Loading... आजः ३० पुष २०८२, बुधबार

कर्णालीले बजेट खर्च क्षमता बढाउनुपर्छ – मुख्यमन्त्री कडेल


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्न क्षमता बढाउनै पर्ने बताएका छन् । उनले कर्णालीले पाउने बजेट समयमै र प्रभावकारी ढङ्गले खर्च गर्न नसक्नु प्रदेश विकासको मुख्य अवरोध बनेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
मंगलबार प्रदेश योजना आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले व्यक्तिगत इच्छाशक्ति मात्र भएर विकास सम्भव नहुने स्पष्ट पारे । यहाँ सहयात्रा गर्ने सबैको इच्छा, सहयोग र सामूहिक प्रयास आवश्यक छ, उनले भने, तर कानुनी अड्चन, कर्मचारीको असहयोग र सरोकारवालाहरुको समन्वय अभावमा हामीले पुजिगत खर्चमा बृद्धि गर्न नसकिरहेको अवस्था हो । अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था कमजोर हुनुमा पुरानै मानसिकता र ढिलासुस्तीपूर्ण कार्यशैली प्रमुख कारण भएको उनको दाबी छ ।
पुरानै संरचना र प्रशासनिक मानसिकताले विकासको गति रोकिएको बताउँदै उनले संघियता लागू भए पनि जनशक्ति व्यवस्थापन र अधिकार प्रदान गर्ने प्रणाली केन्द्रीकृत नै रहेको टिप्पणी गरे । हामीसँग आवश्यक तहको जनशक्ति छैन, आएका जनशक्तिलाई पनि पूर्ण अधिकार दिइएको छैन, मुख्यमन्त्री कँडेलले भने । कर्मचारीतन्त्रको कार्यशैलीप्रति तीखा शब्दमा असन्तुष्टि जनाउँदै उनले जनसेवाको भावना भन्दा समय काट्ने, जोखिम नमोल्ने र निर्णय पन्छाउने प्रवृत्ति हाबी भएको बताए । यहाँ ६ महिना वा दुई वर्ष बसेर आफ्नो कार्यक्षमता देखाएर सेवा गर्नुपर्ने मानसिकता देखिन्न, बरु आफनो कार्यकाल कसरी हुन्छ समय गुजारेर भाग्ने समस्या छ ।
कानुनी जटिलता विकासका काममा अर्को ठूलो अवरोध रहेको उनले बताए । संविधान बनेको धेरै वर्ष बितिसक्दा पनि नयाँ कानुन नबनिएको र पुराना ऐनकै भरमा चल्नुपर्ने बाध्यताले नयाँ संरचना अनुसार काम गर्न कठिनाइ भएको उनको भनाइ थियो । प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य हुँदैन भन्दै कँडेलले खर्च क्षमता बढाउनेतर्फ प्रदेशले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए । तमाम चुनौतीका बीच पनि प्रदेश सरकार नतिजामुखी बन्न कटिबद्ध रहेको उल्लेख गर्दै विकासलाई गति दिन सबै पक्षको सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, डा.अर्जुन एयडी लगायतका व्यक्तहरुले कर्णालीको विकासका लागि भईरहेका प्रयासहरु र गर्नुपर्ने कार्यहरुका बिषयमा कार्यपत्र नै प्रस्तुत गरेका थिए ।