Loading... आजः १ माघ २०८२, बिहीबार

कर्णाली नदी टीकापुर पस्ने खतरा

टीकापुर ।  कर्णाली नदी टीकापुरमा पस्ने खतरा बढेको छ । टीकापुर नगरपालिका वडा नं. २ मूलपानीमा निर्माण भएको तटबन्ध कर्णाली नदीले तीब्र कटान गर्न थालेपछि कर्णाली नदी टीकापुर पस्ने खतरा बढेको हो।

जनशक्ति सामुदायिक वन क्षेत्रमा निर्माण भएको तटबन्ध नदीले कटान गरिरहेको छ । कटानका कारण राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले निर्माण गरेको तटबन्ध भत्किएर कर्णाली फुट्ने अवस्था छ ।

स्थानीय बासिन्दाका अनुसार नदीले पछिल्लो तीन दिनयता मात्रै तटबन्धको २० फिट बढी चौडाई कटान गरेको छ । कर्णाली नदीमा पानीको सतह घटेसँगै कटान तीब्र भएर तटबन्ध भत्किएको हो । केही दिनअघिबाट नदीले कटान शुरु गरेको थियो।

नदीले तीन दिनयता मात्रै झण्डै ५० फिट लम्बाई र २० फिट भन्दा बढी चौडाईको तटबन्ध कटान गरिसकेको जनशक्ति सामुदायिक वनका सदस्य उदयकुमार सुनारले बताए । आयोजनाले दुई वर्षअघि सो क्षेत्रमा तटबन्ध निर्माण गरेको थियो । सो क्षेत्रमा नदीले कटान गर्दै गए टीकापुर नगरपालिका वडा नं. ५, टीकापुर पार्क लगायतका अधिकांश भागमा कर्णाली नदी पस्ने खतरा छ ।

नदीमा पानीको सतह घट्दै जाँदा तटबन्ध कटान भइरहेको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताए । ‘नदीमा पानीको सतह घटिरहेको छ, पानी घट्दा कटान तीब्र भइरहेको छ’ रावलले भने ‘यही रफ्तारमा नदी कटान भए कर्णाली नदी टीकापुर पार्क क्षेत्रमा पस्ने खतरा देखिन्छ ।’

नगरप्रमुख रावलका अनुसार नदीको बीचमा थुप्रै टापुहरु रहेका छन् । वर्षेनी ती टापुहरुमा बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर निर्माण गरेको तटबन्ध समेत भत्काउँदै आएको छ । गत वर्ष वडा नं. ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध नदीले कटान गरेको थियो।

कटान तीब्र भएपछि इलाका प्रशासन कार्यालय टीकापुर, टीकापुर नगरपालिका, रानी, जमरा, कुलरिया सिचाईं आयोजना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले कटानको निरीक्षण गरेको छ । नदीले दिनप्रतिदिन कटान तीब्र पार्न थालेपछि कटान नियन्त्रणका लागि अस्थायी ड्याम बनाउने गरी पहल सुरु गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख शंकर विष्टले बताए ।
‘नदीले कटान गरिरहेको छ, बस्तीमा नदी पस्ने खतरा छ, यसलाई नियन्त्रण गर्न हामी सबै मिलेर अस्थायी ड्याम निर्माण गर्ने तयारीमा छौं’ विष्टले भने ‘नदीको बहाव तटबन्ध क्षेत्रमा फर्किएपछि कटान तीब्र भएको हो ।’
राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिचाईं आयोजना शुरु भएसँगै कर्णाली नदीले कटान गर्दै आएको कमाण्ड क्षेत्रभित्रका जमिन सुरक्षाका लागि तटबन्ध गर्दै आएको छ।