Loading... आजः ६ बैशाख २०८१, बिहीबार

जारी सीपीएलमा आज सन्दीपको सातौँ खेल

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आज सातौं खेल खेल्दैछन्। सन्दीप सहभागी टिम जमैका तलावाजले आफ्नो सातौँ खेलमा मंगलबार किरोन पोलार्ड कप्तान रहेको ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा अपराजित रहेको ट्रिनबागो नाइटविरुद्ध जमैकाको यो दोस्रो भिडन्त हो।
लिगमा शानदार प्रदर्शन गर्दै अपराजित ट्रिनबागो ६ खेलमा १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ। अर्कातर्फ जमैका समान ६ खेलमा ३ जित र ३ हारसहित ६ अंकका साथमा चौथो स्थानमा छ। लिगकै शीर्ष स्थानमा रहेको टिमलाई पराजित गर्दै जमैकाले शीर्ष-४ मा आफनो दाबेदारी बलियो बनाउन खोजिरहेको छ। तर, अपराजित ट्रिनबागोले आत्मविश्वास कायम राख्दै पराजित यात्रालाई तोड्न खोज्ने हुनाले आजको खेल रोचक हुने अनुमान गरिएको छ।
यसअघिको खेलमा ७ विकेटले पराजित भएकाले पनि जमैका संयमित भएर मैदानमा उत्रने छ। जमैकाले अन्तिम पटक ट्रिनबागोलाई सन्‌ २०१८ मा पराजित गरेको थियो। तर त्यसपछिका लगातार ४ खेलमा ट्रिनबागोले जमैकालाई निरास पारिदिएको छ। त्यसैले यो मौका खेर नफाल्ने ध्याउनमा जमैका रहँदा सन्दीपको भूमिका महत्वपुर्ण हुनेछ। ६ खेलमा ९ विकेट ​प्रतियोगितामा सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ। उनले आफ्नो लयलाई कायम राख्दै ६ खेलमा ९ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको ७ औं नम्बरमा रहेपनि उनी अघिका ५ खेलाडीले सात खेल खेलेका छन्।
सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा भने उनकै टिमका सहकर्मी तथा अफगानी खेलाडी मुजिव उर रहमान रहेका छन्। रहमानले समान ६ खेलबाट १३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन्। यस क्रममा सन्दीपले ४.८३ रनको औषतमा आठौँ उत्कृष्ट किफायती बलरका रुपमा आफूलाई उभ्याएका छन्। लिगको मध्यम ओभरहरुमा बलिङ गरिरहेका सन्दीपले पहिलो खेलमा सेन्ट लुसिया विरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो विरुद्ध १ विकेट, तेश्रो खेलमा गायना अमेजन वारियर्स विरुद्ध २ विकेट, चौथो खेलमा गायना विरुद्ध नै १ विकेट, पाँचौ खेलमा बार्बेडोस विरुद्ध २ विकेट तथा छैठौं खेलमा सेन्ट किट्स विरुद्ध २ विकेट लिएका थिए। त्यसैले आज पनि सन्दीप टिमको मुख्य हतियारका रुपमा रहनेछन्।