अब नेपालकै नेसनल कार्ड स्विच, बर्सेनि साढे ८४ करोड जोगिने
काठमाडौं : वर्षौंदेखि नेपालको आफ्नै राष्ट्रिय भुक्तानी स्विचको डोमेस्टिक कार्ड ल्याउने पहल सफल भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोमबारदेखि नेपाल पेमेन्ट स्विचअन्तर्गत ‘नेपाल पे कार्ड’ सञ्चालनमा ल्याएको छ । यो नेपालकै भुक्तानी कार्ड प्रणाली हो ।
एनसीएचएलले एनपिएस–नेसनल कार्ड स्विच र डोमेस्टिक कार्ड स्किम (नेपाल–पे कार्ड)को पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्डको औपचारक सुरुवात गरे ।
आगामी चैत २५ गते ५ वर्षे कार्यकाल सकिन लागेका गभर्नर अधिकारीले सेरेमोनियल नेपाल–पे कार्डबाट कन्ट्रोल इन्भाइरोमेन्टमा पस (पीओएस) र एटीएमबाट कारोबार गरी एनपिएसको तयार भएको पूर्वाधारको सार्वजनिक गर्न पाएकोमा एनसिएचएलप्रति आभार व्यक्त गरे । नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम भएसँगै यसले डिजिटल भुक्तानी प्रणाली तथा डिजिटल पूर्वाधारमा विकास भएको दाबी गर्छन् गभर्नर अधिकारी ।
यसभित्र रहेर डिजिटल भुक्तानीका थुप्रै काम हुने वातावरण बनेको छ । हालसम्म अन्तर्राष्ट्रिय कार्डको प्रयोगले राज्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लागत बढिरहेको अवस्थामा आफ्नै देशको स्विचअन्तर्गतको कार्ड मुलुकका लागि फलदाइ हुने गभर्नर अधिकारीको तर्क थियो । यसैक्रममा उनले छिमेकी मुलुक भारतको उदाहरण दिँदै भने, ‘भारतमा डोमेस्टिक कार्ड रु–पे कार्ड लागू भएपछि करिब ६० प्रतिशत जनसंख्याले प्रयोग गरेका छन् ।
यसले राज्यको लागत कम गरेको छ । नेपालमा पनि नेसनल स्विचबाट बचत हुन्छ । पछिल्लो कारोबारको स्थिति हेर्दा १ महिनामा ६ खर्ब रुपैयाँको रिटेल भुक्तानी भएको छ । यसबाट कारोबार गर्दा सहज र लागत कम पर्न जान्छ । अझ एनसिएचएलले ५ सयसम्मको रिटेल भुक्तानीको मोडेल प्रयोग गरेर ल्याउँदै छ ।’
अन्तर्राष्ट्रिय स्विच कार्डमार्फत कति रकम बाहिरिन्छ ?
स्वदेशकै कार्ड भएपछि अन्तर्राष्ट्रिय स्तरको कार्ड प्रयोगबापतको सेवा शुल्कमा बर्सेनि बाहिरिँदै आएको करोडांै रकम अब जोगिने भएको छ । साथमा बैंक तथा वित्तीय संस्था र ग्राहक दुवैलाई खर्च कम पर्न जाने र कारोबारलाई छिटो र सुरक्षित बनाउने उद्देश्य राखेको एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान बताउँछन् ।
नेपालले डिजिटल भुक्तानीको यो फड्को ऐतिहासिक भएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूका ग्राहकको कारोबारलगायतको तथ्यांक पनि स्वदेशमै सुरक्षित हुने भएको छ । यसले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्न र संसारभरीका करिब ९० राष्ट्रमा डोमेस्टिक कार्ड प्रयोग गरेकोमा नेपाल थपिएर ९१ औं मुलुक भएको उनले जानकारी दिए ।
हालसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा प्रयोग हुने डेबिट, क्रेडिट र प्रिपेड कार्डहरू अन्तर्राष्ट्रिय संस्थाको लगानीमा सञ्चालित छन् । जसमा भिसा कार्ड, मास्टर कार्ड, युनियन–पे जस्ता अन्तर्राष्ट्रिय कार्डबाट सञ्चालित हुँदा सेवा शुल्कबापत नेपालबाट बर्सेनि औसत ८४ करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको रकम बिदेसिँदै आएको छ ।
नेपाल राष्ट्र बैंकको गत वर्षको तथ्यांकअनुसार भिसा कार्ड प्रयोग वापतको सेवा शुल्क मात्रै ६४ करोड २ लाख ४० हजार रुपैयाँ हाराहारीको रकम विदेशीएको थियो । यसैगरी क्रमशः मास्टर कार्ड प्रयोगवापतको सेवा शुल्कबाट २० करोड २६ लाख ४० हजार र युनियन–पेको प्रयोगबापत २५ लाख ७० हजार रुपैयाँ बराबरको रकम बर्र्सेेनि बिदेसिने गरेको छ ।
अब भने नेपालले आफ्नै नेसनल पेमेन्ट स्विचबाट डोमेस्टिक काडअन्तर्गत सबै बैंक तथा वित्तीय संस्थाले देशकै कार्ड जारी गरेपछि स्विचिङ र सेटलमेन्टको काम स्वदेशभित्रै हुने भएकाले वर्षेनि बाहिरिने करोडौं रुपैयाँ स्वदेशमै रहने राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बताउँछन् ।
झन्डै डेढ करोड अन्तर्राष्ट्रिय कार्ड जारी
अहिलेसम्म नेपालमा डेबिट कार्ड मात्रै १ करोड ३४ लाख ५७ हजार, क्रेडिट कार्ड ३ लाख ८ हजार र प्रिपेड कार्ड २ लाख २८ हजारको संख्यामा जारी भएको छ । उक्त सबै कार्ड अन्तर्राष्ट्रिय स्विचअन्तर्गतका कार्डहरू नेपालका बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका छन् । कार्यकारी निर्देशक पौडेल भन्छन्, ‘अब नेपालको आफ्नै स्विच भएको अवस्थामा ठूलो हिस्सामा रहेका ती कार्डहरू नेपालको डोमेस्टिक कार्ड स्किमअन्तर्गतका कार्डहरू जारी हुनेछन् ।
यसको मुख्य उद्देश्य भनेकै नेपाल भित्रै त्यसको सेटलमेन्ट र राउटिङ हुनेछ । यसले नेपालभित्रका तथ्यांकहरू तथा बैंक तथा वित्तीय संस्थाका ग्राहकले गरेको कारोबारको तथ्यांक मुलुकभित्रै रहनेछन् ।’ यससँग सबैभन्दा ठूलो पक्ष नेपालले इन्टरनेसनल स्विच प्रयोग गर्दा त्यो वापत स्विचङ लगायतका विभिन्न खाले सेवा शुल्क तिर्नुपर्ने हुन्थ्यो । अब त्यो शुल्क पनि नेपालभित्रै रहने भएको छ । यसले हालसम्म वार्षिक रुपमा विदेशमा जाने करोडौं रकम अब जोगिने पौडेल बताउँछन् ।
हालसम्म कुनै कार्डको प्रतिकारोबारमा १५ रुपैयाँ हाराहारी तिर्नुपर्छ । प्रतिकारोबारकै ठूलो हिस्सा बाहिर जाने गरेको थियो । ‘हामीले एटिएम कार्ड विथ ड्र गर्दा गत १ महिनामा मात्रै लाखौं रुपैयाँ भुक्तानी प्रणालीको तथ्यांक कारोबार गरेका हुन्छौं । यसरी लाखौ कारोबारबाट प्रतिकारोबारको स्विचिङ लागत विदेशका भिजा, मास्टर कार्ड, यूपीआई, अमेरिकन एक्सप्रेसलगायतका विभिन्न कार्डहरूले लैजाने गर्थे,’ कार्यकारी निर्देशक पौडेलले अन्नपूर्णसँग भने । यसैले विदेशी कार्डहरूसँग कुनै नयाँ इन्नोभेसन भुक्तानी प्रणालीमा ल्याउनु पर्यो भने उनीहरूको स्विकृती लिनुपथ्र्यो अब हाम्रै स्विचअन्तर्गत भएपछि राष्ट्र बैंक, नेपाल पेमेन्ट र एनसिएचएलको स्वीकृतिमा गर्न सक्छ ।
भुक्तानी प्रणालीमा नयाँ आयाम
