माण भइरहेको पिली संग्रहालय निर्माणको ९५ प्रतिशत काम सकिएको छ । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको एक कालीकोटकै पिली युद्ध मानिन्छ । सोही स्थानमा युद्ध संग्रहालय निर्माण भइरहेको छ ।

कर्णाली प्रदेश सरकारले संग्रहालय बनाउन थालेको हो । बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले युद्ध संग्रहालय निर्माण कार्यलाई निरन्तरता दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा युद्ध संग्रहालय निर्माणको निरन्तरताका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको डिभिजन वन कार्यालय कालीकोटले जनाएको छ । संग्रहालय निर्माणको ९५ प्रतिशत भौतिक प्रगति र ८४ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाइएको हो । अब संग्रहालय निर्माणको पाँच प्रतिशत मात्र काम बाँकी रहेको कार्यालयका इन्जिनियर प्रकाश सेजुवालले बताए । अहिले अन्तिम चरणका शिलेट छाप्ने, शिला लेख्ने काम भइरहेका छन् ।

आर्थिक वर्ष २०७९÷०८० देखि संग्रहालय निर्माणको काम थालिएको हो । अहिले संग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७९ असार २३ गते ठेक्का सम्झौता भएको थियो । श्री कुशेश्वर कन्ट्रक्सन प्रा.लि. काठमाडौंसँग डिभिजन वन कार्याललय कालीकोटले ठेक्का सम्झौता गरेको हो । २०८४ असार २२ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तर सम्झौता अगाडि नै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको इन्जिनियर सेजुवालले बताए । ६ करोड ८९ लाख ९९ हजारमा ठेक्का सम्झौता गरिएको हो । अबको एक महिनामा संग्रहालय निर्माणको काम सक्नेगरी काम भइरहेको छ । अहिले संग्रहालय सजाउने काम भइरहेको छ ।

पिली युद्ध

तत्कालिन शाही नेपाली सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई प्रदेश सरकारले युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागेको हो । खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिली सशस्त्र द्वन्द्वको बेला अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको युद्धको रूपमा लिइन्छ ।

२०६२ साल साउन २३ गते माओवादी र तत्कालिन शाही नेपाली सेनाको दोहोरो भिडन्तमा एक सय तीन जनाको मृत्यु भएको थियो । पिली आक्रमणमा माओवादी पक्षबाट १३ श्रमिक र ६२ जना सैनिक गरी ७५ जना मारिएका थिए भने राज्य पक्षबाट २८ जना माओवादी सैनिक मारिएका थिए । माओवादीबाट मारिएकाहरूको सम्झनामा स्मारकसमेत बनेको छ भने राज्य पक्षबाट मारिएकाको उल्लेख गरिएको छैन । दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउन लागिएको जनाइएको छ ।

‘खारा जनयुद्ध संग्रहालय’को ४० प्रतिशत भौतिक प्रगति

रूकुमपश्चिममा निर्माणाधीन ‘खारा जनयुद्ध संग्रहालय’ निर्माणको काम ४० प्रतिशत सकिएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संग्रहालय निर्माणको काम थालेको हो । रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–६ मा संग्रहालय निर्माण भइरहेको छ । माओवादी द्वन्द्वकालिन गतिविधि झल्काउन ‘खारा जनयुद्ध संग्रहालय’ निर्माण कार्य थालिएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि संग्रहालय निर्माणको काम थालेको थियो । उक्त आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन भएको थियो । त्यतिबेला बजेट कार्यान्वयन भएन । जग्गा प्राप्ति नहुँदा काम अघि बढ्न नसकेको हो । संग्रहालय निर्माणको निरन्तरताका लागि आर्थिक वर्ष २०७६÷०७७ मा पनि सोही हाराहारीमा बजेट विनियोजन गरिएको थियो । उक्त वर्षपनि बजेट कार्यान्वय हुन सकेन ।

यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा तीन करोड बजेट विनियोजन ग¥यो । संग्रहालय निर्माणको काम हुन सकेन बजेट फ्रिज भयो । २०७९÷०८० दुई करोड विनियोजन भएको थियो । उक्त वर्षपनि बजेट कार्यान्वयन हुन सकेन । जग्गा प्राप्ति नहुँदा प्रत्येक वर्ष बजेट विनियोजन भएपनि कार्यान्वयन हुन सकेको थिएन । चार आर्थिक वर्षमा जग्गा प्राप्ति नहुँदा काम अघि बढाउन नसकिएको हो । गत आर्थिक वर्षबाट भने संग्रहालय निर्माणको काम अघि बढेको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले बहुवर्षीय योजनाको स्वीकृत गरी संग्रहालय निर्माणको अघि बढाएको हो । आर्थिक वर्ष २०८०÷०८१ बाट ‘खारा जनयुद्ध संग्रहालय’ निर्माणको काम सुरु गरिएको डिभिजन वन कार्यालय रूकुमपश्चिमले जनाएको छ । गत वर्षमा प्रदेश सरकारले संग्रहालय निर्माणका लागि एक करोड बजेट विनियोजन थियो । गतवर्ष नै बजेट रकमान्तरण गरेर चार करोड उक्त संग्रहालय निर्माणका लागि प्रदेश सरकारले पठाएको थियो । चालु आर्थिक वर्षमा संग्रहालय निर्माणका लागि दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । राष्ट्रिय प्राथमिकतामा राखेर संग्रहालय निर्माणको काम अघि बढाएको प्रदेश सरकारले जनाएको छ । संग्रहालय निर्माणका लागि २०७८ मा विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माण गरिएको छ । त्रिवेणी गाउँपालिका रूकुमपश्चिमले डीपीआर निर्माण गरेको हो । डीपीआर अनुसार १९ करोडको लागत अनुमान छ । यसैगरी वातावरणीय प्रभाव मूल्यांकन समेत स्वीकृत गरेर काम अघि बढाइएको कार्यालयले जनाएको छ ।

अहिले संग्रहालय निर्माणको काम धमाधम भइरहेको डिभिजन वन कार्यालय रूकुमपश्चिमका प्रमुख शेरबहादुर परियारले बताए । तत्कालीन माओवादीको युद्ध भएको खारामा जनयुद्ध संग्रहालय निर्माण गर्न लागिएको हो । जम्बुदिप जे.बी.जी.सँग भ्याटबाहेक ११ करोड ४० लाखमा संग्रहालय निर्माणका लागि ठेक्का सम्झौता भएको छ । २०८० साउन १४ गते ठेक्का सम्झौता गरिएको हो । २०८२ असार ३० गतेसम्म संग्रहालय निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । यो वर्षमा नै काम सम्पन्न गर्नेगरी काम भइरहेको उनको भनाइ छ । हालसम्म ४० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ३० प्रतिशत वित्तीय प्रगति हासिल गरिएको छ ।

खाराको त्यो लडाइँ

दक्षिण–पश्चिम रूकुमको पहाड खारामा सैनिक अड्डा अवस्थित थियो । रूकुम जिल्लालाई माओवादी प्रभावित र आधार इलाका मानिन्थ्यो । यो ब्यारेक सेनाको जिल्ला मुख्यालय, मुसिकोटबाट करिब १६ किलोमिटरको हवाई दूरीमा रहेको थियो । यो सैनिक अड्डामाथि २०५९ जेठ १३ मा पहिलो आक्रमण भएको थियो । खाराको दोस्रो लडाइँ २०६१ चैत २५ रातिदेखि २६ बिहानमा खारा, रूकुम स्थित सैन्य अड्डामा भएको लडाई थियो । यो नेपाली गृहयुद्धको प्रमुख लडाइ थियो । ठूलो युद्ध भएकै क्षेत्रमा संग्रहालय निर्माण गर्न लागिएको हो ।