कर्णालीमा ग्रामिण सडक पनि कालोपत्रे गरिदै
सुर्खेत – कर्णालीका ग्रामिण सडकहरु पनि अब कालोपत्रे हुने भएका छन् । कर्णालीका ७९ वटै पालिका केन्द्रमा जोड्ने ग्रामिण सडकहरु कालोपत्रे गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेश सरकार र त्यस अन्तरगतको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममार्फत कर्णालीका ग्रामिण सडकहरु कालोपत्रे गर्न थालिएको हो ।
दैलेखको डुंगेश्वर गाउँपालिका मुकामसम्म जोड्ने डुगेश्वर डाँडापराजुल ग्रामिण सडक गर्न सुरु गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कंडेलले उक्त सडकको सिलान्यास गर्दै प्रदेश सरकारले संघिय सरकार र स्थानिय तहसँग पनि समन्वय गरी कर्णालीका सबै पालिका मुकाममा जोड्ने सडकहरु क्रमश कालोपत्रे गरिने बताए । जसका लागि पहिलो चरण कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममार्फत कर्णालीका बिभिन्न जिल्लाका २० वटा पालिकामा जोड्ने सडकहरु कालोपत्रे गर्ने तयारी गरिएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले एक समाहरोहका बीच डुगेश्वर डाँडापराजुल ग्रामिण सडकको शिलान्यास गर्दै आबश्यकता र प्राथमिक्ताका आधारमा कर्णालीका हरेक सडकहरु कालोपत्रे गर्ने कार्यको थालनी भएको बताए । उनले भने, ‘अब कर्णालीका सबै सडकहरु कालोपत्रे गर्नका सरकारले तयारी थालिरहेको छ । विगतमा भ्यालबाट योजना बाँड्ने प्रथाको अन्त्य भएको छ । विकास र योजनामा तिथि बसालिएको छ । सरकारले गर्ने हरेक काम पारदर्शी र जनताको मागलाई मुल ढोकावाटै सम्बोधन गर्ने गरी सरकारले तयारी गरेको छ । यसबाट विगतको भन्दा विकास र समृद्धिको गति पनि बढ्ने अपेक्षा गरिएको छ ।’
कार्यक्रममा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टाले नेपालका कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा लागु भएको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममा आयोजना सिलान्यास गरी कार्य थालनी गर्ने कर्णाली पहिलो प्रदेश भएको बताए । उनका अनुसार मधेश र सुदुरपश्चिम प्रदेशमा पनि यो कार्यक्रम लागु छ । तर त्यहाँ यसरी आयोजना कार्यन्वयन हुने चरणमा पुगिसकेको छैन । हाम्रो प्रदेशले कार्यक्रम कार्यन्वयनसँगै आयोजना निर्माणको पनि थालनी गरेका छौँ । अबको दुई बर्षभित्र डुगेश्वर डाँडापराजुल सडकमा कालोपत्रे भएर चिल्लो सडकमा गाडी गुड्नेछन् । जसबाट यहाँका आम नागरिकहरुले सहज सार्वजानिक यातायात सेवा उपभोग गर्न पाउनेछन् ।
कार्यक्रममा निर्माण व्यवसायी मानव बमले आफुले सबै सरकारवाला निकाय र स्थानिय नागरिकहरुको सहयोग पाए दुई बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको यो सडक एक बर्षभित्र कालोपत्रे गरीसक्ने बताए । उनले भने, ‘कर्णालीको विकासका बाधक भनेर निर्माण व्यवसायीलाई मात्र आरोप लगाई गलत भाश्य स्थापित गरिएको छ । यसलाई हामी निर्माण व्यवसायीले पनि व्यवहारबाट चिर्न जरुरी छ । मैले आजसम्म जतिपनि निर्माण आयोजनाहरुमो निर्माणको जिम्मा लिएको छु । ती सबै आयोजनाहरु सम्झौता भएको मितिभन्दा अगाडी नै सम्पन्न गर्ने गरेको छु । यो सडक सबैको साथ पाए २४ महिनामा निर्माण गर्नुपर्ने सडक १२ महिनामा गुणस्तरयुक्त काम सहित निर्माण सम्पन्न गरेर देखाउछु ।’
विश्व बैंकको ऋण सहायतामा संचालन हुने गरी संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी पूर्वाधार विकास कार्यालयले रेखदेखको जिम्मेवारी लिने गरी उक्त सडक कालोपत्रे हुन लागेको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम कार्यन्वयन ईकाई सुर्खेतका प्रमूख यगेन्द्र धरालाले डुगेश्वर डाँडापराजुल करिब ८ किलोमिटर सडक कालोपत्रेका लागि २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँमा लागतमा निर्माण हुन लागेको बताए । उनका अनुसार उक्त सडक निर्माणको जिम्मा अमर–खड्काकृष्ण–वासना जेभीले २४ करोड बढीमा ठेक्का सम्झौता गरेको छ ।
कार्यक्रमले मुख्य गरी प्रादेशिक सडकहरूलाई स्तरोउन्नति तथा आवधिक र नियमित मर्मतसम्भार गर्ने, गाउँपालिका तथा नगरपालिका केन्द्रलाई बाह्रै महिना सडक सञ्चालनमा जोड्नेछ । कार्यक्रममा कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले डुगेश्वर डाँडापराजुल सडक कालोपत्रे हुन थालेकोमा डुंगेश्वर गाँउपालिकावासीहरु खुसी भएको बताए । उनले यो सडक कालोपत्रे गर्ने काम समयमै सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए । यस्तै कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विकले संघियतापछि गाउँगाउँमा विकासका लहरहरु आएको बताईन् । उनले अब प्रदेश सरकारका यस्तै लोकप्रिय कामले नै संघियता प्रति नागरिकहरुको आकर्षण बढाउन सकिने बताईन् । अब कर्णाली प्रदेशभरीका सडकहरुको स्तोरोन्नतीको कार्य सरकारको प्राथमिक्तामा रहेको उनको भनाई छ ।
ई-कर्णाली खबर
२५ बैशाख २०८२, बिहीबार १७:३६