Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

बर्दियामा आतंक मच्चाउने चितुवा नियन्त्रण


बर्दिया – बर्दियाको गुलरिया नगरपालिका -५ स्थित बालापुर क्षेत्रमा आतंक फैलाउने चितुवा पासोमा परेको छ । एक साताअघि सोही क्षेत्रमा ७ वर्षीया बालिका सायरा चौधरीको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ ।
घटना भएको दिनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज,राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र डिभिजन वन कार्यालय बर्दियाको टोली अहोरात्र चितुवा नियन्त्रणमा लिन खटिएका थिए । एक सातादेखि हिंस्रक चितुवा भेटाउन नसक्दा स्थानियमा त्रास फैलिएको थियो । मंगलबार राति चितुवा पासोमा परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
जेठ १५ गतेदेखि चितुवालाई डार्ट गरी नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र एनटीएनसीले एक/एक गरी दुईवटा हात्ती परिचालन गर्दै चितुवाको खोजी भइरहेको थियो । चितुवा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइने भएकाले डिभिजन वन कार्यालय बर्दिया परिसरमा राखिएको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत अजित तुम्बाहाङ्फेले जानकारी दिए । बालिकालाई आक्रमण गरेको क्षेत्र वरपर राखिएको केजमा चितुवा परेकाले सोही चितुवा हुनसक्ने अनुमान उनको छ ।