Loading... आजः २८ पुष २०८१, आईतवार

आहा ! क्या मिठो कालिकोटको स्याउ

बजार अभावमा बर्षेनी पशुबस्तु खान्छन

कालिकोट । छिनछिनमा मौसममा आउने बदली । बादलको घुम्टोभित्रमा लटरम्मै फलेका स्याउ देख्नेबित्तिकै जो कोहीको पनि मुख रसाउँछ । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १, १० फोई र चिल्खाया पुग्ने जो कोही पनि स्याउ बगैँचामा एक फन्को नमारी फर्किंदैन । चिसो चिसो मौसममा बर्षातको पानीका फोकाहरु टप्प टप्प खसिरहेको अर्गानिक स्याउ खान पाउँदा कसको मन न लोभ्याउला र ? झट्ट हेर्दा बिग्रेको, दाग लागेको देखिए पनि कालिकोटको स्याउ चाखेपछि मात्रै त्यसको असली स्वाद थाहा हुन्छ । कालिकोटको स्याउको विशेषता भनेको एक पटक खाएपछि यसको स्वादले पल्काइरहन्छ ।

विशुद्ध अर्गानिक भएकाले यसको स्वादसँग अन्‍य स्याउको तुलना नै हुन सक्दैन । बन्दाबन्दीका कारण भारतीय र चाइनिज स्याउ बजारमा नआउँदा कालिकोटको स्याउले स्थानिय बजारमा बजार पाएको छ । तर पनि जिल्लामा हुने उत्पादनका हिसावले अझै बजार अभाव छ । कोरोनाको महामारीका कारण लामो दुरीया यातायातका साधनहरु बन्द छन् । बाढी पहिरोले अत्यावश्यक सामाग्री बोक्ने यातायातका साथधनहरु पनि चल्न सकिरहेका छैनन् । बजार अभावकै कारण धेरै स्याउ खरिद गर्न आउने ग्राहकहरुले बगैचामा प्रति किलो २० रुपैयामा पाउछन् । त्यसरी दिदा पनि फलेजतिकै स्याउ बिक्रि हुदैन् । कहिले काँही पुशु पंछीने पनि स्याउ खान्छन् ।

जिल्लाको तिलागुफा नगरपालिका फोईमहादेव निवासी जिल्लाकै अगुवा किसान बेगमबहादुर शाहीले आफ्नो बगैचामा फलेको स्याउ बिक्रि गर्न सकस हुने गरेको बताए । उनले भने, ‘जुम्लामा सहज यातायात छ । प्लेनबाट पनि बाहिर जान्छ । हामीकहाँ यातायत सेवा धेरै टाढाको दुरीमा छ । थाप्लाको भारीले कति स्याउ बिक्रि गरिसक्ने हो । बगैचाबाट कर्णाली राजमार्ग पुगाउन ५ घण्टाको पैदल यात्रा गर्नु पर्छ । प्राय मानिसहरु स्याउ किन्न जुम्ला नै जान्छन् । कालिकोटको स्याउ ओझेलमा पर्छ । बर्षेनी क्वीन्टलका क्वीन्टल स्याउ कुहिएर जान्छ ।’ उनले आफुहरुले गरेको मेहनत बर्षेनी खेर गईरहेको बताए ।

अगुवा कृषक तथा नर्सरी धनी बेगमबहादुर शाहीको बगैचामा मात्र बर्षेनी ६ सय क्वीन्टल स्याउ फल्छ । झण्डै एक सय क्वीन्टल स्याउ बिक्रि नभएर खेर जान्छ । यो बर्ष त झन धेरै खेर जाने अवस्था छ । कोरोनाले मानविय चहलपहल पनि घटाएको छ । उनलाई स्याउ बिक्रि गर्ने बर्षेनी चिन्ता हुन्छ । उनको बगैचामा करीव १ हजार २ सय बिरुवाहरु फल्न थालेका छन् । यस्तै चिल्ल्खायाका अगुवा किसान टेकबहादुर शाहीले सधै जसो साउन अन्तिममा पाक्ने चिल्खायाको स्याउ बजारीकरणको समस्या रहेको बताए । स्याउ, सिमी, आलु लगायतका फलफुल तथा तरकारी खेतीहरु गर्दै जीवका चलाउदै आएका किसान शाहीले बर्षेनी ३ सय क्वीन्टल भन्दा बढी स्याउ फलेपनि बजारीकरण समस्याले अधिकांश स्याउ रुखमा कुहीने र पशुबस्तुले खाने गरेको बताए । उनका अनुसार चिलखायाको भट्टाडिमा १ हजार ८ सय ५० स्याउका विरुवाहरु रोपेका छन् । एक हजार बिरुवा फल्न थालेका छन् ।