Loading... आजः २ बैशाख २०८१, आईतवार

‘खेलकुद प्रशिक्षण सुरु गर्नुपर्छ’

काठमाडौं । युरोपमा २०१९–२० को सिजनका बाँकी खेलहरु सकिसकेका छन् । च्याम्पियन्स लिग र युरोपा लिग पनि अन्तिम आठदेखि नकआउट फर्म्याटमा खेलाएर सम्पन्न भएको छ । अब यही सेप्टेम्बर दोस्रो सातादेखि इंग्ल्याण्ड र स्पेनको लिग फुटबल सुरु हुँदैछ । स्वास्थ्य नियम पालना गर्दै विनादर्शक यो सबै सम्भव भएको हो ।

यता नेपालमा भने अहिलेसम्म सम्पूर्ण खेलकुदको प्रशिक्षण ठप्प नै छ । २०७६ चैत ११ देखि सुरु भएको लकडाउनले गर्दा मारमा परेको नेपाली खेलकुद २०७७ साउनमा लकडाउन खुलेपछि मैदान फर्कने प्रयासमा थियो । तर कोरोना महामारीको संक्रमण संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भयो र खेलकुद प्रशिक्षण पनि पूर्ण रुपमा ठप्प बन्यो ।

एकातिर कोरोना महामारीले गर्दा खेलकुद गतिविधि ठप्प छ । अर्कोतिर प्रशिक्षण र खेल नभएकाले खेलाडीहरुमा चिन्ता बढिरहेको छ । खेलाडीहरु चिन्तित हुनु पनि स्वभाविक हो । देशको लागि खेल्ने, सबै कुरा त्यागेर खेलमै लाग्नेहरु अहिले प्रशिक्षण नभएकाले मानसिक तनावमा छन् ।
तरकारी बेच्ने र अरु पसल खोल्ने टाइम दुई घण्टा राखेको छ । खेलाडीको प्रशिक्षण पनि दुई घण्टाको बनाइदिए हुन्छ- एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा

खेलाडीमा यसले झन् समस्या पार्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । शेर्पाले प्रतियोगिता नभए पनि खेलाडीको प्रशिक्षण भने सुरु गर्नेपर्ने धारणा राखे ।

भारतमा इन्डियन सुपर लिग (आईएसएल) गोवाका तीन वटा स्टेडियममा नोभेम्बरमा सुरु गर्ने तयारी भइरहेको छ । यस्तै श्रीलंकामा समेत पहिलो पटक सुपर लिग आयोजना गर्ने तयारी भइरहेको छ । नेपालमा भने अहिले सम्बन्धित निकाय सरकारले खेलकुदको बारेमा खासै चासो राखेको देखिँदैन ।

लकडाउन खुलेपछि भदौ १ देखि अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि प्रशिक्षण गर्न सकिने सरकारले निर्णय गरेको थियो । तर कोरोना महामारीको पछिल्लो अवस्थाले गर्दा तत्कालै त्यो सम्भव नहुने भएको हो ।

‘दक्षिण एसियाको सबै देशमा खेल सुरु भइसकेको छ । हाम्रोमा पनि प्रशिक्षण सुरु गर्न पाए खेलको वातावरण बन्थ्यो कि,’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘सबैमा मानसिक रुपमा असर परिसकेको छ । कम्तीमा प्रशिक्षणचाहिँ सुरु गर्नुपर्छ ।’

डब्ल्यूएचओको र फिफाको गाइडलाइन्स अनुसार प्रशिक्षण मात्रै सुरु गर्‍यो भने पछि क्लबलाई पनि सजिलो हुने उनको भनाइ छ । ‘फिफा र डब्ल्यूएचओको गाइडलाइन्स छ । कम्तीमा त्यो गाइडलाइन्स अनुसार प्रशिक्षण सुरु गर्न पायो भने खेलको वातावरण बन्दै जान्छ,’ शेर्पा भन्छन्, ‘रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढ्दै जान्छ । अनि धेरै किसिमका मनोवैज्ञानिक समस्याहरु दुर हुन्छ ।’

उनले तरकारी पसल केही घण्टाको लागि खोलेजस्तै खेलाडीको प्रशिक्षण पनि केही घण्टा खुल्ला गर्दा राम्रो हुने बताए । ‘तरकारी बेच्ने र अरु पसल खोल्ने टाइम दुई घण्टा राखेको छ । खेलाडीको प्रशिक्षण पनि दुई घण्टाको बनाइदिए हुन्छ,’ शेर्पाले भने, ‘खेलाडीहरुले ट्रेनिङ गर्छन् । हात नमिलाई सामाजिक दूरी कायम गरेर प्रशिक्षण गराउँछौँ । सबै कुरा सिकाएर प्रशिक्षण सुरु गर्दा राम्रो हुन्छ ।’

बन्द छ नेपाली खेलकुद

लकडाउन खुकुलो भएपछि विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालको फुटबल टोलीको प्रशिक्षण सुरु हुने तयारी थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई क्वारेन्टिनमा राख्नेदेखि पीसीआर परीक्षण गर्ने, एन्फाको होस्टल स्यानिटाइज गर्नेसम्मका सबै काम गरिसकेको थियो ।

तर एएफसी र फिफाले अक्टोबर नोभेम्बरमा प्रस्तावित एसिया क्षेत्रको विश्वकप छनोट खेलहरु तत्काल नहुने भन्दै २०२१ मा सारेपछि एन्फाले पनि पनि राष्ट्रिय टोलीको क्याम्प राख्नुको सट्टा खेलाडीहरुलाई रिलिज गरिदियो ।

त्यसको केही दिनपछि नै नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोना संक्रमण बढ्दै गएको भन्दै अर्को सूचना नआएसम्मका लागि खेलकुद प्रतियोगिता, खेलुकद प्रशिक्षण र समग्र खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेपछि खेलकुद गतिविधि ठप्प नै बनेको छ ।

अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका कराँते खेलाडीको प्रशिक्षण पनि साउनदेखि स्थगित भएको छ ।

अहिले समग्रमा नेपाली खेलकुद गतिविधि शून्य छ । खेलाडीहरु पूर्णरुपमा फुर्सदमा छन् । प्रशिक्षकहरु फुर्सदमा छन् । चाहेर पनि उनीहरुले प्रशिक्षण गर्न सक्ने अवस्था छैन । केही खेलाडीले घरमै सेल्फ ट्रेनिङ गरिरहेका छन् । तर त्यतिले मात्रै उनीहरुलाई फिट रहन पर्याप्त छैन । पाँच महिनाभन्दा बढी भइसकेको छ नेपाली खेलाडीहरुले राम्रोसँग ट्रेनिङ गर्न नपाएको । बीचको केही समय लकडाउन खुल्ला हुँदाबाहेक अरु समय खेलाडीहरु घरमै लक्ड भएका छन् ।

फुटबल जस्तै नेपाल क्रिकेट संघ (क्यान)ले पनि खेलाडीको पीसीआर परीक्षण गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि तयारी रहन क्रिकेट खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको थियो ।

तर आईसीसीले नेपालले २०२० मा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तालिका नरहेको बताएपछि क्यानको प्रशिक्षण योजना तत्कालका लागि टरेको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको त झन् प्रशिक्षण सुरु गर्ने तयारी नै थिएन । अब कोरोना संक्रमण नरोकिएसम्म उनीहरु प्रशिक्षण सुरु नगर्ने मनस्थितिमा छन् ।