Loading... आजः १२ बैशाख २०८१, बुधबार

११ दिनपछि ओली र प्रचण्डको भेट : के कुरा भयो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ११ दिनपछि भेटवार्ता भएको छ।

ओली र प्रचण्डबीचको भेटमा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतको दाबी छ। ओली र प्रचण्डको भेटमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका, भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेट, कर्णालीमा देखिएको पार्टी विवादलगायत विषयमा छलफल भएको छ।

बालुवाटारमा भएको भेटवार्तामा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई सचिवालय बैठक बोलाएर यी सबै विषयमा छलफल गर्नुपर्ने माग गरेका छन्। स्रोतका अनुसार सचिवालय बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएका छन्। आजको छलफलले सचिवालय बैठकको मिति भने तय गरेको छैन।

यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच कात्तिक ४ गते भेटवार्ता भएको थियो। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र मुख्यमन्त्री शाहीले चालेका कदमको विषयमा छलफल भएपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थिएन। उक्त भेटमा भएको सहमतिका विषयमा दुवै अध्यक्षका सचिवालयले चुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेका थिए।