Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

कोरोना सामना गर्न देउवाको चार बुँदे अपील : स्वास्थ्यकर्मी निरुत्साहित गर्ने घटनाप्रति दुःखी

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको सामना संयम, एकता र दृढताका साथ गर्न अपील गरेका छन्। आइतबार दिउँसो विज्ञप्ति सार्वजनिक गर्दै देउवाले सरकार, स्वास्थ्यकर्मी र समस्त नेपाली दिदीबहिनी दाजुभाइसँग यस्तो अपील गरेका हुन्।

देउवाले कोरोनाविरुद्ध ‘फ्रन्ट लाइन’मा काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न, समयको सदुपयोग गरेर काम गर्न, विदेशमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। सभापति देउवाले पार्टीका स्थानीय तह तथा स्थानीय तहको नेतृत्वलाई जनताको जीवनरक्षाका लागि समर्पित हुनसमेत अपील गरेका छन्।

‘फ्रन्ट लाइन’ मा काम गर्ने स्वास्थ्यकर्मीको सम्मान 

प्रतिकुल वातावरण र सामग्री अभावका बीच ‘फ्रन्ट लाइन’ मा काम गर्ने स्वास्थ्यकर्मीप्रति देउवाले सम्मान व्यक्त गरेका छन्। ‘म हृदय देखिनै उहाँहरुको प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रह गर्दछु’, देउवाले भनेका छन्।

देउवाले कतिपय ठाउँमा स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने घटना भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्।

‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ’, देउवाले भनेका छन्, ‘स्वास्थ्यकर्मी र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारलाई सजग गराउन चाहन्छु।’

उनले आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीको नेतृत्वमा लडिरहेको उल्लेख गर्दै  मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आग्रह गरेका छन्।

निषेधाज्ञाको समय सदुपयोग गर्न सरकारलाई अपील 

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्न सरकारसँग अपील गरेका छन्।

‘पीसीआर परीक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पुर्‍याउन माग गर्दछु’, देउवाले भनेका छन्, ‘कोभिड अस्पताल निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु।’

उनले खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्नसमेत सरकारलाई आग्रह गरेका छन्। देउवाले क्वारेन्टाइन व्यवस्थित नहुँदा कोरोनाको विस्तारमा योगदान पुगेको घटना स्मरण गर्दै मापदण्डयुक्त क्वारेन्टाइनको व्यवस्थापनमा अविलम्ब ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

विदेशमा रहेका नेपालीको निःशुल्क उद्धार गर्न माग 

देउवाले विदेशमा रहेका नेपालीलाई कोरोना संकटको समयमा निःशुल्क उद्धार गर्न माग गरेका छन्।

‘नेपाली जनसम्पर्क समिति तथा देश बाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीको हितमा ऐक्यवद्ध ढंगले कार्य गर्न आग्रह गर्दछु’, देउवाको अपीलमा भनिएको छ। उनले विदेशमा रोजगार गुमाएर बेखर्ची समेत भएका युवालाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न सरकारसँग माग गरेका हुन्।

‘विदेशमा अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्वार गर्न नेपाली कांग्रेसले शुरुआतदेखि नै सरकारलाई आग्रह र माग गर्दै आएको छ। नीति र व्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडा माथि पीडा थपिएको छ’, देउवाले भनेका छन्, ‘विदेशमा रोजगार गुमाएर बेखर्ची समेत भएका युवाहरूलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न म सरकारसंग माग गर्दछु।’

जीवन रक्षाका लागि सक्रिय रहन कार्यकर्तालाई आग्रह
कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु सबै राजनीतिक दल एवं संघसंस्थाको साझा कर्तव्य भएको उनको भनाइ छ।

‘आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावना साथ थप क्रियाशील रहन म नेपाली कांग्रेसका साथीसँगै सबै दल, संघसंस्थामा आवद्ध मित्रहरूलाई आग्रह गर्द्छु’, देउवाले भनेका छन्।