रासायनिक विषादीको प्रयोग बढ्दै
सुर्खेत – अर्गानिक प्रदेशको आधार तय भएको कर्णालीमा रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले बढी उत्पादनको लोभमा बढ्दै गएको रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने भन्दै जैविक विषादीतर्फ उन्मुख हुनुपर्नेमा पनि जोड दिएका छन् । एकीकृत कृषि प्रयोगशाला सुर्खेतले आयोजना गरेको रासायनिक विषादी न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने र त्यसका लागि सबै पक्षहरू सचेत हुनुपर्ने जनाइएको छ ।
कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले बढी कृषि उत्पादन गर्ने लोभमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको पाइएको बताए । उनले कर्णाली प्रदेश सरकारले प्राङ्गारिक प्रदेशको आधार तय गर्न सात वर्षअगाडि निर्णय गरिसकेको तर रासायनिक विषादीको प्रयोग बढ्दै गइरहेको पाइएकाले अब त्यसको प्रयोग घटाउनुपर्ने बताए।
किसानलाई रासायनिक विषादीको सट्टा जैविक विषादीमा सहयोग गर्नुपर्नेमा जोड दिँदै साबिकको कर्णाली अञ्चलका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा रासायनिक विषादीको प्रयोगमा रोक लगाइएको बताएका छन् । उनले ती जिल्लामा रासायनिक विषादीमा रोक लगाउँदै बिक्रीको अनुमति नदिइएको र प्राङ्गारिक कृषिमै उत्पादन गर्न सहयोग गरिएको जनाए । साथै कर्णाली प्रदेशका सुर्खेतसहित, दैलेख,सल्यान,जाजरकोट र रुकुमपश्चिममा पनि रासायनिक विषादीलाई न्यूनीकरणका लागि विभिन्न विकल्प खोजिएको सचिव रावतको भनाइ छ ।
उनले कर्णाली प्रदेशमा भित्रिने तरकारीको विषादी परीक्षणका लागि सुर्खेतको बबई र सल्यानको कपुरकोट नाकामा विषादी परीक्षण प्रयोगशालालाई छिट्टै सञ्चालनमा ल्याइने जानकारीसमेत दिए । रासायनिक विषादीको प्रयोग नगर्न उनले किसानलाई सुझावसमेत दिए । कर्णालीमा करिब ५० प्रतिशत माटो अस्वस्थ रहेको देखिएको हुँदा प्रत्येक बालीपछि माटो परीक्षण पनि गर्नुपर्ने उनको भनाइ छ ।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले रासायनिक विषादी क्यान्सर रोगका कारक भएकाले प्रयोगलाई हतोत्साही गर्नुपर्ने बताए । उनले कर्णालीको सुर्खेतको वराहताल कुनाथरीको नयाँवन,दैलेखको नारायण नगरपालिका र सल्यानको कपुरकोटमा प्राङ्गारिक कृषिबारे सचेतना दिँदै घरेलु तथा जैविक विषादीको प्रयोगबारे जानकारी गराइने जनाए । हालसम्म एक सयको हाराहारीमा शुद्ध प्राङ्गारिक कृषि खेती गर्ने कृषक भएको पाइएको भन्दै उनले रासायनिक विषादीको प्रयोगलाई घटाउँदै लैजाने प्रयास पनि थालिएको उल्लेख गरे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बालीविज्ञ वेदप्रसाद चौलागाईंले उत्पादन बढाउन प्रयोग गरिने रासायनिक विषादी औषधी नभई विष भएको बताए । रासायनिक विषादीको प्रयोग गर्नुपर्ने बाध्यता रहे पनि स्थानीय, प्रदेश र सङ्घ सरकारले पनि रासायनिक विषादी प्रयोगलाई कमी ल्याउन सचेतनाका कार्यक्रमहरू ल्याउनुपर्ने उनको भनाइ छ ।
ई-कर्णाली खबर
२३ फाल्गुन २०८१, शुक्रबार ०७:१५