राष्ट्र बैंकले लिएको नीतिले नेपाल डिजिटल भुक्तानीमा कोशेढुंगा सावित भएको एनसिएचएलका अध्यक्ष तथा केन्द्रिय बैंकका कार्यकारी निर्देशक विश्रुत थापा बताउँछन् । साथै, भुक्तानी प्रणालीमा नयाँ आयाम थपिएको छ ।
राष्ट्र बैंकको आफ्नै भुक्तानी प्रणाली विकास गर्ने रणनीतिअनुसार एनसिएचएलले नेपाल पे कार्डको सुरुवात गरेको हो । विभिन्न चरणका छलफल र स्वीकृतिपछि राष्ट्र बैंकले एनसिएचएललाई यसको कार्यान्वयनको जिम्मेवारी दिएको थियो । जसअनुरुप हालै औपचारिक घोषणा गरिएको राष्ट्रिय भुक्तानी प्रणाली (एनपिएस)को पूर्वाधारअन्तर्गत नेनल कार्ड स्विच, सेन्ट्रलाइज्ड सेटलमेन्ट तथा डिस्प्युट व्यवस्थापन प्रणाली, एआई तथा एमएलमा आधारित फ्रन्ड तथा जोखिम व्यवस्थापन प्रणाली र डोमेस्टिक कार्ड स्किमका रूपमा नेपाल पे कार्डकार्यान्वयन हुनेछ ।
यससँगै, राष्ट्रिय भुक्तानी प्रणालीको कार्यान्वयनको प्रमुख तथा अन्तिम चरणअन्तर्गतको पूर्वाधार तयारी भएको छ । आवश्यक सटिफिकेसन र बैंक वित्तीय संस्थाका स्वीचहरूलाई इन्टिग्रेट गरेपश्चात् पूर्णरूपमा व्यावसायिक सञ्चालनमा आउने सीईओ प्रधानले जनाए । यसअघि एनपिएसअन्तर्गत, रिटेल पेमेन्ट स्विच र क्रस बोर्डर इन्टरफेस नोभेम्बर २०२१ मा सञ्चालनमा आइसकेका छन् ।उक्त कार्डको तयारी पूरा भएसँगै, बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालकहरू र भुक्तानी सेवा प्रदायकहरूले डोमेस्टिक कार्डमा इस्युइङ र अक्वयरिङका लागि साथै अन्य कार्ड स्किमको कारोबारहरू बीच अन्तरआबद्धता कायम गर्न अब आफ्नो स्विचहरू इन्टिग्रेट गर्न सक्नेछन् ।
नेपाल पे कार्ड जारी गर्न ११ बैंकसँग सम्झौता
स्विचहरू इन्टिग्रेट तथा नेपाल पे कार्ड जारी गर्न ११ बैंकसँग सम्झौता भएको छ । उक्त कार्य अगाडि बढाउन उक्त कार्यक्रममा एनसिएचलसँग सिटिजन्स बैंक इन्टरनेसनल, हिमालयन, माछापुच्छ्रे, मुक्तिनाथ विकास बैंक, एनएमबी, प्रभु, सांग्रिला विकास बैंक, सिद्धार्थ बैंक, गुडविल फाइनान्स लगायतका बैंक वित्तीय संस्थाहरूसँग प्रिन्सिपल सदस्यताको सम्झौतापत्र आदानप्रदानसमेत गरिएको छ ।
साथै, ११ वटा बैंक वित्तीय संस्थाहरूलाई मल्टिपल कार्ड स्किमहरू प्रोसेसिङ गर्न प्रदान गर्दै आएको एनसिएचएलकोे आफ्नो स्विचबाट समेत नेपाल पे कार्ड अक्वायरिङ गर्न मिल्ने गरी तयारी गरिएको छ ।
यसरी हुन्छ भुक्तानी
एनपिएस– एनसिएसले डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि सेन्ट्रल कार्ड स्विचको प्रयोग गर्नेछ । नेपाल पे कार्ड माईएमभिचिप टेक्नोलोजीको प्रयोग गरिएको छ र अन्तर्राष्ट्रिय कारोबारका लागि भने अन्तर्राष्ट्रिय कार्ड नेटवकसँग सहकार्य गरिएको छ ।
नेपाल पे कार्डलाई बैंक वित्तीय संस्थाका ग्राहकहरूले पीओएस वा एटीएममा प्रयोग गर्न सक्नेछन् क्रमिक रूपमा ई–कमर्श कारोबारमा पनि गर्न सक्नेछन् ।
अन्नपुर्ण पाेष्टबाट साभार ।
ई-कर्णाली खबर
२० चैत्र २०८१, बुधबार ०९:२३