फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन, यो सरकार पुरा अवधि टिक्छ : गृहमन्त्री

विराटनगर – गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखिय सुधार आएको बताएका हुन् ।
गृहमन्त्री लेखकले भने ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नु हुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ दोस्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन् । यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन । अर्को कुरा कानुन दश महिना पहिलो कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ । ’
उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए । उनले यो सरकारको पहिलो उद्देश्य भनेको राजनीतिक स्थिरता पनि हो ,’उनले भने,’यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो । त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्याउँछ । ‘
उनले संविधान र व्यवास्था विरोध गतिविधि कुनै पनि हिसावमा स्वीकार्य नहुने बताए। ‘ जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही जान भने त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ ,’उनले भने।
नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विद्येयक मिलेमतोमा अट्किएको छ नि ? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री रमेश लेखले भने,‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विद्येयकलाई छलफलबाट टुंगोमा पुर्याउँछौं । भ्रष्टचारलाई निर्मूल पार्ने विषयमा हामी अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ । ‘
मन्त्री लेखकले यो सरकार पूरा अवधि टिक्ने दावी गरे। ‘फोटो खिचेको भरमा,टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पुरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ । ‘
यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएको उनको भनाइ छ।









ई-कर्णाली खबर
३० बैशाख २०८२, मंगलवार १२:४३