Loading... आजः २३ कार्तिक २०८२, आईतवार

डा.नवराज केसीको नयाँ पुस्तक ‘स्वस्पर्श’ बिमोचन


सुर्खेत – नेपाली साहित्यमा आत्मस्पर्शी अभिव्यक्तिहरू दिन सक्ने थोरै लेखकहरूमध्ये एक हुन् लेखक डा. नवराज केसी । चिकित्सा पेशासँगै लेखकिय यात्रा अगाँलिरहेका लेखक केसीको यसअघि नै आएको शुन्यको मुल्य पुस्तकले बजार तताइईसकेको छ । उनी एक डाक्टर मात्र नभई भावनाको गहिराइ समेट्ने उनको क्षमताले उनलाई स्रष्टा र संवेदनाका चिकित्सक पनि बनाएको छ । यही विशेषता बोकेको उनको नयाँ कृति ‘स्वस्पर्श’ एक भव्य समारोहबीच सार्वजनिक गरियो । पुस्तकको नामले नै एउटा गहिरो अनुभूति दिन्छ ः स्पर्श । जुन छालामा मात्र सीमित छैन, त्यो चेतनाको तहसम्म पुग्ने आत्मीयता हो । डा. केसीले यस कृतिमा जीवन, पीडा, सम्बन्ध र आत्मचिन्तनका तहहरू पगाल्दै एक यस्तो कथा बुनेका छन्, जुन हाम्रा आफ्ना अनुभव जस्तै लाग्छन् ।
लेखक डा. केसीका अनुसार यो कृति प्रत्येक व्यक्तिको आत्मअन्वेषण र आत्मसाक्षात्कारतर्फको यात्रालाई समर्पित छ । संघर्षबीच जीवनलाई कसरी सबल र प्रेरणादायी बनाउन सकिन्छ भन्ने यथार्थपरक कथा, जीवनअनुभव र बुद्ध–विज्ञानसँग सम्बन्धित विचारहरू पुस्तकमा समावेश गरिएका छन् । विमोचन कार्यक्रममा साहित्यकार सुविन भट्टराईले ‘स्वस्पर्श’ स्कूले उमेरदेखि वृद्ध अवस्थासम्मका सबै पाठकको मन छुने कृति भएको टिप्पणी गरे ।
‘स्वस्पर्श’ शाब्दिक रूपमा हेर्दा साधारण लागे पनि यसको गहिराइ त्यतिमै गहिरो छ । पुस्तकले बाहिरी जीवनभन्दा पनि भित्री मनोभूमिमा डुबुल्की मारेको छ । लेखकले प्रस्तुत गरेका कथाहरू चिकित्सकीय परिवेशबाट सुरु हुन्छन । जहाँ जीवन र मृत्युको साक्षात्कार दैनिक हुन्छ । तर यिनै सन्दर्भमा मानिसको मन, समाजको व्यवहार, र सम्बन्धको स्पर्शहीनता उजागर हुन्छ । यसमा साहित्यिक भाषाशैली, भावनात्मक गहिराइ र वैज्ञानिक दृष्टिकोणको संयोजन गरिएको छ । पुस्तकको हरेक पृष्ठमा पाठकले कुनै न कुनै रूपमा आफूलाई पाउँछ । कहिले त्यो बिरामी जस्तो लाग्छ जसले भौतिक औषधि हैन, आत्मीयताको मलम खोजिरहेको हुन्छ । कहिले त्यो चिकित्सक जसले अरूको पीडा बुझ्न सक्छ तर आफ्नै मनको घाउ लुकाउन ब्यस्त हुन्छ । यिनै द्वन्द्व र सम्वादको गहिराइमा ‘स्वस्पर्श’ को यात्रा अघि बढ्छ ।
आजको डिजिटल युगमा सम्बन्धहरू नजिक देखिए पनि मनहरू टाढा छन । सामाजिक सञ्जालले संवाद त बढायो, तर संवेदना हरायो । यस्तो समयमा ‘स्वस्पर्श’ पाठकलाई फेरि आत्माको कुना कुनासम्म डुलाउने प्रयास हो । यसले सम्बन्धको अर्थ सोध्छ, एक्लोपनको प्रकृति बुझाउँछ, र जीवनको मूल्य चिनाउँछ । पुस्तकका प्रसङ्गहरू केवल कथा जस्ता लाग्दैनन्, ती आफैंमा प्रतिबिम्ब जस्ता लाग्छन् । जहाँ पाठकले आफूलाई देख्छ, आफ्ना विस्मृत घाउहरू सम्झन्छ । पुस्तक विमोचनपछि सामाजिक सञ्जालमा पाठकको तर्फबाट आएका प्रतिक्रियाले देखाउँछ की ‘स्वस्पर्श’ ले मन छोएको छ ।
पुस्तकको भाषा सरल, तर भावनाले भरिपूर्ण छ । कतिपय ठाउँमा शैली कवितामय हुन्छ । कतै विज्ञानसम्मत व्याख्या हुन्छ । यस्तो संयोजनले पाठकलाई केवल मनोरञ्जन मात्र हैन, आत्ममूल्यांकनको अवसर पनि दिन्छ । खासगरी अहिलेको समयमा, जहाँ मानिस आफैंबाट टाढिँदै गएको छ, यस्ता पुस्तकहरूले फेरि आफूतर्फ फर्कन सघाउँछ । ‘स्वस्पर्श’ एउटा कृति मात्र होइन, एक आन्दोलन जस्तै हो । चुपचाप चलिरहेको, आत्माभित्र गुञ्जिरहेको । डा. केसीले पुस्तकको अन्तिम पृष्ठमा लेखेका छन्, स्पर्श शब्दले शरीर छोए पनि, स्वस्पर्शले आत्मा छुँन्छ । वास्तवमा, यही आत्मा छुने प्रयास नै पुस्तकको मूल आत्मा हो ।