Loading... आजः ५ जेष्ठ २०८१, शनिबार

विद्यालयमा झार उम्रियो, २२ सय निजी विद्यालय बन्द हुने !

७० हजार शिक्षक–कर्मचारीको जागिर गुम्न सक्ने

काठमाडौं । मैतीदेवीस्थित अल्बर्ट बोर्डिङले हरेक महिनाको १० गते शिक्षक/कर्मचारीलाई तलब र १५ गते भवनको भाडा बुझाउँदै आएको थियो । विद्यालय व्यवस्थापन समितिका अनुसार २०५६ सालमा स्थापना भएदेखि नै तलब र भाडामा एक दिन तल–माथि भएको थिएन ।

‘विद्यालय स्थापना भएको १५ वर्षमा पहिलोपटक निर्धारित मितिमा तलब खुवाउन सकिएन’, व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद पोखरेल भन्छन्, ‘घरधनीलाई पनि यसपटक भाडा बुझाउन सकेनौं ।’

नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउन र निषेधाज्ञाका कारण गत बैशाखदेखि तलब र भाडा व्यवस्थापन गर्न कठिन भएको उनी बताउँछन् । पूर्वनिर्धारित कार्यतालिका भन्दा १० दिनअघि सारेर ५ चैतभित्र परीक्षा सक्दा फागुन र चैत महिनाकै शुल्क पनि नउठेको पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

सुविधानगरस्थित कौटिल्य बोर्डिङले पनि चैतको शुल्क उठाउन सकेको छैन । बैशाखदेखि नै भाडा र तलब व्यवस्थापन चुनौती बनेको व्यवस्थापन समितिका अध्यक्ष रामनाथ मैनाली बताउँछन् ।

२०५० सालदेखि विद्यालय सञ्चालन गरेका मैनाली कोरोना महामारीमा कसरी टिकाउने भन्ने चिन्तामा छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा लागेको तीन दशक हुन लाग्यो, अहिलेको जस्तो कठिन अवस्था यसअघि कहिल्यै सामना गर्नुपरेको थिएन ।’

७० हजार शिक्षकको जागिर धरापमा !

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कोरोनाले गर्दा एक तिहाई विद्यालय बन्द हुने क्रममा रहेको बताउँछन् । ‘लकडाउनले गर्दा ३० देखि ३५ प्रतिशत विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगिसकेको छ’, उनी भन्छन्, ‘निषेधाज्ञा थप्दै जाने हो भने बन्द हुने विद्यालय संख्या अझै बढ्दै जान्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार निजी तथा संस्थागत विद्यालय संख्या ६ हजार ६८७ पुगेको छ । प्याब्सन अध्यक्ष पुरीको भनाइलाई आधार मान्ने हो भने २२ सय ६० हाराहारी निजी विद्यालय बन्द हुने देखिन्छ ।