Loading... आजः १५ बैशाख २०८२, सोमबार

राजावादीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने एमालेको उद्घोष


काठमाडौं – नेकपा एमालेले प्रतिगामी गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। पार्टी महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकमार्फत सम्बोधन गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै प्रतिगामी गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।
तीन महिने वडाकेन्द्रित अभियानलाई विस्तार गर्दै एमालेले चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। चैत १८ गते देशका विभिन्न प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली र जिल्लास्तरीय जागरण सभा आयोजना गरिने एमालेले जानकारी दिएको छ।

त्यस्तै चैत २४ देखि ३० गतेसम्म धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष जनप्रदर्शन र आमसभा गर्ने निर्णय एमालेले गरेको छ। महासचिव पोखरेलले जनचेतना अभियानलाई तथ्यमा आधारित बनाई संविधान, लोकतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायका उपलब्धिहरूको बचाउ गर्न विशेष ध्यान दिनुपर्ने बताए।