हामीबाट गल्ती भएकै हो, पार्टी एकता कायम राख्न सकेनौं : प्रचण्ड
म्याग्दी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन्। माओवादी केन्द्र म्याग्दीले बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरे।
‘हामीले पार्टी एकता कायम राख्न सकेनौं। हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं। म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो। अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौं,’ उनले भने।
पार्टीले के-के राम्रा काम गर्यो? कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरूपमा जनताका बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए।
‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं। बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो। फेरि अब हामीले त्यो घेरा तोडेका छौं,’ उनले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं। हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ। ८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ। म अहिले यही अपीलका साथ देशब्यापी अभियानमा हिंडेको छु। अब चाँडै सिंगो पार्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।’
आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए। आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको पनि उनले स्पष्ट गरे।
नेपालको असंलग्ल परराष्ट्र नीतिलाई थप मजबुत बनाउन आफूले छिमेकीदेखि अन्तर्राष्ट्रिय स्तरमा पहल थालेको उल्लेख गर्दै अध्यक्ष उनले भने, ‘मैले भारत भ्रमण गर्दा पहिलोपटक भारतीय प्रधानमन्त्रीले आफ्नै मुखबाट सीमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो। भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत बिक्री गर्ने र भारत हुँदै बंगलादेशसम्म विद्युत् बिक्री ऐतिहासिक सम्झौता भयो, यी काम नेपालको इतिहासमा पहिलोपटक भएका हुन्।’
आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठ वटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत् ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए। आफूले संयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट स्पष्ट दृष्टिकोण राखेपछि यसले विश्वब्यापी प्रभाव छाडेको स्मरण गराए। उनले आफ्नो एउटा निमन्त्रणाको आधारमा संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आएर विश्व समुदायलाई सम्बोधन गर्ने घटना नेपालका लागि ऐतिहासिक परिघटना भएको बताए।
ई-कर्णाली खबर
२२ माघ २०८१, मंगलवार १६:३१