Loading... आजः २५ मंसिर २०८१, मंगलवार

जनताका सवाल प्रति सरकारलाई सचेत बनाउन युवा संकल्प यात्रा–कांग्रेस युवा नेता शाही


सुर्खेत – नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले जनताका मुद्धामा बर्तमान सरकारको ध्यान नपुगेको बताएका छन् । पुर्वको मेचीनगरदेखी पश्चिम महेन्द्रनगरसम्मको युवा संकल्प यात्रा अन्तरगत आईतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
युवा संकल्प यात्राका संयोजक समेत रहेका युवा नेता शाहीले मुलुकमा बढिरहेको भ्रष्टाचार न्यूनिकरण, युवा बेरोजगारी, मुल्यबृद्धि जस्ता जनजीवीकाका सवालहरुमा बर्तमान सरकारले ध्यान नदिएको बताए । उनले भने, हामीले युवा संकल्प यात्रा मार्फत आफ्नै पार्टी समिलित सरकारलाई जनताका मुद्धामा खबरदारी गर्नका लागि युवा संकल्प यात्राको थालनी गरेका हौँ । हामी आफ्नो पार्टीका कमीकम्जोरीहरु लुकाएर नेताको भक्तिगान गाउन आएका होईनौँ । यो युवा संकल्प यात्राको मुख्य उद्देश्य भनेकै युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मुलन र सुशासन, महंगि र मुल्य बृद्धि नियन्त्रण, हरेक क्षेत्रमा युवाको अर्थपुर्ण प्रतिनिधित्व, नागरिकमैत्री सरकार, बिभिन्न संघ संस्था तथा सहकारी ठकहरुलाई कानुनी कारबाही, सहकारी पीडितलाई उचित राहत, युवा उद्यमशीलता र नैतिबक मुल्यमान्यताको राजनीति लगायतका मुलुकका जल्दाबल्दा मुद्धाहरुमा सरकारलाई खबरदारी गर्नु हो ।
उनले नयाँ शक्ति र नयाँ पार्टी भन्नेहरुले सहकारी ठगिमा आरोपित आफ्नो नेतृत्वलाई बचाउन सडक आन्दोलन गरेको भन्दै आफुहरु सबै पार्टीमा रहेका गठ र भ्रष्टहरुलाई कारबाहीको माग गरिरहेको बताए । उनले भने, हामी नयाँ भन्नेहरु आफ्नो नेतृत्वको अपराध लुकाउन र कारबाही गर्नबाट बचाउन सडक आन्दोलन गरिरहेका छन् । तर हामी जोसुकै किन नहोस अपराध गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ भनेर आफ्नै पार्टी सहभागी भएको सरकारलाई खबरदारी गरिरहेका छौँ । नयाँ भन्नेहरु र अन्य पार्टी भन्दा हामी कांग्रेसमा फरक यही हो । यो कुरा जनतालाई बुझाउनु युवा संकल्प यात्राको अर्को महत्वपुर्ण उद्देश्य हो । उनले जुनसुकै पार्टीका नेतृत्वहरु कसरी कुर्चमा जाने र आफ्नो व्यक्तिगत हित कसरी गर्ने भन्ने कुरामा मात्र सीमित भएको भन्दै युवा संकल्प यात्रा मार्फत जनताका सवालमा गम्भीर रुपमा ध्यान दिन सरकारलाई खबरदारी गर्न थालिएको बताए ।
नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री खड्ग बस्याल, नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी, वीरेन्द्रनगर नगरसभापती उपेन्द्र खड्का, पुर्व क्षेत्रीय सभापति नारायण कोईराला लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली कांग्रेस इलामकी महासमिति सदस्य एवं युवा नेतृ प्रेमिका रानाले जनताका कुरा सुन्न, जनता र युवाहरुका सवाल प्रति सरकारलाई झकझक्याउन युवा संकल्प यात्रा सुरु गरिएको बताईन् । उनले भने, मुलुक र जनताका सवालहरुमा नेपालका राजनीतिक दल र सरकारहरुले बेवास्था गरेकै कारण राजनीति प्रति नागरिकको विस्वास घटिरहेको छ । सरकार र राजनीति प्रति जनताको आशा र विस्वास जोगाउन हामीले यो जनताका सवाल उठान गर्ने अभियानको सुरु गरेका हौँ । हामी आफ्नो र पराई नभनेर सरकारले अपराध गर्नेलाई कारबाही र जनताका समस्या र मुद्धाहरुको सम्बोधन गर्नका लागि दबाब दिदै आएका छौँ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डिल्ली बुढाथोकी, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य जगतजंग बिष्ट लगायतका वक्ताहरुले मुलुकका तीनवटै तहका सरकारहरुले जनताको मुद्धामा गम्भीर बन्न आग्रह गरे । उनीहरुले जनताको जनप्रतिनिधि बनेर सत्ता चलाईरहेकाहरु आफ्नो व्यक्तिगत स्वार्थ केन्द्रीत हुँदा जनताका सवाल ओझेलमा परिरहेको बताउदै यस प्रति गम्भीर समिक्षा गरेर जनताका सवाल केन्द्रीत बन्न सुझाव दिए । गत कात्तिक २३ गतेबाट पुर्वको मेचिनगरदेखी सुरुवात गरिएको युवा संकल्प यात्रा यही मंसिर ४ गते पश्चिम महेन्द्रनगरमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।