माओबादीमा देखिएको राजनीतिक बिचलनताले कांग्रेस–एमाले गठबन्धन बन्यो – कांग्रेस प्रवक्ता महत
सुर्खेत – नेपाली कांग्रेसका पार्टी प्रवक्ता एवं पुर्व अर्थमन्त्री प्रकाशसरण महतले माओबादीमा देखिएको राजनीतिक अस्थिरताका कारण अहिलेको गठबन्धन निर्माण भएको बताएका छन् । मुलुक उप निर्बाचनको माहोलमा रहेका बेला कर्णाली भ्रमणमा आएका कांग्रेस केन्द्रीय सदस्य महतले सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
उनले माओबादीलाई प्रधानमन्त्री दिदा पनि राजनीतिक स्थितायित्व नभएका कारण कांग्रेस एमालेको गठबन्धनको सरकार निर्माण भएको बताए । उनले भने,“हामीले चुनावी तालमेल माओबादी केन्द्रसँग गरेका थियौँ । माओबादीसँगै सत्ता सहकार्य गरेका हौँ । तर माओबादी केन्द्रमा राजनीतिक बिचलन्ता आएर कहिले कांग्रेस त कहिले एमाले तिर लाग्ने समस्याले गर्दा अहिलेको गठबन्धन निर्माणमा सहयोग पुगेको हो ।”
उनले नेपाली कांग्रेसले माओबादीसँग गरेको सत्ता सहकार्य सुखद नभएको बताए । उनले भने, “कांग्रेसले माओबादीसँग गरेको सत्ता सहकार्य सुखद भएन् । सरकारको नेतृत्व गरेको माओबादीमा राजनीतिक अस्थिरता र बिचलनता देखियो । यसको प्रभावले गठबन्धन पटक पटक फेरबदलहरु पनि भए । यसैको परिर्णाम मुलुकमा राजनीतिक स्थायित्व, संबिधान संसोधन, विकास र समृद्धि दिनका लागि कांग्रेस एमालेको गठबन्धन निर्माण भएको हो ।”
उनले आगामी निर्बाचनहरुमा नेपाली कांग्रेस एक्लै लड्ने बताए । उनले भने, “विगतमा माओबादीले कांग्रेसले गरे कांग्रेस तिर नगरे एमालेतिर गठबन्धन गर्ने भएकाले हामीले पनि गठबन्धन गरेका हौँ । अहिलेको गठबन्धनको सरकार निर्माण गर्ने बेला नै अबको निर्बाचनमा एमाले कांग्रेस दुवैले माओबादी केन्द्रसँग आगामी निर्बाचनमा गठबन्धन नगर्ने भनेर सहमति गरेका छौँ । हामी आफ्नै पाटीको वलमा निर्बाचनमा स्वच्छ प्रतिपर्धा गर्नेछौँ ।”
कर्णालीका बिभिन्न जिल्ला भ्रमणगरी सुर्खेत पुगेका कांग्रेस नेता महतले उपनिर्बाचनमा कांग्रेस प्रतिको नागरिक उत्साह राम्रो देखिएको बताए । उनले भने, “रुकुम रोल्पा र जाजरकोट जस्ता द्धन्द्ध प्रभावित जिल्लामा पनि कांग्रेस प्रतिको जनताको उत्साह राम्रो देखियो । कार्यकर्ता पनि उत्साही छन् । उप निर्बाचनमा कांग्रेसकै पक्षमा परिर्णाम आउने सम्भावना छ ।” द्धन्द्ध प्रभावित जिल्लाहरुमा नेपाली कांग्रेस र एमालेका सशष्त्र द्धन्द्धका बेलादेखी एकै खालका घाउहरु रहेकाले पनि कांग्रेस एमाले सहकार्य प्रति स्थानिय नेता तथा कार्यकर्ताहरु पनि खुसी भएको पाईएको उनले बताए ।
उनले अहिलेको सरकार प्रति जनताको अपेक्षा धेरै रहेपनि हाम्रो श्रोत साधन प्रयाप्त नहुँदा सबै अपेक्षाहरु पुरा गर्न चुनौती रहेको बताए । उनले भने, “एमाले नेतृत्वको सरकारले राम्रो काम गरेको छ । तर जनताका सबै अपेक्षाहरु पुरा गर्न भने चुनौती छ । तर पनि नेपाली कांग्रेसले सरकारलाई देश र जनतालाई केन्द्रमा राखेर प्रभावकारी कार्यसम्पादन गर्न सहयोग गरिरहेको छ । सरकारका कामहरुलाई प्रभावकारी बनाउन स्वयम प्रधानमन्त्रीको भुमीका धेरै हुन्छ । यस प्रति प्रधानमन्त्री ज्यूपनि गम्भीर हुनुहुन्छ ।”
प्रवक्ता महतले चिनिया सरकारको सहयोग बिआरआई परियोजना ऋणका रुपमा नेपालले स्वीकार नगर्ने बतटाए । उनले भने, “कोरोना महामारीपछि चिनिया सरकारले दिने भनेका अनुदानका प्रतिबद्धताहरु कार्यन्वयन भएका छैनन् । त्यसै प्रतिबद्धताहरुलाई कार्यन्वयन गर्नेगरी बिआरआई परियोजनालाई पनि अनुदानका रुपमा हामी स्वीकार गछौँ । पछिल्लो समय नेपाल प्रति बैदेशीक ऋणको भार पनि बढिरहेकाले बैदेशिक ऋण सन्तुलनमा राख्न थप ऋण नलिने हाम्रो चाहाना हो । तर बिआरआई अस्वीकार भने गर्दैनौँ । ऋण नभई अनुदानका रुपमा चिन सरकारले दिनुपर्छ ।”
उनले सहकारी ठगलाई सरकारले कानुन बमोजिम कारबाही गर्ने बताए । कांग्रेस बिधि मान्ने पार्टी हो । कुनै पनि सवाललाई कानुनी बाटोबाट सुल्झाउनुपर्छ । पुर्वअर्थमन्त्री समेत रहेका महतले भने, “हामी आफ्नै पार्टीका कुनै नेतालाई आरोप लागेपनि संस्थागत रुपमा कहिलै जोगाउन लागेनौँ । अहिले पनि लाग्दैनौँ । सहकारी ठगीको बिषय त अदालतमा चलिरहेको छ । त्यो अदालतले फैसला गर्ने कुरा हो । अदालतको निर्णय प्रभावित बनाउने खासका कुनै पनि गतिबिधिहरु कसैले पनि गर्नुहुदैन् ।” उनले द्धन्द्धका बेला टाउका काट्ने माओबादीसँग त कांग्रेसले राजनीतिक सहकार्य गरेको बताउदै रास्वपा सभापति रबी लामिछाने र रास्वपा प्रति कुनै पुर्वाग्रह नरहेको बताए । उनले सहकारी ठगीको बिषयमा कांग्रेस निष्पक्ष छानविनको पक्षमा रहेकोमा जोड दिए ।
ई-कर्णाली खबर
४ मंसिर २०८१, मंगलवार १७:०९