आपत विपदमा सहकारीको सहयोग
सुर्खेत – पछिल्लो समय केही गलत व्यक्तिले नेतृत्व गरेका सहकारीहरुका कारण सहकारीको बद्नाम भईरहेको छ । कतिपय मानिसहरुले त सहकारी भन्ने बित्तिकै मानिसहरुले पसिना बगाएर कमाएको पैसा जम्मा पारेर फिर्ता लिन सास्ती भोग्ने संस्थाका रुपमा लिन्छन् । तर सुर्खेतमा एक यस्तो सहकारी छ । जसले आफ्ना सदस्याहरुको आपत विपद्को सारथी बन्दै आएको छ । त्यो हो सुर्खेत बहुउद्येश्यीय सहकारी संस्था ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नंं ६ का बालकृष्ण भट्टराई क्यानसर पीडित भएर काठ्माण्डौको मेट्रो अस्पतालमा उपचार गराईरहेका छन् । उनी सुर्खेत बहुउद्येश्यीय सहकारी संस्थाका शेयर सदस्य हुन् । उनलाई क्यानसर भएको भन्ने अस्पतालले बताएपछि सुर्खेत बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्णबहादुर नेपाली, सचिव मिलन श्रेष्ठ, कोषाध्यक्ष सुरेश गौतम, सदस्य चन्द्राकुमारी खड्का लगायतका पदाधिकारी सदस्यहरु सुर्खेत भट्टराईको घरमै पुगेर बिरामी बालकृष्णकी धर्मपत्नी गिता भट्टराईलाई ५० हजारको चेक हस्तान्त्रण गरे । उनीहरुले चेक हस्तान्त्रणका साथै क्यानसर पीडित आफ्नो सहकारीका शेयर सदस्य बालकृष्णको पुर्ण स्वास्थ्य लाभको कामना परे गरे । बालकृष्णकी पत्नी गिता भट्टराईले आफ्नो श्रीमान बिरामी पर्दा उपचारका लागि सहयोग गर्ने सहकारीलाई भावुक हुँदै धन्यबाद दिईन् ।
सुर्खेत बहुउद्येश्यीय सहकारी संस्थाले बालकृष्णको परिवारलाई मात्र होईन् । आफ्नो सहकारीको शेयर सदस्य भएका जो कोही व्यक्तिलाई पनि घातक रोग देखा परेमा प्रति व्यक्ति ५० हजारका दरले सहयोग गर्दै आएको छ । संस्थाका अध्यक्ष पुर्णबहादुर नेपालीले भने, ‘हाम्रो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सरकारले सुचिकृत गरेका १८ प्रकारका घातक रोगहरु लागेको पहिचान भएमा डाक्टरको रिपोर्टका आधारमा हरेक व्यक्तिलाई ५० हजारका दरले उपचार खर्च दिदै आएको छ । उहाँहरुको बचत छ भने तत्कालै फिर्ता पनि गर्ने गरेको छ । यसअघि हाम्रा शेयर सदस्यहरु गणेशबहादुर बटाला, लोकप्रसाद दाहाल सहितका धेरै शेयर सदस्यहरुले पनि यो सुविधा लिनु भएको छ ।’
उनका अनुसार यसबाहेक यो सहकारीबाट शेयर सदस्यको पत्नी सुत्केरी भएमा प्रति व्यक्ति ३ हजार दुई पटकसम्म, मृत्यु भएमा शेयर सदस्यको पुजिको आधारमा ५ हजारदेखी १ लाखसम्म, सदस्यको दुर्घटना बिमा २ लाख, कर्णाली केयर अस्पतालसँगको सम्झौता अनुसार सदस्यहरु बिरामी पर्दा ५ देखी ३० प्रतिशतसम्म छुट, सदस्यहरुले लिएको ऋण बराबरको दुर्घटना बिमा जस्ता राम्रा अभ्यासहरु गरिरहेको छ । यसले सानो रकम शेयर हालेर बचत गरिरहेका सदस्यहरुले पनि निकै लाभ लिएका छन् । २०५८ सालको साउनबाट संचालन भएको उक्त सहकारीको हालसम्म शेयर पुजिमात्र ६ करोड ५० लाख छ । दैनिक औसत बचत ५ लाख बराबर उठ्छ । जसबाट सदस्यहरुले भनेका बेला नियमअनुसार ऋण पनि लिने गरेका छन् ।
सहकारीका सचिव मिलन श्रेष्ठले भने, ‘सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सीमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था हो । हामीले त्यसै अनुसार सहकारीको संचालन तथा व्यवस्थापन गरेका छौँ ।’ उनले सहकारीको सही व्यवस्थापन र परिचालन गर्ने हो भने आर्थिक जोखिमको न्यूनिकरणका साथै जीवीकोपार्जनमा ठुलो राहत पुग्ने बताए ।
ई-कर्णाली खबर
५ चैत्र २०८१, मंगलवार १७:२२