एक सातामा देशभर मनसुन फैलिदैँ
काठमाण्डौ – यस वर्ष मनसुन सामान्य समयभन्दा केही अगाडि नै नेपाल प्रवेश गरेको छ। मौसम विज्ञान विभागका अनुसार, जेठ १५ गते का दिन बङ्गालको खाडीबाट विकसित भई मनसुन कोशी प्रदेश हुँदै देशमा प्रवेश गरेको हो।
हाल मनसुन कोशी प्रदेशमा सक्रिय भए पनि देशका अन्य भागमा अझै पूर्णरूपमा फैलन सकेको छैन। विशेषगरी, पश्चिमी भूभागमा मनसुन निष्क्रिय देखिएको छ। मौसमविद्हरूका अनुसार, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पूर्वी हावा पश्चिमतर्फ सर्न नसकेकोले मनसुन पूर्वमै सीमित रहन पुगेको हो।
यद्यपि, अब केही दिनमै मनसुन क्रमशः सक्रिय हुने देखिएको छ। विभागले आउँदो बुधवार वा बिहीवारदेखि मनसुन विस्तार हुँदै देशभर फैलिने अनुमान गरेको छ। अहिलेको अवस्थालाई हेर्दा आगामी ७ देखि १० दिनभित्र देशभर मनसुन सक्रिय हुने सम्भावना उच्च रहेको छ।
नेपालमा मनसुन सामान्यतया कोशी प्रदेश हुँदै प्रवेश गर्ने गर्दछ, जुन प्राकृतिक प्रक्रिया हो। कहिले समयमै मनसुन सक्रिय हुन्छ भने कहिले केही ढिलो पनि हुन सक्छ, जुन सामान्य मानिन्छ।
यो वर्ष पनि मनसुनले पूर्वमा वर्षा शुरू गरे पनि पश्चिमी क्षेत्रहरूमा खासै प्रभाव परेको छैन। तर, पश्चिम पूर्णरूपमा सुक्खा भने छैन, त्यहाँ केही स्थानमा हल्का वर्षा भएको छ। अघिल्ला वर्षहरूमा पनि मनसुन नेपाल प्रवेश गरेपछि झन्डै तीन हप्ता सक्रिय हुन नसकेको उदाहरणहरू छन्।
मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गर्दै आएको छ। साथै, तापक्रम पनि सामान्यभन्दा उच्च रहने प्रक्षेपण गरिएको छ। भारी वर्षाका कारण कृषि, यातायात, पर्यटन लगायतका क्षेत्र प्रभावित हुने सम्भावना रहेकाले नागरिकहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ।
बाढी, पहिरो र डुबानजस्ता जोखिमपूर्ण घटनाबाट जोगिन मौसमसम्बन्धी जानकारी नियमित रूपमा हेर्ने बानी बसाल्न विज्ञहरूको सुझाव छ। मौसमले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले प्रत्येक नागरिकले पूर्वतयारीसहित जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ।
ई-कर्णाली खबर
२७ जेष्ठ २०८२, मंगलवार ०६:३९