Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

डम्पिङ साइटको अव्यवस्था विरुद्ध बतासे डाँडाका बासिन्दा आन्दोलित


सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१ स्थित बतासे डाँडामा फोहोर व्यवस्थापनको माग गर्दै स्थानीय बासिन्दाहरू तीन दिनदेखि सडकमा उत्रिएका छन्। नगरपालिका भरिका सबै १२ वटै वडाको फोहोर यही डाँडामा अनियन्त्रित रूपमा थुपारिँदै आएको छ, जसले वातावरण प्रदूषणसँगै स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
बतासे डाँडामा दैनिक करिब १२ टन फोहोर फालिन्छ, तर नगरपालिकाले व्यवस्थापनका लागि जम्मा दुई जना कर्मचारी खटाएको छ। स्थानीयका अनुसार फोहोर जलाएर मात्र नष्ट गरिँदै आएको छ, जसले धुवाँ र दुर्गन्ध फैलाएर मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको छ। स्थानीय टेकबहादुर विक भन्छन्, फोहोरमा सिधै आगो लगाउँछन्, धुवाँले सास फेर्नै सकिन्न । बस्तीभरि दुर्गन्धले भरिएको छ।” धारापानी, बाङ्गेसिमल र सिमलचौर जस्ता बस्तीहरूमा प्रदूषणको असर झन् बढ्दो छ।

स्थानीयले सडकमा ढुंगा, काठ राखेर डम्पिङ साइटतर्फ जाने गाडीहरू अवरुद्ध गरेका छन्। बतासे डाँडा फोहोर व्यवस्थापन संघर्ष समितिका संयोजक बलभद्र पुरी भन्छन्, हामीले पटकपटक नगरको ध्यानाकर्षण गरायौं, तर बेवास्ता भयो। अब दीर्घकालीन समाधान नभएसम्म फोहोर फाल्न दिँदैनौं। बतासे डाँडा श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा पर्छ, छेउमै बराहताल गाउँपालिका–१० पनि प्रभावित छ। दुबै क्षेत्र डम्पिङ साइटको प्रत्यक्ष असरमा छन्।

वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले भने स्थानीयले कुनै औपचारिक जानकारी वा ज्ञापनपत्र नदिएको बताइन्। हामीकहाँ औपचारिक रूपमा जानकारी आएको छैन, किन फोहोर रोकियो भन्ने बुझ्ने प्रयास गरिरहेका छौं, उनको भनाइ छ। स्थानीयवासीहरू तत्काल समस्या समाधान नभए आन्दोलनलाई अझ व्यापक बनाउने चेतावनी दिएका छन्। उनीहरूको माग छ, डम्पिङ साइट व्यवस्थापन गरियोस्, दीर्घकालीन समाधान खोजियोस्, अनि मात्र फोहोर फाल्न दिइनेछ।