प्रायोजित अराजकताविरुद्ध एमालेको जागरणसभा
काठमाडौं – सत्तासीन एमालेले प्रायोजित अराजकता चिर्न राजधानीमा जागरणसभा गर्न लागेको स्पष्ट गरेको छ। एमालेले मंसिर ७ (शुक्रबार) गते सभा गर्दै छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सभाको सम्बोधन गर्ने छन्। पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रायोजित अराजकता चिर्नका लागि जागरण सभा गर्न लागेको बताए।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने स्पष्ट पारे। ज्ञवालीले अराजकता मौलाउँदा अलोकतान्त्रिक शक्ति सलबलाउने बताए। उनले भने, ‘अराजकता र लोकतन्त्र सँगै जान सक्दैनन्, अराजकता मौलायो भने भ्याक्युमभित्र अलोकतान्त्रिक तत्वले खेल्छन्। अहिले देश बन्दैन भनेर सामाजिक अराजकता फैलाई जनतामा निराशा छर्ने प्रयास भइरहेको ज्ञवालीले बताए। उनले अराजकता र अस्थिरता चाहनेहरू एक ठाउँमा आउन खोजिरहेका बताए। दुर्गा प्रसाईंको फेक डकुमेन्ट यसको पछिल्लो उदाहरण भएको उनले बताए।
दरबारमार्गमा हुने जागरण सभामा एक लाख मानिस सहभागी हुने दाबी गरेको छ।उनका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निस्कनेछ। एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले सभाको आयोजना गरेका हुन्। बागमती प्रदेशअन्तर्गतका वडा तहसम्म अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ।
माओवादीसँगको गठबन्धन असफल
उनले विगत माओवादीसँग भएको गठबन्धनको अभ्यास असफल भएपछि कांग्रेस एमाले मिलेर सरकार बनाएको स्पष्ट पारे। २००६ सालदेखि परिवर्तनका मुख्य संवाहक कांग्रेस र एमाले नै भएको बताउँदै उनले अहिले पनि अराजकता र अस्थिरता अन्त्यका लागि दुई दल एक ठाउँमा उभिएको बताए।
कांग्रेस एमाले नमिल्दा माओवादी अध्यक्ष प्रचण्डले अस्थिरतामा खेलिरहेका कारण दुई दल एक ठाउँमा उभिन बाध्य भएको उनले स्पष्ट पारे। उनले भने, ‘दुई दल प्रतिस्पर्धामा रमाइरहने प्रचण्डले जादु नम्बर खेलाइरहने देखिएपछि हामी मिलेका हौं।’
एमाले उपमहासचिव ज्ञवालीले सरकारबाट हट्नेबित्तिकै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेक खालका तिकडम अपनाउन थालेको आरोप पनि लगाए। उनले दिइरहेका प्रचण्डका अभिव्यक्तिहरूप्रति आपत्ति जनाउँदै अराजकता सिर्जना गर्नमा उनको भूमिका रहेको संकेत गरे।
‘प्रचण्डको अभिव्यक्ति खेदजनक छ। कहिले बंगलादेश बनाउने भन्ने, आफ्नै प्रदेश सांसदहरूले गरेको निर्णयविरुद्ध कोशीमा आन्दोलन गर्ने गरिराख्नुभएको छु,’ उपमहासचिव ज्ञवालीले भने, ‘अस्ति हिन्दूमा जे शब्द प्रयोग गर्नुभयो त्यो खेदजनक छ।’ सरकारको ४ महिनाको अबधिको सरकारले गरेको काम कारबाहीको पनि चर्चा गरे। यो अबधिमा राजनीतिक, अर्थतन्त्र र कूटनीतिको विषयमा केही सुधारका संकेत देखिएको दाबी गरे। उनले अर्थतन्त्रमा क्रमिक रूपमा सुधार हँुदै गएको दाबी गरे।
उनले सेयर बजार सुधारलाई पनि सरकारको उपलब्धिमा राखे। सरकारले सुशासनको पक्षमा कदम चालिरहेको पनि बताए। उनले सहकारी ठगीको विषयमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन भइरहेको जानकारी दिए। उनले सहकारी समस्या समाधानका तीन पाटा सहकारी ठगीमा दोषी कारबाही, नियमन, पीडितलाई राहत, न्याय दिने भएको बताए। १० हजार सहकारी पीडितलाई राहत वितरण गरेको पनि जानकारी दिए।
संलग्नहरूलाई निर्ममतापूर्वक कारबाही सुरुवात गरेको छ। उनले विधिको शासनमा गल्ती गर्ने सबै कारबाहीका भागिदार हुने बताए। एमालेले आफ्नै पार्टीको कोशी प्रदेशका मन्त्रीलाई तत्काल पदमुक्त गरेको उदाहरण पनि पेस गरे। उनले भने, ‘यो विधिको शासन हो, कुनै पार्टीको सभापति पूर्वगृहमन्त्री भएकाले छुट्ने कुरा हुँदैन, जुन पार्टीको भए पनि कारबाही भोग्नुपर्छ।
एमालेको राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेसँग कुनै प्रतिस्पर्धा नै नभएको ज्ञवालीको दाबी छ। उनले एमालेले रास्वपा र रवि लामिछानेलाई फसाउनु पर्ने कुनै कारण नभएको स्पष्ट पारे।
‘रास्वपासँग हाम्रो प्रतिस्पर्धा होइन किन फसाउनु’, उनले भने, ‘उहाँ निर्दोष भए न्याय पाइहाल्नु हुन्छ नि !’ सरकार विस्तारै बेतिथिलाई थितितिर, मुलुकको अस्थिरतालाई स्थिरता ल्याउने, अर्थतन्त्रलाई शिथिलताबाट गतिशीलतामा ल्याउन लागिरहेको बताए। सबै बेथिति, भद्रगोल, सामाजिक अराजकता पैदा गर्न काम भइरहेको उनले बताए। उपमहासचिव ज्ञवालीले सरकारमा हुने दलहरूले देश बन्दै छ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिन सक्नुपर्ने बताए।
बीआरआईको विषयमा प्रधानमन्त्री चीन जानुअघि समझदारी हुन्छ
उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईबारे प्रधानमन्त्री चीन जानुअघि समझदारी हुने बताए। उनले बीआरआईबारे कांग्रेस र एमालेको बुझाइमा फरक–फरक भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि एउटा समझदारीमा पुग्ने जिकिर गरे। उपमहासचिव ज्ञवालीले अहिले गिजोल्ने प्रयास गरेको बताए।
उनले भने, ‘यो ऋणलाई हेरौं, धेरै महँगो रहेछ भने चीनसँग मात्रै होइन, अमेरिका र भारतसँग पनि लिनुहुन्न। सस्तो हुन्छ भने जहाँबाट लिँदा पनि हुन्छ। अहिले छलफल गरिरहेका छौं। अलिअलि डिफरेन्सेस भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं।’
ई-कर्णाली खबर
६ मंसिर २०८१, बिहीबार ०८:५०