Loading... आजः २० मंसिर २०८२, शनिबार

कालिकोटमा आगलागी हुँदा ३० लाखको क्षति


कालिकोट – कालिकोटको शुभ कालिका–६ हाउडीस्थित एक घरमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
बिहीबार राति १२ बजे विद्युत् लाइन सर्ट भएर कपडामा लागेको आगो काठ हुँदै घरमा सल्किँदा चार परिवार बस्ने ९ कोठे घर जलेर नष्ट भएको हो ।

स्थानीय रमेश शाही, खडकबहादुर शाही, वीरेन्द्र शाही र नरेन्द्र शाहीको घर जलेर क्षतिग्रस्त भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भएको छैन । घरभित्र काठ र छानामा पत्थरले छाएको हुँदा आगो फैलिएको र त्यस बेला घरमा रहेका खडकबहादुर शाही, उनकी भाउजू लाटी शाही, छोरा रमेश शाही तथा नरेन्द्र शाहीका परिवार निस्किन सफल भएको डीएसपी रावतले बताए ।

चार परिवारका १५ जना बस्ने साझा घर भए पनि अरू सदस्य पशु चौपाया लिएर लेकको गोठमा गएका थिए ।

पीडितहरूले प्रहरीलाई करिब ३० लाख रुपैयाँ क्षतिको विवरण दिएका छन् । डीएसपी रावतका अनुसार नगद ६ लाख ५० हजार, ९ तोला सुन ९१४ लाख०, १५ तोला चाँदी (५० हजार), धान, चामल, गहुँ, जौ, मास र सिमी (२ लाख), लत्ता कपडा (३ लाख), भाँडा–भाँडी (३ लाख) र काठ (१ लाख) जलेर नष्ट भएको छ ।

प्रहरी टोली राति नै घटनास्थल पुगे पनि शुक्रबार बिहान मात्र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको सूचना अधिकारी भीरबहादुर सुनारले जानकारी दिए ।

घरमा आगलागी भएपछि चार परिवारका १५ जना बिचल्ली भएको शुभ कालिका–६ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । उनले पीडित परिवारलाई आफ्नो घरमा बसालिएको जानकारी दिए ।