Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार

सडक संजालले जोडिदै पलाँता

कालिकोट । जिल्लाको अति दुर्गम क्षेत्रका रुपमा चिनिने पलाँता गाँउपालिका सडक संजालले जोडिन थालेको छ । स्थानिय तहको निर्बाचन भएपछि गाँउपालिकाले सडकलाई पहिलो प्राथमिक्ता दिएपछि पलाँता सडक संजालले जोडीन थालेको हो ।
पलाँता गाउँपालिका वडा न ९ को बेल्केढुङ्गा हुदै पातिहाल्लासंम्मको सडकखण्डमा गाडी गुडाईएको छ । झण्डै ७ किलोमिटर सडकको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले उद्घाटन गरे । जुम्लाको हिमा गाउँपालिकासंग जोडिएको उक्त सडकखण्डमा यातायात संचालन भएपछि पलाँता गाउँपालिकाका वडा न ७, ८ र ९ का स्थानिय नागरिकहरुले यातायात सेवा पाउने भएका छन् । शनिबार पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम सहितको टोली वीलकम पलाँता यातायातद्धारा संचालित जीव पातिहाल्ना पुगेपछि स्थानियले गाँउमा गाडी पुगेको भन्दै खुसीयाली मनाएका छन् ।
२०७६ साल फाल्गुण १ गते पलाँता गाउँपालिकाले ४ वटा जीव खरिद गरी पलाँतामा पहिलो पटक यातायात संचालन गरेको थियो । ती मध्य २ वटा जीव कर्णाली राजमार्गमा संञ्चालनमा छन् भने २ वटा जीव मोहोर, पुलाहाँ, छलाँहा सडकखण्डमा संचालन गरिएको छ । पलाँता गाँउपालिका अध्यक्ष बमले आफ्नो कार्यकालमा पलाँताका सबै वडामा गाडी गुडाउने बताए । उनले सधै रोक भोक र विकटताले चिनिएको पलाँताको मुहार फेर्न आफुहरु लागिपरेको बताए । उनले सडक, बिद्युत, खानेपानी, स्वास्थ्य, शिक्षालाई पालिकाले पहिलो प्राथमिक्ता दिएको बताउदै अब दुर्गम पलाँताको पहिचान बदलिने दाबी गरे ।